मेरोरिर्पोटमा फेब्रुअरीमा घोषित कृषिमा यूवासम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ फेब्रुअरीमा कृषिमा यूवासम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा ७ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा १० वटा ब्लग पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • सरिता श्रेष्ठ, धादिङ
  • आशिष मल्ल, डडेल्धुरा
  • जगतदल जनाला बिक,सुर्खेत

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

सरिता श्रेष्ठ, धादिङ

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी सरिता श्रेष्ठ नागरिक दैनिकका लागि धादिङ जिल्ला संवाददाता हुनुहुन्छ । पाविलन्यूज डटकम धादिङकी सम्पादक श्रेष्ठ विगत आठ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । नेपाल पत्रकार महासंघ धादिङको सहसचिव तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघकी केन्द्रीय सदस्यसमेतको जिम्मेवारी सम्हाल्दै आउनु भएकी पत्रकार श्रेष्ठ २०७१ सालमा प्रेस काउन्सिल नेपालबाट समाबेशी पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुनुभएको छ । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएकी पत्रकार श्रेष्ठ इक्वल एक्सेसअन्र्तगत धादिङ जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ ।

आशिष मल्ल, डडेल्धुरा

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी आशिष मल्ल विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा संलग्नु रहदै आउनुभएको छ । उहाँ आफैले सञ्चालन गरेको अनलाईन समाचार पोर्टल इन्फोसमाचारको सम्पादक हुनुहुन्छ भने उहाँ रेडियो युनिटीमा विगत तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । इक्वेल एक्सेसबाट पैरवी, अनुगमन तथा निगरानीसम्बन्धी तालिमसमेत लिनु भएका पत्रकार मल्ल प्राइमटाइम टेलिभिजन, अनलाइनखबर डटकम तथा डडेल्धुरा पोष्ट दैनिकमा समेत आवद्ध रहनुभएको छ ।

 

जगतदल जनाला बिक, सुर्खेत

सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–६ निवासी जगतदल जनाला बिक साझा बिसौनी दैनिक सुर्खेतका लागि विगत २ वर्षदेखि संवाददाताको रुपमा र १ वर्षदेखि रेडियो डांँडादरा एफएम पञ्चपुरीमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग विगत तीन वर्षदेखि स्थानीय पत्रपत्रिका र रेडियोमा पत्रकारिता गर्नुका साथ ैसामाजिक संघसस्थामा काम गरेको अनुभव छ । उहाँले इक्वेल एक्सेस अन्तर्गत सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–२ मा रेडियो श्रोता समुहको सहजकर्ताका रुपमा डेढ वर्ष काम गरेको अनुभव हुनुका साथै सामुदायिक अनुसन्धानकर्ताका रुपमा पनि एक वर्ष काम गरेको अनुभव छ ।