‘कुनै पनि व्यक्तिमाथि विश्वास गर्नु अघि राम्रो सोचविचार गर्नुहोस्’
‘मायासँग मनका कुरा’ बाँके, सुनसरी र मोरङ जिल्लाका विभिन्न एफएम स्टेसनहरू प्रतिबोध एफएम, कृष्णसार एफएम, थाहा संचार रेडियो, रेडियो इन्द्रसरोवर, रेडियो सरोवर, झुरझुरे एफएम, नमस्ते एफएम र विजयपुर एफएमबाट हरेक हप्ताको शनिवार बिहान ७:३० बजे प्रसारण हुँदै आइरहेको मानव बेचबिखन विरुद्ध जनचेतना जगाउने युवा लक्षित विशेष कार्यक्रम हो । कार्यक्रमले वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको छ ।
कार्यक्रमको यो ४५ औँ भागमा हामीले दिक्षाको पुरै कथाले दिन खोजेको सन्देशको स-सानो भागलाई प्रसारण गर्दै ‘बेचबिखन र ओसारपसारको जोखिम हामी सबैलाई छ त्यसैले सधैँ सतर्क रहौँ, मानव बेचबिखन रोक्ने काम हुँदैन हतारमा–सुरक्षित रोकथाम विधि अपनाउँ बेलैमा, बेचबिखनको बजार–मात्र होइन सिमापार, हामी सबैको जिम्मेवारी–मानव बेचबिखन विरुद्धको खबरदारी, आकाङ्क्षा र रोजगारी दुवै– सुरक्षित हुनुपर्छ खुबै, आफ्नो सुरक्षा मेरो सबै भन्दा पहिलो प्राथमिकता हो, चाहे त्यो अफलाइन सञ्चारमा होस् या सामाजिक सञ्जाल प्रयोगमा’ भन्ने सबै मानव बेचबिखन विरुद्धका नारालाई फेरी दोहोर्याइएको छ ।
यो भागमा हाम्रो कार्यक्रमले लक्षित वर्गमाथि पारेको प्रभावको आवाजलाई पनि प्रसारण गरिएको छ । जनआवाजमा भने हामीले यो चोटि आफ्नो लक्ष्य, सपना या उद्देश्य र आफ्नो व्यक्तिगत सुरक्षामा तपाई कुनलाई प्राथमिकता दिनुहुन्छ ? भनेर प्रश्न राखेका थियौँ । प्रश्नको उत्तर दिँदै तिनै जिल्लाका साथीहरूले सबै भन्दा पहिले आफ्नो व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकता दिने विचार हामीसँग बाँड्नु भएको छ ।