group image

सामुदायिक अनुसन्धानकर्ता

Public

याे समुह तथ्यमा अाधारित पैरवीका लागी अनुसन्धान गर्ने व्यक्तिहरूकाे समूह हाे ।

Gita Timalsina

Gita Timalsina

Sep 12, 2021 Sunday
सलिनटारः भूकम्पको चोटमा गुठीको भूमिको पीडा

प्रमाणमा आधारित सहभागिमूलक अनुसन्धान

संक्षिप्त प्रतिवेदन

सलिनटारः भूकम्पको चोटमा गुठीको भूमिको पीडा

गीता तिमल्सिना

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल

ज्वागल, ललितपुर

२०७५ चैत ४ गते

पृष्ठभूमिः

०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरस्केलको विनाशकारी भुकम्पले ललितपुरमा पनि नराम्रो प्रभाव परेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिका अनुसार भुकम्पमा परी १ सय ८८ जनाको ज्यान गएको छ ।  जसमा २३ जना बालक, ३४ जना बालिका, २३ जना ज्येष्ठ उमेरका महिला, १६ जना ज्येष्ठ उमेरका पुरूष गरी कूल १ सय १६ जना महिला र ७२ जना पुरूष रहेका छन् । १५ हजार मानिस घाइते, ३ सय ४ ओटा सरकारी भवन पूर्ण क्षति २ सय ५९ ओटा सरकारी भवन आंशिक क्षति सर्वसाधरणका २२ हजार १ सय १९ घर पूर्ण क्षति, ५ हजार ८ सय ५१ ओटा सर्वसाधरणका घर आंशिक क्षति, ६ हजार ५ सय चौपाय मरेको तथ्याङ्क जिल्ला दैवी प्रकोप उद्दार समितिसँग छ । २२ हजार १ सय १९ घर परिवारका सदस्य तथा कोठा भाडामा बस्ने व्यक्तिहरू विस्थापित भएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेपनि कोठा भाडामा बस्नेको विवरण प्रशासनसँग छैन । १ सय ८८ जनाको मृत्यू भएको भनिएपनि प्रशासन कार्यालयले १ सय ५८ जनाका लागि रू १ करोड ५७ लाख ९० हजार प्रदान गरिएको जनाएको छ । 

क्षतिको विवरण  मानवीय क्षती    भवन क्षती      चौपाय क्षति

                १८८ (मृत्यु)     ३०४ (सरकारी)   ६५००

                १२२४ (घाइते)    २२११९ (व्यक्तिगत)     

गुठी भनेका जग्गा जमिन वा भोगको विषय होइन । यो कला, संस्कृति, परम्परा र धर्मको समग्र रुप हो, राष्ट्रको पहिचान हो, समाजको जीवन पद्धति हो । व्यक्ति विशेषको इच्छा र आकांक्षा गुठी संचालन र संरक्षणमा बाधक हुन सक्दैन भन्ने मानसिकताको विकास हामी सबैमा हुन जरुरी छ । समग्रमा गुठी भनेको हामी सबैको साझा सम्पत्ति हो । त्यसैले समयानुकूल यसको संरक्षण, संम्वद्र्धन, संचालन र व्यवस्थापनमा सबै एकजुट भएर अघि बढ्नु आजको टड्कारो आवश्यकता हो ।

काठमाडौं उपत्यकामा शासन गर्ने लिच्छवीहरु गणतन्त्र प्रणालीका अनुयायी थिए । उनीहरुको सामाजिक कार्य सम्पादन गर्ने पाञ्चाली हुन्थे या त गोष्ठी हुन्थे । समान धर्म विचार, जातिको समूह गोष्ठी हुन्थ्यो, भने समान धर्म जाती नभएका व्यक्ति पनि समावेश हुने स्वायत्त शासनको इकाई पाञ्चाली हुन्थे र सामाजिक कार्य क्षेत्रभित्र पर्ने काममा अर्पण गरिएका जग्गाको व्यवस्था पाञ्चालीवाट हुने गथ्र्यो ।

गुठी जग्गा रैतानी नभएका कारण भूकम्पपीडितले समयमा नै परिचयपत्र पाउन सकेनन् । राहात कार्ड नभएका कारण सरकारी सुविधा प्राप्त गर्ने अवसरमा धेरै झञ्झट व्यहोनुपरेपछि अहिले सलिनटारका नागरिक गुठी जग्गालाई रैतानी कसरी बनाउने भन्ने चिन्तामा छन् । नजिकका गाउँलेले सजिलै राहत पाउँदा उनीहरुले नपाउनुको मुख्य कारण आफुले खनजोत गर्दै आएको जग्गाको निस्सा (लालपुर्जा) नभएर हो । गुठी जग्गा रैतानी नभएकासँग जग्गाधनीको लालपुर्जा हुँदैन । रैतानी नगर्दा मोही गुठियार र जग्गाधनी गुठी संस्थान हुन्छ । अहिले यो अड्को फुकाउन अस्थायी निस्सा त छ उनीहरुसँग तर सदासदाका लागि समस्या समाधान गर्न चाहन्छन् ।

जग्गा हकभोग गर्दै आएबापत लाग्ने दस्तुर उनीहरुले वर्षैपिच्छे गुठीसंस्थानमा बुझाएपनि गुठीसंस्थानले हकभोगको जग्गा रैतानी गर्न मान्दैन । तात्कालीन सरकारले २०६३ साल पहिले एक पटक ७५ प्रतिशत छुटमा जग्गा रैतानी खुल्ला गरेको थियो । तर, सर्वोच्च अदालतले २०६४ सालमा गुठी जग्गा रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेपछि गुठीसंस्थानले जग्गा रैकर गर्न नमानेको हो ।

जग्गा रैतानी भन्नाले नेपाल सरकार गुठी संस्थानले तोकेको निश्चित शुल्क बुझाइ गुठीसंस्थानसँग खरिद गरेको जग्गालाई रैतानी जग्गा भनिन्छ । गुठी सञ्चालनको खर्च जुटाउन आम्दानी आउने गरी दाताले हक छोडी दिएको जग्गा गुठी जग्गा हुन् । गुठी जग्गा कमाउने व्यक्ति मोही हुन् भने जग्गाधनी सम्बन्धित गुठी हुने गरेको छ ।

नेपालको संधिान २०७२ को विविध भागको धारा २९० ले गुठी जग्गामा मुलभूत अन्तर नपर्ने गरी भोकाधिकार गर्ने व्यक्तिले जग्गा आफ्नो नाममा प्राप्ति गर्न सक्ने छन् भन्ने व्यवस्था छ । संविधानले सङ्घीय संसदलाई रैतानी गर्न मार्ग प्रशस्त गरेको भए पनि संविधान कार्यान्वयमा ढिलासुस्ती भएकाले सरकारी सुविधा प्राप्त गर्नबाट किसान मर्कामा परेका छन् । गुठी ऐनको दफा ५३ ले समेत गुठीको कामको प्रत्यक्ष रेखदेख गर्न स्थानीय निकाय तथा प्रशासनको प्रमुख दायित्व हुनेछ भनी किटान गरेको छ ।

अध्ययनको औचित्यः

गुठी जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयबासीसँग आफ्नो नाममा जग्गाजमीन छैन । आफ्नो नाममा जग्गाजमीन नहुँदा पेशा व्यवसाय गर्न, ऋणपान गर्न र किनबेच गर्न समस्या छ । भूकम्प गएको चार वर्ष हुनै लाग्यो । बसोबास गर्दै आएको जग्गा जमीन आफ्नो नभएकै कारण समयमा भूकम्पपीडित कार्ड पाउनबाट वञ्चित यहाँका नागरिकलाई राहत पाउन पनि निकै समस्या परेको थियो । यि यावत समस्याबाट पीडित यहाँका नागरिकको अवस्था र निकासका उपायका बारेमा यो अध्ययन गरिएको हो ।

अध्ययनको उद्धेश्यः

१. सलिनटारबासीका समस्या थाह पाउनका लागि

३. समस्याबाट परेको प्रभावका बारेमा जानकारी हासिल गर्नका लागि

३. गुठी जग्गाका कारण पीडित भएकाहरुसँगको अनुभव बटुलेर सम्बन्धित निकायसमक्ष लैजानका लागि

अध्ययन विधि प्रकृयाः

यो अध्ययनका लागि सबैभन्दा पहिला गोदावरी नगरपालिकाको वडा नं ९ मा रहेको सलिनटारमा पुगियो । त्यसपछि सलिनटारबासीसँग छलफल, कुराकानी गर्नुका साथै स्थलगत अवलोकन गरियो । जनप्रतिनिधि दुर्गा सुनारसँग कुराकानी गरियो । त्यसपछि मच्छिन्द्रवहालमा रहेको गुठी संस्थानको शाखा कार्यालयमा पुगेर कार्यालय प्रमुख शैलेन्द्र पौडेलसँग कुराकानी गरियो । समग्रमा अध्ययनका लागि कुराकानी र अवलोकन विधिलाई प्रयोग गरियो । गुठी जग्गासम्बन्धी कानुनी पाटोलाई पनि सरसर्ती अध्ययन गरियो ।

सरोकारवालाको भनाईः

दुर्गा सुनार, वडा सदस्य, गोदावरी नगरपालिका वडा नं ९

सलिनटारबासीको साझा समस्या हो यो । गुठीको जग्गामा रहेका यहाँका नागरिकलाई मेरै कार्यकालमा जे जसरी भएपनि रैतानी जग्गामा बसाउन मन छ । म त्यसैका लागि लागिरहेको छु । नगरपालिका, प्रदेश सांसद र प्रतिनिधिसभाका सांसदलाई झक्झक्याइरहेको छु । कानुनी झञ्झट छ भनेर मात्रै हुँदैन । कानुन सच्याएर भएपनि नागरिकलाइ परेका पीर मर्काको निदान गर्नुपर्छ ।

कृष्णबहादुर घिमिरे, अगुवा कृषक

म त्यतिबेला (भूकम्प गएका समयमा) वडा नागरिक मञ्चको संयोजक थिएँ । यहाँका घरधुरीबारे एकीन भनन सक्दिनँ । भूकम्पका बेलामा एकै दिन ५–६ घर थपिए । धेरै कुरा के गर्नु । यहाँको जग्गा मेरो बुबाले १३ हजार रुपियाँमा किन्नु भएको हो । यो गुठीको जग्गा रहेछ । जगनन्द प्रकाशश्वरी गुठीको नाममा रहेछ यहाँको जग्गा । पहिला पनि गुठीको जग्गा भन्ने कुरा थाहा थियो । भूकम्पपछि पाएको दुखले रैतानी जग्गा बनाउनै पर्ने महसुस भयो । अहिले किनबेच गर्न पाएका छैनौँ । घर ठड्याउनलाई सानो टुक्रा बेच्न पाए हुन्थ्यो भन्यो भने कौडीको भाउमा बेच्नु पर्छ । अस्थायी निस्सा मात्रै छ हाम्रो । भूकम्पका बेलामा त धेरै दुख पायौँ । छोराले घर बनाउनुपर्दा गुठी संस्थानसँग सम्झौता गरेर फेरि मसँग पनि सम्झौता गर्नुपर्यो । झञ्झटिलो काम । अब हाम्रो सन्ततीले दुख नपाओस् भनेर यहाँको जग्गालाई जसरी भए पनि रैतानी बनाउनु पर्छ । हामी दाम तिर्न तयार छौँ । अहिले जजसले जहाँजहाँ कमत गरेको छ । ५–७ वर्षको समय दिएर भएपनि उसैले किन्न पाउने व्यवस्था मिलाउनुपर्छ । नत्र सन्धी सर्पण पर्छ । कानुनी रुपमा जेजे भएपनि व्यवहारिक रुपमा पनि काम मिलाउनुपर्छ । २०६३–२०६४ सालतिर एकपटक गुठीको जग्गालाई रैतानी बनाउन सूचना आएको रहेछ । म्याद सकिनुभन्दा २–३ दिन अघिमात्रै थाहा पाउँदा सो काम गर्न सकिएन । कोहकोहीले त्यही बेलामा गरे ।

लक्ष्मी पुर्कुटी, भूमी अधिकारकर्मी

भूमि अधिकार मञ्चको केन्द्रीय सम्मेलनमा भाग लिएर भर्खर आएको छु । यो कुरा मैले त्यहाँ पनि राखेको छु । कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले चाँडै नै समस्याको समाधान गर्ने बताउनुभएको छ । अब चाँहि हुन्छ भन्नेमा ढुक्क छु । हाम्रो पालामा जति दुख पायौँपायौँ । अब हाम्रा सन्ततीले दुख पाउनु नपरोस् । हामीले चुनेर पठाएका प्रतिनिधिले यो समस्याको समाधान गर्नुपर्छ । समस्या आएपछि कानुन बनाएर समाधान गर्नुपर्छ । कानुन नै छैन भनेर त भएन नि । कि हामी यहाँका नागरिक होइनौँ भन्न सक्नुपर्छ । नत्र समस्या समाधानका लागि सबै तिरबाट दबाब दिनुपर्छ । अब यो समस्यालाई पार नलगाई धरै छैन ।

श्यामबहादुर पुर्कुटी, स्थानीय

हामीले भोगेको दुख पीडा हाम्रो शाखा सन्तानलाई नहोस् । जाने बुझेकाले अड्डामा गएर काम गरेर सुखको सास फेर्ने बनाउनुपर्छ ।

जुरेली नगरकोटी, स्थानीय

गाउँभरीकै समस्या हो यो । हाम्रो सलिनटारमा भएका सबैको पीडिा हो यो । हामीले भन्ने र गर्ने धेरै गरिसक्यौँ । अब हुन्छ रे भन्छन् । फेरि हुँदैन । अहिले फेरि हुन्छ भन्या छन् । जसरी भएपनि हामीलाई सजिलो हुने गरी सरकारले काम गरिदेओस् ।

शैलेन्द्र पौडेल, कार्यालय प्रमुख, गुठी संस्थान शाखा कार्यालय, ललितपुर

गुठीका कारण समस्यामा पर्न हामीले दिएका छैनौँ । भूकम्पपीडितका लागि हामीले गर्नुपर्ने काम पहिलो प्राथमिकतामा राखी गरेका छौँ । पहिला बसोबास गर्दा नै गुठीको जग्गामा बसोबास गरेका यहाँका नागरिकलाई भूकम्पपीडित राहत कार्ड बनाउन र घर बनाउन हामीले गर्नुपर्ने मञ्जुरी नामा लगायतका काममा नगरेको होइन कि ढिलासुस्ती पनि भएको छैन । कानुनले दिएको अधिकार प्रयोग गरी नागरिकका हितका लागि जुनसुकै काम गर्न म तयार छु । कानुनमा नभएको काम गर्न त सिकँदैन । कानुन परिमार्जन भएर आयो भने त्यही अनुसार गरिहाल्छौँ ।

आत्मराम थापा क्षेत्री, वडाध्यक्ष, गोदावरी नगरपालिका वडा नं ९

सलिनटारबासीको समस्या समाधान गर्न हाम्रोतर्फबाट सक्दो पहल र प्रयास जारी छ । 

अनुसन्धानबाट प्राप्त नतिजाहरुः

अध्ययनबाट गुठीको जग्गालाई रैतानी बनाउनका लागि पहल गरेको पाइयो । तर, पर्याप्त रकम नहुँदा तथा समयमा नै सूचना प्रवाह नहुँदा गुठीको जग्गालाई रैतानी बनाउन नसकेको पाइयो । नयाँ जनप्रतिनिधिहरूको उत्साह र जाँगर देख्दा केही गरौँ भन्ने भावना रहेको पाइयो । स्थानीय स्तरमा रहेका यस्ता समस्यालाई उपल्लो तहसम्म पुर्याउन पहल कदमी भएको पनि पाइयो । ६६ जिल्लामा रहेको यस्तो समस्या समाधान गर्न प्रतिनिधिसभाबाट नयाँ कानुन बनाएर काम गर्नुपर्ने देखियो । त्यसका लागि पीडित र सरोकारवालाको सामूहिक प्रयासलाई थप जोडतोडका साथ अघि बढाउनुपर्ने देखियो ।

निष्कर्षः

सरोकारवाला पक्ष, स्थानीय जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधिलगायतले व्यपक पहल गर्न सक्दा मात्रै कानुन परिवर्तन भइ समस्याको समाधान हुन सक्छ । समस्याको मूल चुरो कानुन नै भएकाले कानुनको संशोधनको विकल्प छैन । कानुनमा परिवर्तन ल्याएर यहाँका नागरिकको समस्या समाधान गर्नैपर्छ ।

 

 

Gita Timalsina

Gita Timalsina

Mar 05, 2019 Tuesday
स्वास्थ्य र शिक्षामा थप पैरवी गरिने

ललितपुर । ०७५ फागुन २० गते

पारस्परिक जबाफदेहीता परियोजना अन्तर्गत मानव अधिकार सञ्चार प्रतिष्ठान (इर्हिकन) द्वारा ललितपुरमा स्थापित हेड कोलिशन (HEAD (H-Health, E-Education, A-Agriculture, D-Disaster) Coalitions) फागुन २० गते बसेको बैठकले स्वास्थ्य र शिक्षामा थप पैरवी गर्ने निर्णय गरेको छ । कोलिशनकी सदस्य रोशनी कर्माचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकामा (HE-Health, Education) स्वास्थ्य र शिक्षाका विषयमा विशिष्टीकृत भई थप पैरवी गर्ने निर्णय गरिएको कर्माचार्यले बताइन् ।


बैठकमा Community Action Researcher (CAR) गीता तिमल्सिनाले गोदावरी नगरपालिकामा महिला हिंसाको सवाल विषयक अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा महिला हिंसाको नियन्त्रण गर्न सके शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनका क्षेत्रमा प्रगतिको फड्को मार्न सकिने उल्लेख छ ।


बैठकमा कोञ्ज्योसोम गाउँपालिका१ का वडा अध्यक्ष सन्तलाल तामाङले चौघरेमा बालविवाह व्याप्त रहेको बताए । उनले भनेबाल विवाह न्यूनीकरणका लागि हाम्रो प्रयत्न पर्याप्त हुन सकेन । सङ्घसंस्थासँगको हात्तेमालो आवश्यक छ ।


इर्हिकनसँगको साझेदारीका कारण भूकम्प पीडितका सवालमा उल्लेख्य प्रगति भएको उनको भनाई छ ।


इर्हिकनका कार्यकारी निर्देशक कपिल काफ्लेले हेठ कोलिशनमार्फत पैरवीका कामलाई निरन्तर अघि बढाउने बताए ।


कार्यक्रममा सहभागीहरूले टिकाभैरव क्षेत्रका क्रसर, खानेपानी, ग्रामीण क्षेत्रका महिलामा हुने पाठेघरका समस्या, बालविवाहजस्ता शिक्षा र स्वास्थ्यसँग सरोकार राख्ने सवालको पैरवीलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए ।

गीता तिमल्सिना


 


Gita Timalsina

Gita Timalsina

Mar 05, 2019 Tuesday
स्वास्थ्य र शिक्षामा थप पैरवी गरिने

पारस्परिक जबाफदेहीता परियोजना अन्तर्गत मानव अधिकार सञ्चार प्रतिष्ठान (इर्हिकन) द्वारा ललितपुरमा स्थापित हेड कोलिशन (HEAD (H-Health, E-Education, A-Agriculture, D-Disaster) Coalitions) फागुन २० गते बसेको बैठकले स्वास्थ्य र शिक्षामा थप पैरवी गर्ने निर्णय गरेको छ । कोलिशनकी सदस्य रोशनी कर्माचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकामा (HE-Health, Education) स्वास्थ्य र शिक्षाका विषयमा विशिष्टीकृत भई थप पैरवी गर्ने निर्णय गरिएको कर्माचार्यले बताइन् ।


बैठकमा Community Action Researcher (CAR) गीता तिमल्सिनाले गोदावरी नगरपालिकामा महिला हिंसाको सवाल विषयक अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा महिला हिंसाको नियन्त्रण गर्न सके शिक्षा, स्वास्थ्य, कृषि र विपद व्यवस्थापनका क्षेत्रमा प्रगतिको फड्को मार्न सकिने उल्लेख छ ।


बैठकमा कोञ्ज्योसोम गाउँपालिका१ का वडा अध्यक्ष सन्तलाल तामाङले चौघरेमा बालविवाह व्याप्त रहेको बताए । उनले भनेबाल विवाह न्यूनीकरणका लागि हाम्रो प्रयत्न पर्याप्त हुन सकेन । सङ्घसंस्थासँगको हात्तेमालो आवश्यक छ ।


इर्हिकनसँगको साझेदारीका कारण भूकम्प पीडितका सवालमा उल्लेख्य प्रगति भएको उनको भनाई छ ।


इर्हिकनका कार्यकारी निर्देशक कपिल काफ्लेले हेठ कोलिशनमार्फत पैरवीका कामलाई निरन्तर अघि बढाउने बताए ।


कार्यक्रममा सहभागीहरूले टिकाभैरव क्षेत्रका क्रसर, खानेपानी, ग्रामीण क्षेत्रका महिलामा हुने पाठेघरका समस्या, बालविवाहजस्ता शिक्षा र स्वास्थ्यसँग सरोकार राख्ने सवालको पैरवीलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए ।

ललितपुर । ०७५ फागुन २० गते, गीता तिमल्सिना


 


Gita Timalsina

Gita Timalsina

Feb 25, 2019 Monday
प्रमाणमा आधारित सहभागिमूलक अनुसन्धान संक्षिप्त प्रतिवेदन

कोञ्ज्योसोमः पर्यटन प्रवर्धनका लागि प्रचारको खाँचो

गीता तिमल्सिना

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल

ज्वागल, ललितपुर

२०७५ माघ २१ गते

 

विषयसूची 

पृष्ठभूमि

अध्ययनको औचित्य

अध्ययनको उद्देश्य

अध्ययन विधि प्रकृया

सरोकारवालाको भनाई

अनुसन्धानबाट प्राप्त नतिजाहरू

विद्यमान अवस्था र सम्भावनाका क्षेत्र

निश्कर्ष

 

पृष्ठभूमि:

नयाँ संरचना अनुसार चौघरे, सङ्खु, दलचोकी, नल्लु र भारदेव गाविस मिलाएर कोञ्ज्योसोम गाउँपालिका बनाइएको हो । यो गाउँपालिकामा पाँच ओटा वडा छन् । ४४ दशमलब १६ वर्ग किमि क्षेत्रफल रहेको यो गाउँपालिकामा ९ हजार ७ सय ९ जनाको बसोबास छ । 

लेलेको फाँट सकिएपछि उकालो यात्रा । छेउभित्तो दुबैतिर घना जङ्गल । बसहरुसमेत होस्टे हैंसे गर्दै लाग्नु पर्ने उकालो ! घुम्ती त्यत्तिकै ! साँघुरो बाटो । घुम्तीमा पटकपटक दुर्घटना होलाजस्तो जम्काभेट हुन्छ विपरीत दिशाबाट आएका सवारी साधनको । उकालो सकिनेबित्तिकै भेटिने नल्लु भञ्ज्याङ । भञ्ज्याङ् नपुग्दै एउटा तीर्थ जाने बाटो आउँछ । पाथिभरा मन्दिर । ताप्लेजुङको होइन । ताप्लेजुङबाट प्रतिमा ल्याएर विधिपूर्वक स्थापना गरिएको मन्दिर । त्यसो त लेलेमा नै मनकामना छाडिन्छ । यहाँका स्थानीयले बडो मेहनतसाथ बनाएको मन्दिर । भञ्ज्याङमा पुगेपछि एकैछिन नरोकिए यात्रा अपूरो र अधुरो हुन्छ । यात्र फिका र मधुरो हुन्छ । यहाँबाट एकातिर फर्कँदा काठमाडौँ खाल्डो देखिन्छ । ठिक विपरीत फर्कँदा सिङ्गो गाउँले जनजीवन आँखैमा आउँछ । डाँडाकाँडा, पाखा पर्वत । अनि फाट्टफुट्ट घर । नल्लुबाट भारदेवतर्फ लागेपछि गाउँले जीवन सुरु हुन्छ । लेलेसम्म गोदावरी नगरपालिका र नल्लुदेखि कोञ्ज्योसोम गाउँपालिका ।  कोञ्ज्योसोम गाउँपालिकामा जम्मा पाँच ओटा वडा छन् । कोञ्ज्योसोम भनेको चाँही बुद्धका तीन रूप अरे ! कोञ्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष सुबिन्द्र तामाङले भने–‘स्वयम्भूमा रहेका बुद्धका तीन रूपलाई कोञ्ज्योसोम भनिन्छ ।’ उनका अनुसार यो ‘पहिचान’को नाम । तामाङ बाहुल्य क्षेत्र भएकाले पहिचानका आधारमा गाउँपालिकाको गठन गरिएको भन्छन् यहाँका जान्ने सुन्नेहरू । चौघरे, शङ्खु, दलचोकी, नल्लु र भारदेव यहाँका पाँच ओटा वडा । यो यात्रामा हामी नल्लुबाट प्रवेश गरी भारदेव र चौघरे हुँदै महाङ्काल गाउँपालिका पुग्छौँ । महाङ्काल गाउँपालिकामा चाँही ६ ओटा वडा छन् । पहिलाका बुखेल, मानिखेल, गोटिखेल, चन्दनपुर, कालेश्वर र ठूलादुर्लुङ गाविस मिलाएर बनाइएको गाउँपालिका । सातदोबाटोदेखि टिकाभैरबसम्मको बाटोलाई देवकोटा मार्ग र टिकाभैरबदेखि चन्दनपुरसम्मको बाटोलाई लेले–चन्दनपुर मोटरबाटो नामाकरण गरिएको छ ।

काठमाडौँको टुँडिखेलबाट सुरु गरिएको यात्रालाई ललितपुरको जावलाखेल पुगेपछि लगनखेलतिर मोड्नुपर्छ । त्यहाँबाट थसिखेल नपुगी ताल्सिखेलबाट धापाखेल हुँदै अगाडि बढ्नुपर्छ । त्यहाँबाट ताहाखेल हुँदै गएपनि टौखेलतिर चाँही लाग्नु पर्दैन । त्यसपछिको लामो यात्रासँगै मानिखेलको कतवन भञ्ज्याङ पुगिन्छ । मानिखेलबाट गोटिखेल जान बुखेलतिर गइरहनै पर्दैन । यसरी टुँडिखेलदेखि गोटिखेलसम्म पुग्न लगभग साँढे दुई घण्टा लाग्छ । तर, बिचबिचमा रोकिइरोकिइ जाँदा अझ धेरै समय लाग्छ । यो बाटोमा नियमितजसो ओहोरदोहोर गर्नेहरू त एक÷डेढ घण्टामै पुगिहाल्छन् । 

२०४२/०४३ सालदेखि खन्न सुरु गरिएको बाटो अहिले पनि निर्माणाधीन नै छ । हुन त बाटो पिच छ । तर, सिङ्गल ट्रयाक मात्रै । कामका लागि खाद्यान्न अन्तर्गत खनिएको यो बाटोमा निकै पसिना चुहाइएको बताउँछन् यहाँका अधवैँसेहरू । नल्लु भञ्ज्याङबाट केही अगाडि भारदेव गाउँ पुगिन्छ । भारदेवबाट केही मोड घुम्दै उकाले लागेपछि चौघरेको सिँगाने भञ्ज्याङ् पुगिन्छ । तर, अहिले यो भञ्ज्याङ्लाई ‘सिम भञ्ज्याङ्’ नाम दिइएको छ । सधैँजसो चिसो हुँदा सिँगान चुहिरहने भएकाले सिँगाने भञ्ज्याङ् भनिएको बुढापाकाहरू बताउँछन् । तर, ठिटाठिटीहरू चाँही यो कुरा मान्दैनन् । सिम् जस्तो चिसो भइरहने हुनाले सिम भञ्ज्याङ् नै उपर्युक्त नाम हुने हुँदा सिम भञ्ज्याङ् कै नामलाई महत्व दिनुपर्ने युवा पुस्ताको भनाई छ । चाहे जे होस् यो भञ्ज्याङ्मा पुगेपछि तामाङ/तामाङ्नीले पकाएका तात्ताता मालपुवा र तरकारीले जो कोहीको मन लोभिन्छ नै ! जहिले जाँदा पनि यहाँका मालपुवा र तरकारी उत्तिकै मिठो । सायद चिसो ठाउँ भएकाले मिठो भएको होला । यहाँ मौसममौसमका खानेकुरा किन्न पनि पाइन्छ । गाउँलेहरूले विशाल जङ्गल (जसलाई महाभारत सृङ्खला भनिन्छ ।) बाट ल्याएका निहुरो, डाँठे, जङ्गली च्याउ (मृगे, छाते आदि), काफललगायतका केही न केही किन्न पाइन्छ । च्याउ किन्दा चाँही होसियारी अपनाउनुपर्छ । तर, स्थानीयहरू वर्षौँदेखि यही काममा तल्लीन छन् । उनीहरू विषालु च्याउ चिन्ने ठोकुवा गर्छन् ।’

यो परिदृष्यमा राजधानी नजिकैको यो गाउँपालिकामा पर्यटकीय क्षेत्र घोषणा गरी गाउँपालिकाले काम गर्नु सान्दर्भिक छ । स्थानीय सरकारलाई सहयोग पुर्‍याउन सरोकारवाला पक्षको पनि कर्तव्य हो । तसर्थ पर्यटन प्रवर्धनको पहिलो काम प्रचार प्रसार गर्नु आवश्यक छ ।

अध्ययनको औचित्य

नेपालको शासकीय संरचना तीन तहको सरकारबाट सञ्चालन भइरहेको छ । यो नेपालको राजनीतिक इतिहासमा नयाँ अभ्यास हो । यही संरचनाबाट नागरिकको अधिकार सुरक्षित गराइराख्न र स्थानीय सरकारप्रति नागरिकको आस्थालाई थप बलियो बनाउन स्थानीय सरकारले गर्ने काम प्रभावकारी हुनु आवश्यक छ । यस अध्ययनका कारण स्थानीय सरकारको जिम्मेवारी र जबाफदेहीता बढ्न गई पर्यटनसम्बन्धी कामका लागि अभियान सञ्चालनका कार्यक्रमको तर्जुमा गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

अध्ययनको उद्धेश्य

१. कोञ्ज्योसोमको पर्यटनः सम्भावना पहिचानका लागि

३. स्थानीय र जनप्रतिनिधिको दृष्टिकोणकाबारेमा थाहा पाउनका लागि

३. पर्यटन प्रवर्धनका लागि प्रचारप्रसारको आधार तय गर्नका लागि

 

अध्ययन विधि प्रकृया

यो अध्ययनका लागि सबैभन्दा पहिला कोञ्ज्योसोम गाउँपालिकाको भूगोल र पर्यटकीय स्थलबारे सन्दर्भ सामग्री अध्ययन गरियो । त्यसपछि गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामा तथा प्रवक्ता सुविन्द्र तामाङसँग छलफल गरियो । स्थानीय तथा अन्य सरोकारवालासँग पनि छलफल गरियो ।

 

सरोकारवालाको भनाईः

मिङ्मा तामाङ, उपाध्यक्ष, कोञ्ज्योसोम गाउँपालिका

चौघरे गाउँपालिकाको केन्द्र भएकाले यहाँ विविध किसिमका सम्भावना छ । मानिसको आउजाउको केन्द्र पनि चौघरे नै हुन्छ । वडा नं २ सङ्खुमा हामी कृषि पर्यटनका हिसावले विकास गर्दैछौँ । यहाँ कृष्ण प्रणामी मन्दिर र तमाङ सङ्ग्राहलयमार्पत पर्यटक तान्ने योजनामा छौँ । त्यसैगरी वडा नं ३ दलचोकीमा यस अघि नै पर्यटक तान्ने गरी काम सुरू भइसकेको छ । यहाँ मनकामना मन्दिर र भ्यू टावरमार्पत पर्यटकलाई थप आकर्षण गराउन सकिन्छ । वडा नं ४ नल्लुमा पाथिभरा मन्दिर र नल्लु डाँडाले पर्यटकलाई लोभ्याउँछ । त्यसैगरी भारदेवमा कोञ्ज्योसोम शान्तिबाटिका र गुप्तेश्वर गुफालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ । जसले गर्दा कोञ्ज्योसोमलाई पर्यटकको ‘हब’ क्षेत्र बनाउन सकिन्छ ।

 

लालबहादुर तामाङ, अध्यक्ष, ज्ञानोदय आधारभूत विद्यालय व्यवस्थापन समिति

चौघरेबाट मनोरम काठमाडौँ, हिम सृङ्खला, कालेश्वर महादेव मन्दिर भएको डाँडो र काभ्रेको नारायणस्थान मन्दिर भएको डाँडो सहजै देख्न सकिन्छ । प्राकृतिक वातावरण, प्राङ्गारिक खानेकुरा, बनको निहुरो र च्याउमार्पत यहाँको पर्यटनलाई बढावा दिन सकिन्छ ।

 

सुविन्द्र तामाङ, अध्यक्ष, वडा नं ५ तथा प्रवक्ता कोञ्ज्योसोम गाउँपालिका

दलचोकीको भ्यू टावर, भारदेवको कोञ्ज्योसोम प्रतिमा र शान्ति बाटिकाको डिपिआर तयार गरी बजेट छुट्याइएको छ । काम द्रुत गतिमा चलिरहेको छ । प्रचारप्रसारको पाटोमा थप काम गर्न सके पर्यटकीय क्षेत्र निर्माण गर्ने हाम्रो अभियान सार्थक हुन्छ ।

 

अनुसन्धानबाट प्राप्त नतिजाहरु

अध्ययनबाट गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी कार्यारम्भ गरेको पाइयो । तर, प्रचारप्रसारको कमी रहेको पाइयो । नयाँ जनप्रतिनिधिहरूको उत्साह र जाँगर देख्दा केही गरौँ भन्ने भावना रहेको पाइयो । स्थानीय स्तरमा होटल, रेष्टुराँको व्यवस्थापन भने हुन सकेको देखिएन । सामान्य खाजाघरबाहेक दलचोकीमा एउटा होम स्टे रहेको पाइयो । पर्यटन प्रवर्धनको सम्भावना रहेको कोञ्ज्योसोम पर्यटन विकासका काममा भने भर्खरै बामे सर्दै गरेको पाइयो ।

 

विद्यमान अवस्था र पर्यटन सम्भावनाका क्षेत्र

१) आर्थिक पक्ष

                क) कोञ्ज्योसोमबासीको आर्थिक उपार्जनको मूल स्रोत परम्परागत कृषिको । परम्परागत कृषिबाट यहाँका बासिन्दाको दिनचर्या सहज देखिँदैन । जसका कारण यहाँका काम गर्नसक्ने युवा  खाडी मुलुकमा गएर आफ्नो श्रम बेच्न बाध्य छन् । यसका साथै दैनिकी सञ्चालनका लागि अवैध मदिरा उत्पादन र विक्री यहाँका बासिन्दाको अर्को बाध्यता हो । अवैध रुपमा मदिरा उत्पादन र विक्रीका कारण धेरैपटक यहाँबाट चापागाउँ बजार बेच्न लगेको मदिरा प्रहरीले जफत गरेर पोख्ने गरेको छ ।

                यहाँका बनपाखामा फल्ने काफल, पैयुँ, ऐँसेलु, चुत्रो, लप्सीलगायतका फलपूmल सङ्कलन, धसिँगरेलगायतका जडिबुटी सङ्कलन र प्रशोधन तथा आलुपखराको रक्सी, फर्सीको सस बनाउने जस्ता उद्योग खोलेर कानुनबाट प्रतिबन्धित कामबाट वैधानिक काममा र विदेशिने श्रमशक्तिलाई गाउँमै रोकेर उत्पादनमूखी बनाउन सकिन्छ । यसका लागि गाउँकै लगानीकर्ता वा गाउँबाहिरका लगानीकर्तासँग, उद्योग वाणिज्य सङ्घसँग तथा साना उद्योग व्यवसायीसँग छलफल गर्नु आवश्यक छ । पर्यटकको आगमनसँगै उद्योगको आकार बढ्नेमा त शङ्कै छैन ।

                यहाँ होटल तथा उद्योग व्यवसायले कुनै पनि आकार ग्रहण गरेको छैन । पर्यटकलाई आकर्षण गर्ने महत्वपूर्ण पक्ष भनेको होटल, घरबास (बसोबास र खानपिन) पनि हो । यही कुराको अभावमा पर्यटक आइहालेमा राख्नै समस्या छ ।

               

२) भौगोलिक पक्ष

                क) भूगोल पृथ्वीको बनोट हो । यसमा धेरै तोडमोड गर्न सकिन्न । तर, यहाँको भूगोल दूरीका हिसावले होस् वा डाँडाकाँडाको हिसावले नै किन नहोस् पर्यटकलाई आकर्षण गर्ने किसिमको छ । वर्षैपिच्छे हिउँ पर्ने र झण्डै १०–१५ दिनसम्म रहिरहने खालका डाँडादेखि लहलह परेका फाँट र वनजङ्गलको क्षेत्र यहाको भूगोलमा समेटिन्छ । यस्तो भूगोलसहितको वृत्तचित्र वा अन्य कुनैपनि माध्यामबाट प्रचारप्रसार गर्न सके पर्यटकको ओइरो लाग्नेमा शङ्कै छैन ।  भौगोलिक रूपमा पर्यटकीय क्षेत्र बनाउन प्रचुर सम्भावना भएको क्षेत्र हो कोञ्ज्योसोम ।

 

३) सांस्कृतिक पक्ष

                क) नेपाल बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो । नेपालकै झल्को दिन्छ कोञ्ज्योसोमले । पहिचानका आधारमा नाम राखिएको कोञ्ज्योसोम तामाङ बाहुल्य क्षेत्र हो । तामाङ जातिको रहनसहन, खानपान र बुद्ध धर्मको आस्था तथा संस्कारका कारण पर्यटकलाई तानिरहने बनाउन सक्छ कोञ्ज्योसोमले । तामाङहरू धर्म मान्ने सूचीमा नाम लेखाउँदा बुद्ध लेख्छन् । तर, उनीहरूको हिन्दु भगवानप्रतिको आस्था हिन्दु धर्म मान्ने जत्तिकै छ । भारदेवमा रहेको गुप्तेश्वर गुफा तामाङहरूको आस्थाको धरोहर नै हो । हिन्दु धर्म अनुसार ‘श्वर’ आएका धार्मिक केन्द्र महादेवप्रति लक्षित हुन्छन् । त्यस्तै गाउँले जीवनको रहनसहन यहाँको अर्को महत्वपूर्ण सामाजिक पक्ष हो । यसलाई टिकाइराख्न र प्रचार गर्न सके यहाँको पर्यटनलाई ठूलो मद्दत मिल्नेछ । तामाङ सेलोमा रातिसम्म नाचगान गराउने र खानपिन गराउने व्यवस्था मिलाउन सके सांस्कृतिक संरक्षणका साथै आर्थिक उपार्जन गर्न सकिने स्थानीय हरि तामाङले बताए ।

 

निष्कर्ष

सरोकारवाला पक्ष, पत्रकारलगायतले व्यापक प्रचार प्रसार गर्न नसक्दा यहाँको पर्यटन ‘विक्री’ हुन सकिरहेको छैन । त्यसका लागि नविनतम सोचको खाँचो छ । स्रोतको भन्दा पनि सोचको व्यवस्थापनबाट यो काम गर्न सकिन्छ र कोञ्ज्योसोमलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन सकिन्छ ।  यहाँ लगानीकर्तालाई आकर्षित गरी केही होटल (बाससहितको) र होम स्टेमार्फत पाहुनालाई सत्कार गर्न सक्ने परिस्थितिको निर्माण गर्नु आवश्यक छ । यसबाट पर्यटकलाई तान्न सकिन्छ ।

नी दैनिकमा प्रकाशित लेख