नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी
स्थानीय निर्वाचन सकिएसँगै बजेट निर्माण प्रक्रिया सुरु भएको छ । संघ सरकारले बजेट सार्वजानिक गरेसँगै जिल्लामा केन्द्रबाट प्राप्त हुने बजेटको टुंगो लागेको छ । अब प्रदेश सरकारले पनि असार १ गते भित्र बजेट ल्याउन पर्नेछ भने स्थानीय तहलाई असार १० गते सम्मको समय सिमा तोकिएको छ । सोही अनुरुप कतिपय स्थानीय तहहरुले कार्यपालिका निर्वाचन सम्पन्न गरी बजेटको तयारी सुरु गरिसकेका छन् । ‘कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट निर्माण बारे आवश्यक निर्णय गरिसकेको छ,’ धादिङको ज्वालामुखी गाउँपालिकाका अध्ययन यमनाथ दाहालले भन्नुभयोे,‘सोही अनुरुप काम पनि सुरु भइसकेको अबस्था छ ।’ जनस्तरबाट आएका, कृषि, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, स्थानीय पूर्वाधार विकास, जिविकोपार्जन लगायतका योजनाहरुलाई विषेश प्राथमिकता दिने उहाँको लक्ष्य छ । यसैगरी गोरखाको सिरानचोक गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु गरेको गाउँपालिका अध्यक्ष रीता देवकोटाले जानकारी दिनुभयो । ‘अब नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला भयो, त्यसैमा व्यस्त भएका छौँ,’ उनले भने,‘भर्खर हाम्रो कार्यपालिकाले पूर्णता पाएको छ । अब बसेर प्लानिङ गर्छौ ।’
जनताको चासो र सरोकारवार जोडिएका कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता कुरालाई प्राथमिकता दिने, विकास निर्माणका काममा सुशासन प्रवर्द्धन गर्ने योजनाले नीति तथा कार्यक्रम र बजेटमा स्थान पाउने उहाँले बताउनुभयो । नेता कार्यकर्ता, कर्मचारी एवं पहुँचवालाको योजना भन्दा जनताले छानी पठाएका योजनालाई प्राथमिकता दिएर काम बजेट बनाउने उहाँको भनाई छ । त्यसको लागि ८ वटै वडाका हरेक टोलबस्तीमा योजना तर्जुमाको लागि भेलाहरु गर्ने, योजना छनौटका ७ वटै चरणहरु पुरा गरी नीति तथा कार्यक्रम र बजेट बनाउने उहाँले बताउनुभयो । योजना कार्यान्वयन र त्यसको अनुगमन मुल्याकनमा पनि बिषेश जोड दिने उहाँको योजना छ ।