मेरोरिर्पोटमा नोभेम्बरमा घोषित कृषिसम्बन्धी समाचार/लेख लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१८ नोभेम्बरमा कृषिसम्बन्धी समाचार/लेख लेखन प्रतियोगिता घोषणा गरेका थियौं । प्रतियोगितामा १३ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा २३ वटा लेख तथा समाचार पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चहान्छौं । सहभागिताका लागि सबै साथीहरुप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा समाचार/लेख सम्प्रेषण गर्नुहुनेसाथीहरु मध्येबाट हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले तपाईहरुले पोष्टगर्नू भएका लेख÷समाचारका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक लेख/समाचारलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, समाचार श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा समाचार÷लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ :

  • कल्पना बोहरा, अछाम
  • जगतदल जनाला बिक ,सुर्खेत
  • प्रविर ददेल, रुकुम

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

कल्पना बोहरा, अछाम
अछाम जिल्लाको मंगलसेन नगरपालिका–९ निवासी कल्पना बोहरा विगत २ वर्षदेखि इमेज टेलिभिजनको जिल्ला रिर्पोटरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ जिल्लाकै रेडियो जनप्रिय १०२.४ मेघाहर्जमा विगत ६ वर्षदेखि प्राविधिक रुपमा कार्यगर्दै समाचार वाचिका तथा रिर्पोटरको रुपमा पनि कार्यरत हुनुहुन्छ । उहाँ समाज रहेका विकृति, लैगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउनु हुन्छ ।

जगतदल जनाला बिक, सुर्खेत
सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–६ निवासी जगतदल जनाला बिक साँझा बिसौनी दैनिक सुर्खेतका लागि विगत २ वर्षदेखि संवाददाताको रुपमा र १ वर्षदेखि रेडियो डांँडादरा एफएम पञ्चपुरीमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग विगत तीन वर्षदेखि स्थानीय पत्रपत्रिका र रेडियोमा पत्रकारिता गर्नुका साथ ैसामाजिक संघसस्थामा काम गरेको अनुभव छ । उहाँले इक्वेल एक्सेस अन्तर्गत सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–२ मा रेडियो श्रोता समुहको सहजकर्ताका रुपमा डेढ वर्ष काम गरेको अनुभव हुनुका साथै सामुदायिक अनुसन्धानकर्ताका रुपमा पनि एक वर्ष काम गरेको अनुभव छ ।  

प्रविर ददेल, रुकुम 
रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१३ निवासी प्रविर ददेल करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । उहाँ आर्थिक अभियान दैनिकमा करिब एक दशकदेखि जिल्ला संवाददाताका रुपमा काम गर्दै आउनु भएको छ भने हिमाल खबरपत्रिकामा समेत रुकुमबाट रिर्पोटिङ गर्दै आउनु भएको छ । आर्थिक, सामाजिक, सांँस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका ददेल रुकुमबाट प्रकाशन हुने रेखदेख साप्ताहिकमा करिब ५ वर्षदेखि सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत पत्रकार ददेलसँग सामाजिक संघसस्थामा काम गरेको समेत अनुभव रहेको छ ।