स्थानीय तह निर्वाचनको पूर्व तयारी
साझा बोली रेडियो बहसको स्थानीय संस्करणमा उत्पादन भइरहेको कार्यक्रमको ३० औँ भागमा स्थानीय तह निर्वाचनको पूर्व तयारी विषयमा बहस गरिएको छ । बहसमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल र जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी माया कुँवर अतिथिको रूपमा रहनुभएको थियो ।
सरकारले यही वैशाख ३० लाई स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरेको छ । गुल्मी जिल्लामा १२ वटा पालिका तथा ९३ वटा वडा रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता पछि चुनावी प्रचार–प्रसारमा व्यस्त भइरहेका छन् । यस पटक गुल्मी जिल्लामा दुई लाख भन्दा बढी मतदाताहरू सहभागी हुँदै छन् ।
जसमा महिला मतदाता १ लाख १४ हजार २ सय १५ मतदाता रहेका छन्। भने पुरुष मतदाता १ लाख १० हजार ५९ जना मतदाता रहेका छन् । अन्य मतदाता २ जना रहेका छन् । यसरी यस जिल्लामा २ लाख २४ हजार २ सय ७६ जना मतदाता यस पटकको निर्वाचनमा सहभागी हुँदै छन् । यस पटक निर्वाचन कार्यालयबाट विशेष प्रकारका मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएका कारण नयाँ मतदाताहरूको मतदान बदर हुन सक्ने अधिकांशको भनाइ छ ।
जिल्लामा मतदान स्थलहरूलाई विभिन्न तरिकाले वर्गीकरण गरिएको छ । अतिसंवेशनशिल मतदान स्थलहरूलाई विशेष सुरक्षाको प्राथमिकतामा राखिएको छ । बहसको क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित वातावरण सम्पन्न गर्न पूर्व तयारीलाई चुस्त, दुरुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ । भने निर्वाचन अधिकारी माया कुँवरले जनतामा निर्वाचनलाई लिएर उत्साह भर्ने कार्यमा निर्वाचन कार्यालयसँगै सबै पक्ष लाग्नुपर्ने विषयमा जोड दिनुभएको छ ।