एक हजार चौंतीस जना व्यापारीलाई कोरोना विरुद्धको खोप

एक हजार चौंतीस जना व्यापारीलाई कोरोना विरुद्धको खोप

अछाम
    साँफेबगर नगरपालिकाका नगर क्षेत्रका व्यापारीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । अछाम उद्योग वाणिज्य संघमा आबद्ध तथा नगरक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका १ हजार ३४ जनालाई खोप लगाइएको साँफेबगर स्वास्थ्य शाखाका निमित्त प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिनुभयो । संघमा आबद्ध तथा नगरक्षेत्रमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुलाई साँफेबगर नगरपालिका वडा नं. ३ सिद्देश्वर स्थित शहरी किल्निक र वडा नं. ४ मष्टमान्डौं स्थित निरंकारी भवनमा भेरोसेल खोप लगाइएको निमित्त प्रमुख योगीले जानकारी दिनुभयो ।

     साँफेबगर नगरपालिका वडा नं. ३ सिद्देश्वरस्थित शहरी किल्निकमा दुई दिनमा २ सय ९८ जना पुरुष र २ सय ३२ महिला गरी ५ सय ३० जना व्यापारीलाई खोप लगाइएको सिद्देश्वर स्वास्थ चौकी ईन्चार्ज योगेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो । यस्तै वडा नं.४ मष्टमान्डौं स्थित निरंकारी भवनमा दुई दिनमा २ सय ८८ महिला र २ सय १६ पुरुष गरी ५ सय ४ जना व्यापारीलाई खोप लगाएको मष्टमान्डौं स्वास्थ्य चौकीका न्चार्ज शेरबहादुर भूलले जानकारी दिनुभयो ।

     अछाम उद्योग वाणिज्य संघ र होटल व्यावसायीको आग्रहमा व्यापार व्यवसायीलाई खोप लगाएको उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले साँफेबगर नगरपालिकालाई धन्यवाद दिनुभएको छ । उहाँले जिल्लाका नौ वटै स्थानीय तहसँग पनि सम्पुर्ण व्यापार व्यवसायीलाई खोप लगाउनको लागि पहल गर्ने पनि जानकारी दिनुभयो । सरकारले ५० वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह-चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाइने भनेर मापदण्ड बनाएको थियो।