मेरोरिर्पोटमा अक्टोबरमा घोषित शिक्षासम्बन्धी समाचार/लेख लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१८ अक्टोबरमा शिक्षासम्बन्धी समाचार/लेख लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा ११ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा २१ वटा लेख तथा समाचार पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक समाचार पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएको लेख÷समाचारका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक लेख/समाचारलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, समाचार श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा समाचार÷लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ :

  • बिनोदसिंह बिष्ट, बैतडी
  • प्रविर ददेल, रुकुम
  • हिमनाथ देवकोटा, रसुवा

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

बिनोदसिंह बिष्ट, बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोट निवासी बिनोदसिंह बिष्ट राष्ट्रिय समाचार समिति (रासस)मा विगत ४ बर्षदेखि बैतडी जिल्ला समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ । साथै, उहाँ बैतडीस्थित रेडियो निंगलाशैनीमा पनि कार्यरत हुनुहुन्छ ।

वि.स.२०६६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार बिष्टसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन तथा रेडियोमा एक दशक भन्दा लामो पत्रकारिता गरेको अनुभव छ । पत्रकार बिष्ट समाजमा रहेका विकृति, लैगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउदै आउनु भएको छ ।

 

प्रविर ददेल, रुकुम 

रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१३ निवासी प्रविर ददेल करिब एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । उहाँ आर्थिक अभियान दैनिकमा करिब एक दशकदेखि जिल्ला संवाददाताका रुपमा काम गर्दै आउनु भएको छ भने हिमाल खबरपत्रिकामा समेत रुकुमबाट रिर्पोटिङ गर्दै आउनु भएको छ ।

आर्थिक, सामाजिक, सांँस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका ददेल रुकुमबाट प्रकाशन हुने रेखदेख साप्ताहिकमा करिब ५ वर्षदेखि सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत पत्रकार ददेलसँग सामाजिक संघसस्थामा काम गरेको समेत अनुभव रहेको छ ।

 

हिमनाथ देवकोटा, रसुवा

रसुवा जिल्लाको कालिका गाउँपालिका–५ निवासी हिमनाथ देवकोटा रेडियो रसुवामा करिब ५ वर्षदेखि कार्यक्रम सञ्चालक तथा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । विगत दुई वर्षदेखि उज्यालोको जिल्ला संवाददाता र विगत १८ महिनादेखि नागरिक दैनिकको जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

स्थानीय पत्रपत्रिका, टेलिभिजन र रेडियोमामा समेत पत्रकारिता गरेको अनुभव भएका पत्रकार देवकोटा करिब २ वर्षसम्म नेपाल समाचारपत्रमा, २ वर्षसम्म नुवाकोट जागरण साप्ताहिकमा, १ वर्षसम्म माउन्टेन टेलिभिजनमा र ४ महिनासम्म सप्तकुण्ड साप्ताहिकमा काम गरेको अनुभव रहेको छ ।