सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति बनाइयो
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति बनाइएको छ । निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन भौगोलिक अवस्था र त्यस क्षेत्रमा हुने शान्ति सुरक्षा स्थितिलाई हेरेर रणनीति बनाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । रेडियो नमोबुद्ध एफएम १०६.७ मेघाहर्जले उत्पादन गरेको “साझा बोली रेडियो बहस” को ३० औ भागमा प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापन लगायतका विषयमा सबै तयारी पुरा भएको बताउनुभयो । निर्वाचनका बेला शान्ति सुरक्षाका निम्ति सुरक्षा निकायका प्रमुखसँग पटक पटक बैठक बसी नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाल आर्मी, म्यादी प्रहरीसमेत भर्ना गरी तालिम दिएर सम्बन्धित कार्यक्षेत्रमा पठाइसकेको उहाँले बताउनुभयो । यस्तै निर्वाचन अधिकृत,सहायक निर्वाचन अधिकृत,मतदान अधिकृत,सहायक मतदान अधिकृत लगायत आवश्यक कर्मचारीहरूको व्यवस्थापन पनि गरिसकिएको छ ।
यसैबिच,
रसुवा जिल्लामा मतदान स्थलको वर्गीकरण गरी शान्ति सुरक्षाको व्यवस्थापन गरिएको छ । जिल्लामा अति संवेदनशील, संवेदनशील र साधारण गरी तिन तहमा मतदान स्थलको वर्गीकरण गरेर सुरक्षाको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले जानकारी दिनुभयो । चार वटा सुरक्षा निकायहरू नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना, म्यादी प्रहरी तथा आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरेर सम्बन्धित मतदान केन्द्र तथा स्थलमा खटाई सकिएको छ । ३८ हजार ५ सय ५४ जान मतादाता रहेको रसुवा जिल्लामा भूगोलको हिसाबले मतदान स्थल तथा केन्द्रहरू केही टाढा भए पनि शान्ति सुरक्षाका दृष्टिले सबै राम्रो रहेको उहाँको भनाई थियो ।
यसै गरी निर्वाचनमा मतदाताले सही ढङ्गले मत हाल्ने तरिकाको बारेमा पनि हामीले कार्यक्रममा कुराकानी गरेका थियौ । मत बदर हुन नदिन निर्वाचन आयोगले अघिल्ला निर्वाचनमा मतदाता शिक्षा घरदैलो कार्यक्रम चलाएको थियो,तर निर्वाचन आयोगले यो पटक डिजिटल प्रणालीबाट मात्रै मतदाता शिक्षा कार्यक्रम चलाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताहरूले सही तरिकाले मत सङ्केत गर्ने बारेमा रसुवाका निर्वाचन अधिकारी श्रीराम थापा सँग कुराकानी गरेका थियौ । साथै कार्यक्रममा काभ्रे र रसुवाका केही नागरिकका आवाज पनि समेटेका थियौ ।