मेरोरिर्पोटमा अगष्टमा घोषित विपद् जोखिम तथा न्यूनीकरणसम्बन्धी समाचार/लेख लेखन प्रतियोगिताको नतिजा

यहाँहरुलाई सर्वविदितै छ कि हामीले २०१८ अगष्टमा विपद् जोखिम तथा न्यूनीकरणसम्बन्धी समाचार/लेख लेखन प्रतियोगिता घोषणा गरेका थियौं । यसमा १८ जिल्लाका साथीहरुले मेरोरिर्पोटमा ५० वटा लेख तथा समाचार पठाएर लेखनमा सक्रिय सहभागिता जनाउनु भएको जानकारी गराउँन चाहन्छौं । सहभागिताका लागि सबैप्रति हामी आभार व्यक्त गर्दछौं ।

प्रतियोगितामा सबै साथीहरुले खोजमुलक समाचार पठाउनु भएको छ । प्रतियोगितामा हामीले तीन जना उत्कृष्ट लेखक छान्नु पर्ने भएकाले उहाँहरुले पठाउनु भएको लेख/समाचारका आधारमा छनौट गरेका छौ ।

हामीले प्रत्येक लेख/समाचारलाई त्यसमा प्रयोग भएको सामग्रीको स्तरीयता, विषयबस्तुको गाम्भीर्यता, लेखाइमा सन्तुलन, समाचार श्रोतको उल्लेख तथा प्रयोग, समग्र प्रस्तुती तथा समाचार/लेखसँग सम्बन्धित तस्बिरको प्रयोग, यसको गुणस्तर र सान्दर्भिकताका आधारमा तीन जना लेखकलाई छनौट गरेका छौं ।

छनौट हुने लेखकहरु निम्नानुसार रहनु भएको छ :

  • छमिका चौधरी, कैलाली
  • बिरा गडाल, बैतडी
  • प्रेमबहादुर राम्जा, दाङ

विजयी साथीहरुलाई धेरै धेरै बधाई । प्रत्येक विजयी साथीले ५०० रुपैयाँको मोबाईल फोनको रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ ।

 

विजयी साथीहरु बारे संक्षिप्त जानकारी

- छमिका चौधरी, कैलाली

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं १ धर्मापुर निवासी छमिका चौधरी, पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत ईक्वल एक्सेस नेपालमार्फत कैलाली जिल्लाका लागि सामुदायिक सञ्चारकर्मीको रुपमा विगत दुई वर्षदेखि कार्यरत हुनुहन्छ ।

यसअघि उहाँले साझेदारी विकास परियोजना अन्तरगत इक्वेल एक्सेसमार्फत कैलाली जिल्लामा गठन भएको संघर्ष टोल विकास रेडियो श्रोता समुहमा सहजकर्ताको रुपमा तीन वर्षसम्म काम गर्नु भएको थियो ।

रेडियो श्रोता समुहमा रहँदा रेडियो कार्यक्रम नियमित सुन्ने, छलफल गर्ने र श्रोता समूहमार्फत विभिन्न गतिविधिहरुमा संलग्न हुन थालेपछि आफुमा समुदाय र स्थानीय निकायको कामप्रति चासो बढनुका साथै आफ्नो नेतृत्व क्षमतामा अभिवृद्धि हुँदै गएको उहाँको अनुभव छ ।

 

- बिरा गडाल, बैतडी

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. १, हाट निवासी बिरा गडाल नेपाल रिपब्लिक मिडिया अन्तर्गत नागरिक दैनिकका लागि विगत ६ वर्षदेखि बैतडी जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँसँग एक दशक भन्दा लामो समयसम्म स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन तथा रेडियोमा पत्रकारिता गरेको अनुभव छ । उहाँ समाजमा रहेका विकृति, लैंगिक विभेद, सामाजिक, आर्थिक रुपमा विपन्न समुदायको जीवनस्तरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउनुहुन्छ ।

यसका साथै पत्रकार गडाल स्वास्थ्य, शिक्षा, गरिबी र विपन्न नागरिकको मुलधारसम्म पहुँचसम्बन्धी सवालमा पनि समाचार सम्प्रेषण गर्दै आउनु भएको छ ।

 

- प्रेमबहादुर राम्जा, दाङ

दाङ जिल्लाको बबई गाउँपालिका—७, पञ्चकुले निवासी प्रेमबहादुर राम्जा विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । पत्रकारिता रेडियोबाट शुरुवात गर्नुभएका पत्रकार राम्जा हाल बबई खबर डट कम स्थापना गरेर सञ्चालन गरिरहनु भएको छ । उहाँ नेपाली पत्र डट कमका लागि दाङबाट रिपोर्टिङ पनि गर्नुहुन्छ ।

सानै उमेरदेखि बोल्ने कलामा रुचि राख्ने राम्जाले पछिल्लो समयमा रेडियो मध्यपश्चिममा बहसमुलक कार्यक्रम ‘मध्यपश्चिम बहस’ सञ्चालन गर्दै आउनुभएको छ । अनौपचारिक समाचार लेख्न पनि रुचि राख्ने राम्जाले पछिल्लो समयमा खोजी पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ । उहाँ हाल राप्ती पोष्ट दैनिकमा पनि आवद्ध हनुहुन्छ ।

उहाँसंग रेडियो तुलसीपुर तथा रेडियो हापुरेमा स्टेसन म्यानजरको रुपमा समेत काम गरेको अनुभव हुनुका साथै गणतन्त्र दैनिकमा काम गरेको पनि अनुभव छ ।