सडकमा मकै पोलेर चलेको जितबहादुरको दैनिकी

सडकमा मकै पोलेर चलेको जितबहादुरको दैनिकी

सरिता चौधरी दाङ,
घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले निथ्रुक्क भिजेको छ । दिनहुँ चिम्टा समाउँदा ठेला परेका छन्, हात । कोइला र मकैसँगै दैनिकी चलाइरहेका उनको मुहार कोइलाकै दागले भरिएको छ ।
 
दाङको लमही बसपार्कमा मकै पोलेर जीवन चलाइरहेका उनी, सुर्खेत जिल्ला निवासी जितबहादुर खड्का हुन् । ३६ वर्षीय खड्काले लामो समयदेखि मकै पोल्दै आएका छन् । त्यहीबाट आएको पैसाले उनले ४ जनाको परिवारसमेत पाल्दै आएका छन् । ‘मेरो आम्दानीको अन्य स्रोत छैन । त्यसैले चारै जना मकै पोल्ने काम गर्छौ’, खड्काले भने– ‘त्यहीबाट कमाएको पैसाले परिवार चलाउँदै आएका छौँ ।’
 
दिनभर मकै पोलेर करिब आठ सय रुपैयाँ कमाउने गरेकोसमेत उनी बताउँछन् । केही नहुनुभन्दा सडकमै मकै पोलेर भए पनि घर व्यवहार धान्ने पैसा आउने गरेको श्रीमती ममता खड्का बताउँछिन् । घरको अन्य आम्दानीको कुनै स्रोत नभएको उनले बताइन् । ‘दिनभरि मकै पोल्दा ८ सय जति कमाइ हुन्छ’, उनले भनिन्– ‘त्यही पैसाले हो साँझ बिहानको छाक टार्ने र लत्ताकपडा किन्ने पनि ।’ उनले कमाई गरेको पैसा खान लाउनसँगै कोठा भाडा तिर्ने र छोराहरूको पढाई मै सकिने गरेको बताइन् ।
 
उनले देउखुरी क्षेत्रमा बाह्रै महिना मकै खेती हुने गरेका कारण पनि आफूहरूलाई जीवन धान्न सहज भएको बताइन् । ‘देउखुरीमा बाह्रै महिना मकै उत्पादन हुने भएकाले पनि हामीहरूलाई जीवन धाउन सजिलो भएको छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट २ छोराको पढाइ खर्चको जोहो गर्ने र परिवार पाल्दैमा सकिने र लकडाउनका कारण २ छोरालाई पनि यही व्यवसायमा लगाएको मकै व्यापारी खड्का बताउँछन् । उनले पोलेको मकै प्रतिकोसा २० रुपैयाँ र नपोलेको मकै १५ रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् । #MeroReport #SBRB #PSAK