साझा बोली रेडियो बहस, दोलखा–१
दोलखा जिल्लामा विपद् पूर्व तयारीका लागि स्थानीय तह सहितको सरोकार निकायहरूको जिल्लामा बैठक बसी आवश्यक पूर्व तयारीहरू भैरहेकोे छ । जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारीहरू जस्तै राहत खोज उद्धारको व्यवस्थापन गरेको बत्ताएको छ भने जिल्लामा पहिरोको जोखिम रहेका बस्तीहरूको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने कामको लागि स्थानीय तहहरुलाई निर्देशन समेत दिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार जिल्लाको विशेष गरी कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकामा पहिरोको जोखिम रहेकोले त्यस ठाउँको जोखिम स्थान पहिचान गर्न निर्देशन दिइएको छ । यस्तै स्थानीय तहमा नीतिगत रूपमा विपद्को पूर्व तयारी गर्न पनि स्थानीय तहलाई आग्रह गर्नु भएको छ । विपद् पूर्व तयारीको लागि नदी किनारमा बनेका घरहरूलाई यो वर्ष तत्काल स्थानान्तरण गर्न नसकिने र पानीको सतह बढी भएपछि बज्नुपर्ने साइरन नबज्ने समस्या भएकाले त्यसको व्यवस्थापन गरिने बताउनु भएको छ ।
यस्तै पहिरो गएर क्षति पुगेको ठाउँहरूमा पनि स्थानीय तहहरूले अनुगमन गरी काम गर्ने उहाँको दाबी छ । विपद्को क्षेत्रमा काम गदै आएका नागरिक समाज संस्थासँग पनि सहकार्य गर्दे काम गर्ने बताइएको छ । पहिरोको जोखिम रहेको स्थानमा भुगर्भविद सहितको टोलीले जोखिम पहिचान गरिने समितिले जनाएको छ । विपद् आइहाले सुरक्षा कर्मीलगायत राहतका सामग्री तयारी अवस्थामा राख्न अनुरोध समेत गरिएको छ । यस्तै नागरिक समाजले पनि जिल्लामा विपद् पूर्व तयारीको लागि काम गरिरहेको जनाएको छ ।