मेरोरिर्पोटमा मार्चमा घोषित सामाजिक जवाफदेहिता सम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ मार्चमा सामाजिक जवाफदेहिताका विधिसम्बन्धी ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा नौ वटा जिल्लाका साथीहरुले मेरोरिर्पोटमा १२ वटा ब्लग पठाएर लेखनमा सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले तपाईँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • संगिता तामाङ, रसुवा
  • भेषबहादुर दनुवार, काभ्रे
  • शेरबहादुर भुजेल, दोलखा

विजयी साथीहरुलाई धेरै धेरै बधाई ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

संगिता तामाङ, रसुवा
नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–२ की स्थायी बासिन्दा संगिता तामाङ रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्याउबारीमा सञ्चालित रेडियो लाङटाङ एफएम ९० थोप्लो ३ मेघाहर्जमा विगत २ वर्षदेखि कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ विगत २ वर्षदेखि स्थानीयस्तरमा पत्रकारिता क्षेत्रमा पनि सक्रिय हुनुहन्छ । उहाँ पारस्परिक जवाफदेहिता परियोजनामा इक्वेल एक्सेस अन्तर्गत रसुवा जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीका रुपमा विगत दुई वर्षदेखि काम गर्दै आउनुभएको छ ।

भेषबहादुर दनुवार, काभ्रे
काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–६ निवासी भेषबहादुर दनुवार हाल पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथीको काभ्रे जिल्ला संयोजकका रुपमा कार्यरत हुनुहन्छ। उहाँसँग काभ्रेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जमा कार्यक्रम संयोजकको रुपमा काम गरेको पनि अनुभव छ। साथै उहाँले पाँचखाल नगरपालिका, स्थानीय विकास मन्त्रालयको एलजीएएफ कार्यक्रम, युके च्यारिटी युवा सशक्तिकरण कार्यक्रम तथा रुम टु रिडमा पनि विभिन्न जिम्मेवारीका साथ काम गरको पनि अनुभव छ।

 

शेरबहादुर भुजेल, दोलखा
दोलखा जिल्ला भीमेश्वर नगरपालिका–६ निवासी शेरबहादुर भुजेल हाल मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपालमा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत जिल्ला संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । भुजेलसँग विगत ७ वर्षसम्म जिल्लाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएममा समाचार संयोजकको रुपमा काम गरेको पनि अनुभव छ । अहिले पनि उहाँ रेडियो कालिञ्चोकका लागि साप्ताहिक रेडियो कार्यक्रम जनसरोकार उत्पादन गर्दै आउनुभएको छ । उहाँ नेपाल पत्रकार महासंघको जिल्ला कोषाध्यक्ष तथा गैसस महासंघ दोलखाको कार्यसमिति सदस्यका रुपमा समेत कार्यरत हुनुहुन्छ ।