मेरोरिर्पोटमा अक्टोबरमा घोषित स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापन न्युनीकरणको क्षेत्रमा हुने सार्वजनिक सेवा प्रवाह सम्बन्धि ब्लग लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१९ अक्टोबरमा स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापन न्युनीकरणको क्षेत्रमा हुने सार्वजनिक सेवा प्रवाह सम्बन्धि सवालमा सुशासन पारदर्शिता र जवाफदिहताका अबस्था कस्तो छ ? भन्ने विषयमा ब्लग लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा ९ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा १५ वटा ब्लग पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहान्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक ब्लग पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएका ब्लगका आधारमा छनौट गरेका छौं ।

हामीले प्रत्येक ब्लगलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, लेखनमा श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ:

  • सरिता श्रेष्ठ, धादिङ
  • आशिष मल्ल, डडेल्धुरा
  • भगीरथ अवस्थी, बैतडी

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

आशिष मल्ल, डडेल्धुरा

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी आशिष मल्ल विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा संलग्नु रहदै आउनुभएको छ । उहाँ आफैले सञ्चालन गरेको अनलाईन समाचार पोर्टल इन्फोसमाचारको सम्पादक हुनुहुन्छ भने उहाँ रेडियो युनिटीमा विगत तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । इक्वल एक्सेसबाट पैरवी, अनुगमन तथा निगरानीसम्बन्धी तालिमसमेत लिनु भएका पत्रकार मल्ल प्राइमटाइम टेलिभिजन, अनलाइनखबर डटकम तथा डडेल्धुरा पोष्ट दैनिकमा समेत आवद्ध रहनुभएको छ ।

 

सरिता श्रेष्ठ, धादिङ

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी सरिता श्रेष्ठ नागरिक दैनिकका लागि धादिङ जिल्ला संवाददाता हुनुहुन्छ । पाविलन्यूज डटकम धादिङकी सम्पादक श्रेष्ठ विगत आठ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । नेपाल पत्रकार महासंघ धादिङको सहसचिव तथा नेपाल आदिबासी जनजाति पत्रकार महासंघकी केन्द्रीय सदस्यसमेतको जिम्मेवारी सम्हाल्दै आउनु भएकी पत्रकार श्रेष्ठ २०७१ सालमा प्रेस काउन्सिल नेपालबाट समाबेशी पत्रकारिता पुरस्कारद्वारा सम्मानित हुनुभएको छ । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएकी पत्रकार श्रेष्ठ इक्वल एक्सेसअन्र्तगत धादिङ जिल्लाको सामुदायिक संचारकर्मीका रुपमा कार्यरत हुनुहुन्छ ।

भगीरथ अवस्थी,बैतडी

बैतडी जिल्ला सुर्नया गाँउपालिका ६ निवासी भगीरथ अवस्थी विगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा संलग्न रहँदै आउनुभएको छ । रेडियो, टेलिभिजन,अनलाइन तथा छापा पत्रकारितामा सकृय उहाँ विगत पाँच वर्षदेखि रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज बैतडीको स्टेशन मेनेजर पदमा रहेर काम गरिरहनुभएको छ । इक्वल एक्सेसबाट खोज पत्रकारिता र पैरवी, अनुगमन तथा निगरानी सम्बन्धि तालिम समेत लिइसक्नु भएका पत्रकार अवस्थी बैतडी जिल्लाबाट अन्नपूर्ण पोष्ट दैनिक र एपी वान टेलिभिजनको सम्वाददाता समेत हुनुहुन्छ ।