मेरोरिर्पोटमा मे महिनामा घोषित विद्यालय भर्ना अभियान सम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ मे महिनामा विद्यालय भर्ना अभियान विधिसम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा १५ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा २३ वटा ब्लग पठाएर लेखनमा सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नुपर्ने भएकाले तपाईँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • सरिता चलाउने, सल्यान
  • गंगा ओली, रुकुम
  • आशिष मल्ल, डडेल्धुरा

विजयी साथीहरुलाई धेरै धेरै बधाई ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

सरिता चलाउने, सल्यान

सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका वडा नं १ निवासी सरिता चलाउने हाल शारदा नगरपालिका वडा नं २ खलंगा सल्यानमा सञ्चालित रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगार्हजमा सामाचार बाचिकाको रुपमा कार्यरत हुनुहन्छु । विगत ४ बर्षदेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहन्छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको सदस्यको समेत जिम्मेवारी सम्हाल्दै आउनु हुने पत्रकार चलाउने विगत ३ बर्षदेखि काठमाडौंबाट प्रकाशन हुने नेपाल समाचारपत्र दैनिकका लागि सल्यान जिल्लाबाट रिपोर्टिङ गर्दै आउनुभएको छ । उहाँ हाल इक्वल एक्सेसअन्र्तगत सल्यान जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ ।

गंगा ओली, रुकुम

रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं ४ निवासी गंगा ओली हाल रुकुमको मुसिकोट नगरपालिका वडा नं १ खलंगामा सञ्चालित रेडियो सानीभेरी एफ.एम. १०० थोप्लो ८ मेगार्हज र ९९ थोप्लो २ मेगार्हजमा कार्यरत हुनुहन्छ । उहाँ विगत ६ महिनादेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहन्छ । उहाँ हाल इक्वल एक्सेसअन्र्तगत रुकुम जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ ।

 

आशिष मल्ल, डडेल्धुरा

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी आशिष मल्ल विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा संलग्नु रहदै आउनुभएको छ । उहाँ आफैले सञ्चालन गरेको अनलाईन समाचार पोर्टल इन्फो समाचारको सम्पादक हुनुहुन्छ भने उहाँ रेडियो युनिटीमा विगत तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । इक्वेल एक्सेसबाट पैरवी, अनुगमन तथा निगरानीसम्बन्धी तालिमसमेत लिनु भएका पत्रकार मल्ल प्राइमटाइम टेलिभिजन, अनलाइनखबर डटकम तथा डडेल्धुरा पोष्ट दैनिकमा समेत आवद्ध रहनुभएको छ ।