जनप्रतिनिधिका पाँच वर्ष चुनौती सँगै सिक्ने अवसर

जनप्रतिनिधिका पाँच वर्ष चुनौती सँगै सिक्ने अवसर

जनप्रतिनिधिका पाँच वर्ष चुनौती सँगै सिक्ने अवसर

२०७४ सालमा संघीय संरचना अन्तर्गत नेपालको पहिलो स्थानीय तहको निर्वाचन भएको थियो । नेपालको संविधानले राजनीतिक दलहरूलाई पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारमा कम्तीमा एक महिला हुनुपर्ने प्रावधान राखेको छ । २९३ नगरपालिकाबाट सात जना मेयर भएका थिए । त्यसै गरी ४६० गाउँपालिकामा ११ महिला प्रमुख भएका थिए । यसरी ७५३ पालिकामा १८ जना महिला प्रमुख निर्वाचित भएका छन् । पहिलो स्थानीय तहको निर्वाचन बाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिएको छ । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल कस्तो रह्यो यसबारे रेडियो नमोबुद्ध एफएम १०६.७ मेघाहर्जले उत्पादन गर्ने “साझा बोली रेडियो बहस” को ३१ औ भागमा छलफल गर्‍यौ । छलफलको लागि हामी सँग हुनुहुन्थ्यो,काभ्रेको पाँचखाल नगरपालिकाका निवर्तमान उप प्रमुख लक्ष्मी दनुवार र मण्डनदेउपुर नगरपालिकाका निवर्तमान उपप्रमुख निर्मला शाही । आफू निर्वाचित भएको पहिलो वर्ष कार्यालय व्यवस्थापन गर्दै र सिक्दैमा बितेको उहाँहरूको अनुभव छ ।

सुरुको पहिलो वर्ष भूकम्पले क्षति पुर्‍याएको काम पनि गर्नु बाँकी रहेकाले त्यसलाई अगाडी बढाउँदै लगेको मण्डनदेउपुर नगरपालिकाका निवर्तमान उपप्रमुख शाहीले बताउनुभयो । काम गर्दे जाँदा धेरै चुनौती सँगै सिक्ने मौका पनि मिल्दै गएको पाँचखाल नगरपालिकाका निवर्तमान उप प्रमुख दनुवारले बताउनुभयो । उप प्रमुखलाई धेरै जिम्मेवारी दिइएको भए पनि पुरा गर्न कहिले पनि पछि नहटेको उहाँ सुनाउनु हुन्छ । नेतृत्व तहमा महिला भए पनि त्यहाँ पुरुषकै आदेश चल्छ भन्ने धेरैले ठान्छन् । समाजमा लामो समयदेखि जरा गाडेर बसेको पितृसत्तात्मक सोचले गर्दा स्थानीय तहमा काम गर्न जति पुरुषलाई सहज हुन्छ, महिलालाई गाह्रो हुने भनिए पनि आफूलाई त्यस्तो महसुस नभएको शाहीले बताउनुभयो । महिला जनप्रतिनिधि भएकाले गाउँका महिलाले सजिलै आफ्नो समस्या सुनाउने गरेको उहाँको अनुभव छ । पहिलो पटक स्थानीय तहबाट निर्वाचित हुनु र त्यसमाथि महिला भएर पाँच वर्षे कार्यकालमा काम गर्नु चुनौतीपूर्ण सँगै धेरै सिकाई भएको उहाँहरूको अनुभव छ ।