Central Radios

उच्च महत्त्वाकाङ्क्षाले जोखिम निम्त्याउन सक्छ

महत्त्वाकाङ्क्षाले जोखिम निम्त्याउन सक्छ 

बाँके, सुनसरी र मोरङ जिल्लाबाट प्रसारण हुँदै आइरहेको कार्यक्रम ‘मायासँग मनका कुरा’को १३ औँ भाग प्रसारण भइसकेको छ । वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गर्दै आइरहेको यो कार्यक्रमले यो भागमा ‘उच्च महत्त्वाकाङ्क्षाले हामीलाई विभिन्न किसिमको जोखिम (जस्तै ः मानव बेचबिखन, ठगि, श्रम शोषण)मा पार्न सक्छ’ भन्ने विषयको उठान गरेको छ । हामीले सपना देख्नु या भनौँ उच्च महत्वकांक्ष राखेर देखेका सपनाहरू पुरा गर्नतिर लाग्नु नराम्रो होइन तर कुनै पनि आकांक्ष लक्षित विषयहरूमा राम्रो सोचविचार नगरी लागिपरियो भने हामी मानव बेचबिखनमा पर्न सकिन्छ, त्यस कारण हामीले गर्ने हाम्रा जीवनको हरेक निर्णयहरूमा धेरै सोचविचार पुर्‍याउन, घरपरिवारसँग छलफल गर्न अत्यन्त जरुरी हुन्छ भन्ने यो एपिसोडको सार भाव हो ।

१२ औँ भाग सम्ममा प्रसारित दुई सुनिल र पुष्पाको कथाहरू निचोडलाई केलाउँदै सुरु गरिएको यो एपिसोडबाट नयाँ कथा (खुसी र इन्दिराको कथा) प्रसारण भएको छ । उनीहरू कोहलपुरबाट काठ्माडौं आइपुगी सकेका छन् । उच्च महत्त्वाकाङ्क्षी सपना बोकेर जसरी पनि पुरा गरी छाड्ने जोशजाँगर लिएर काठ्माडौं पसेका उनीहरू एउटा ब्युटिपार्लरमा काम गरिरहेका छन् । कामकै सिलसिलामा उनीहरूलाई डान्स बारतिर काम गर्ने अफर समेत आइसकेको छ । 

कार्यक्रमको यो भागमा बाँके, मकवानपुर र सुनसरीका साथीहरूको आत्मकथा प्रसारण गरिएको छ । जसमा उहाँहरूले जीवनमा आफू खुसी साथीको बहकाइमा, सोचविचार नै नगरी लिएका निर्णय (पढाइ, वैदेशिक रोजगारी, हतारमा गरेको बिहे)का कारण अहिले पछुताउन परेको अनुभवहरू हामीसँग बाँड्नु भएको थियो । 

भक्सपप सेसनमा बाँके, सुनसरी र मकवानपुर जिल्लाकै साथीहरूले ‘आफ्नो जीवनमा कुनै पनि कुराका बारेमा निर्णय लिँदा जस्तै बिहेवारिका विषयमा, पढाई सम्बन्धी, भविष्यको आफ्नो लक्ष्यको बारेमा, वैदेशिक रोजगारी लगायतका विषयहरूबारे निर्णय लिनु अघि के कस्तो कुराहरूमा सोचविचार गर्नुहुन्छ ?’ भनेर राखेको प्रश्नमा उहाँहरूले पछि सम्मको परिणामलाई ख्याल गरेर, घरपरिवारसँग राम्रो सरसल्लाह गरेर मात्रै निर्णयहरू लिने गरेको जवाफ दिनु भएको छ । 

कार्यक्रमको आइभिआर सेक्सनमा ‘मानव बेचबिखन कसरी हुन्छ, मानव बेचबिखन गर्नेलाई कसरी चिन्ने ?’ भनेर थानकोटको साथी विवेक पुनले राख्नु भएको जिज्ञासाको बारेमा पनि छलफल गरिएको छ । मानव बेचबिखन गर्ने तस्करहरू हाम्रै वरिपरि हाम्रै भेसभुसामा र आफन्तकै भेषमा पनि हुन सक्छन्, हामी जो कोही पनि बेचबिखनमा पर्न सकिन्छ त्यसैले हामी जतिखेर पनि सतर्क रहनुपर्छ, भन्दै कार्यक्रम टुङ्गिएको छ । 

-->