जनसरोकारका सबै विषय सम्बोधन गर्ने नवनिर्वाचित जनप्रतिनिधिको भनाई
पालिकाको चुनावको धेरैजसो ठाउँको मत परिणाम सार्वजनिक भइसकेको छ । अब केही ठाउँको मत परिणाम मात्रै आउन बाँकी छ । केही ठाउँमा नयाँ जनप्रतिनिधि चुनिएका छन् भने केही ठाउँमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । २०७४ सालको पालिकाको चुनावमा जनप्रतिनिधिले पनि विभिन्न योजना तथा विकासका खाका तयार पारे पनि धेरैजसोले ती कुराहरू पुरा गर्न सकेनन् । तर भर्खरै मात्रै कीर्तिपुर नगरपालिकामा मेयर पदका लागि निर्वाचित राजकुमार नकर्मी भने अबको पाँच वर्षका लागि आफूले नागरिकसामु गर्छु भनेर तयार पारिएका योजना सबै पुरा गर्ने दाबी गर्नुहुन्छ । जनसरोकारका थुप्रै समस्याहरू समाधान गरेरै छाड्ने उहाँको भनाई छ । पालिका भन्नेवित्तिकै हरेक विषय नागरिकसँग ठोक्किएर आउँछन् । त्यसलाई आफूले स्वाभाविक र सकेसम्म नागरिकका समस्या सम्बोधन गर्ने उहाँ बताउनुहुन्छ ।
फोहोर व्यवस्थापन र खानेपानीको समस्याको समाधान अबको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर नौ को वडा अध्यक्ष पदमा निर्वाचित सुमित्रा त्रिपाठी पनि आफ्नो वडाको विकासका लागि सक्दो काम गर्ने बताउनुहुन्छ । आफूलाई वडा अध्यक्ष जस्तो पदमा निर्वाचित गरेकोमा मतदाताप्रति धन्यवाद दिँदै उहाँले नागरिकका समस्यालाई आफ्नै समस्या ठानेर समाधानका लागि पहल गर्ने बताउनुभयो । ढल पानी,बाटो लगायतका समस्या यो भन्दा अगाडिको पाँच वर्षे कार्यकालका जनप्रतिनिधिले धेरै काम अगाडि बढाएको भन्दै अबका दिन बुढानीलकण्ठ नगरपालिकाका बस्ती व्यवस्थापन लगाएको काम गर्ने उहाँको भनाई छ । ललितपुर महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षको पदका उम्मेदवार राजेश महर्जनले पनि वडावासीका लागि राम्रा काम गर्ने बताउनुभएको छ ।