स्वास्थ्य सवाल समुह

स्वास्थ्य सवाल समुह

Public

यो समुहमा आफ्नो समुदायमा देखिएका स्वास्थ्य क्षेत्रको सुशासन सम्बन्धी समस्या तथा सवाल र उक्त सवालको सम्बोधन गर्ने स्थानीय उपाय बारे छलफल गर्न सकिन्छ । 

Mero Report

Mero Report

Apr 03, 2018 Tuesday
स्वास्थ्यचौकीको सामाजिक परिक्षण सम्पन्न

सुर्खेत, चैत्र १९ । भेरीगंगा नगरपालिका ११ रामघाट सुर्खेतमा रामघाट स्वास्थ्यचौकीको सामाजिक परिक्षण अनुगमन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवाको सार्वजनिक सेवा गुणस्तरियताका लागि उक्त कार्यक्रम गरिएको हो ।
गत बर्ष भएको सामाजिक परिक्षणमा गरिएका प्रतिवद्धता पुरा भए वा भएनन् भनि यस पटक अनुगमनका लागि कार्यक्रम गरिएको जनाईएको छ । गत वर्षको सामाजिक परिक्षणमा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्ने र एम्बुलेन्स किन्ने प्रतिबद्धता गरिएका थिए । ति मध्ये अहिले भवन निर्माण सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा एम्बुलेन्स ल्याउने प्रतिबद्धता भने पुरा हुन सकेको छैन । स्वास्थ्य संस्थामा एम्बुलेन्स ल्याउने समय फेरी पनि थपिएको छ । शुक्रबार भएको सामाजिक परिक्षणमा स्थानियहरुले स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा र ल्याब सेवा नपाएकाले छिटै नै पाउनुपर्ने माग गरेका छन् । जवाफमा भेरीगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिलकराम डाँगीले आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थामा एम्बुलेन्स ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक परिक्षणमा शहरी स्वास्थ्य एकाई सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा यूएसएआईडीको आर्थिक सहयोग र FHI360 को समन्वयमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रम (CS:MAP) को आर्थिक सहयोग र असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा कार्यक्रम सम्पन्न भएको पारस्परिक जवाफदेहिता परियोजना सुर्खेतका अभियान सुपरभाईजर गगन खड्काले जानकारी दिनुभयो ।
सामाजिक परिक्षणमा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत गठन भएको रामघाट स्थानिय सभा तथा शिखर र चौतारी रेडियो स्रोता समुहका सदस्य र स्थानिय बासीन्दाहरुको उपस्थिति रहेको थियो ।

 

Mero Report

Mero Report

Apr 03, 2018 Tuesday
बिषयगत सेवा प्रभावकारी बनाउने साझा सभाको निष्कर्ष

 

 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा हुराडेक नेपाल दोलखाद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत संचालन भएको साझासभाले स्थानीय तहमा रहेको बिषयगत सेवालाई प्रभावकारी बनाउन दोहोरो संवाद सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा ,स्वास्थ्य, कृषि, विपद् जोखिम ब्यवस्थापन सम्बन्धी समुदायमा रहेका समस्याहरु, स्थानीय तहको बैठक, श्रोता समुह, स्वास्थ्य सञ्जाल सार्वजनिक निजी समुहको अन्तरक्रिया, सञ्चार माध्यम र सरोकारवाला मार्फत प्राप्त भएका सवालहरुमा बिषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधी स्थाननिय तहका प्रमुख तथा प्रतिनिधीसंग छलफल गरी निश्कर्ष निकालिएको हो ।  

सो अवसरमा सिन्धुली जिल्ला अस्पतालको लागि औषधि खरिदको टेन्डर आव्हान नभएको, जिल्लाका अधिकांश स्वास्थ्य केन्द्रमा राज्यले ब्यवस्था गरे अनुसारका औषधीहरु उपलब्ध नभएको , स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको कर्मचारीहरु नभएको, नियमित रुपमा गाउँघरमा क्लिनिक सञ्चालन नभएको बारे छलफल भएको थियो । साथै स्वास्थ्य निकायका यस्ता समस्याहरु कमलामाई नगरपालिका, हरिहरपुरगडी गाउँपालिका, गोलन्जोर गाँउपालिका र तिनपाटन गाँउपालिका लगायतका अन्य  स्थानमा समेत रहेको बताइएको थियो ।

उठेका समस्याहरुको समाधानका लागि जवाफ दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गुजेश्वर श्रेष्ठले स्थानिय तहको संरचना फेरबदल भएसंगै बजेटहरु सबै स्थानिय तहमा गइसकेको र स्थानिय तहमा औषधी खरिद प्रक्रियामा केहि ढिलाई भएकाले त्यस्तो समस्या आएको हुनसक्ने बताउनुभयो । त्यसैगरी गोलन्जोर गाँउपालिका र फिक्कल गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको कर्मचारी अभाव पुर्ति भैसकेको र सरकार स्थानिय तहका स्वास्थ्य निकायहरुमा माग अनुसारको औषधी दिन तत्पर रहेकोले कुन स्वास्थ्य संस्थामा कति औषधी आवश्यक छ भन्ने कुराको तथ्याङ्क लिएर औषधी पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

त्यसैगरी शिक्षा क्षेत्रका समस्या बारे छलफल गर्दा सहभागी मध्ये कमलामाई नगरपालिका २ का बिनय दाहालले समयमा नै पाठ्यपुस्तक उपलब्ध नहुने, समयसापेक्ष पाठ्यपुस्तक उपलब्ध नहुने र तिनपाटन गाउँपालिकाको मावि रिट्ठे आम्बेटेमा पुस्तकालयको लागि भनेर निकासा गरिएको ६ लाख ५० हजार पैसाले अहिलेसम्म पुस्तकालयको ब्यवस्था नगरिएको र अन्य ठाँउहरुमा पुराना पुस्तकहरु सट्टापट्टा गरी बिक्री बितरण गर्ने समस्या रहेको पाईयो यस्ता समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा राख्नु भएको थियो । त्यसैगरी स्थानिय सभाको बैठकले सिन्धुली जिल्लालाई साक्षर घोषणा गरिसक्दा पनि अँझै पनि १४ देखि ५९ बर्षको समुहका ब्यक्तिहरु निरक्षर भेटिएको सवाल पनि छलफलमा आएको थियो ।