मेरोरिर्पोटमा अप्रिलमा स्थानीय तहमा योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ अप्रिलमा स्थानीय तहमा योजना तथा कार्यक्रमको तर्जुमा सम्बन्धी विषयमा ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा १३ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा १५ वटा ब्लग पठाएर लेखनमा सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

 

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • रजनी योगीदैलेख
  • तीर्थमाया तामाङरामेछाप
  • भेषबहादुर दनुवारकाभ्रे

विजयी साथीहरुलाई धेरै धेरै बधाई ।

 

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

रजनी योगीदैलेख

दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं–१० निवासी रजनी योगी दैलेखमा सञ्चालित रेडियो धुर्वतारा एफ.एममा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । मातृभुमी अनलाइनमा सम्पादकको जिम्मेवारीमा समेत कार्यरत योगी विगत चार वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ दैलेखको सदस्य तथा क्रियाशील पत्रकार मञ्चको जिल्ला उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको छ । उहाँ हाल इक्वल एक्सेसअन्र्तगत दैलेख जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ ।

 

तीर्थमाया तामाङरामेछाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं-५ रामपुर निवासी तीर्थमाया तामाङ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्जमा विगत तीन वर्षदेखि समाचार वाचिक र रिपोर्टरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल आदिबासी जनजाती पत्रकार महासंघको रामेछाप जिल्ला सचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । उहाँ हाल इक्वल एक्सेस अन्र्तगत रामेछाप जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ । 

 

भेषबहादुर दनुवारकाभ्रे

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–६ निवासी भेषबहादुर दनुवार हाल पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथीको काभ्रे जिल्ला संयोजकका रुपमा कार्यरत हुनुहन्छ । उहाँसँग काभ्रेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जमा कार्यक्रम संयोजकको रुपमा काम गरेको पनि अनुभव छ । साथै उहाँले पाँचखाल नगरपालिका, स्थानीय विकास मन्त्रालयको एलजीएएफ कार्यक्रम, युके च्यारिटी युवा सशक्तिकरण कार्यक्रम तथा रुम टु रिडमा पनि विभिन्न जिम्मेवारीका साथ काम गरको पनि अनुभव छ ।