भदौ १८, गिरुवारी नवलपरासी बर्दघाट सुस्ता पूर्वको गिरुवारीमा हरेक वर्ष आयोजना हुँदै आइरहेको युनाईटेड गोल्ड कप यस वर्ष यही भदौ २२ गतेबाट सुरु हुने भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल उद्देश्य सहित हरेक वर्ष हरितालिका तिजको अवसर पारि युनाईटेड युवा क्लबले आयोजना गर्ने फुटबल प्रतियोगितामा देशभरका चर्चित क्लबहरूले सहभागिता जनाउने युवा क्लबका सचिव गोकुल सारूले बताए ।
हुप्सेकोट गाउँपालिका वडा नं. ३ स्थित श्री सरस्वती संस्कृत तथा साधारण उच्च माविको प्राङ्गणमा २२ गते दिउँसो साढे तिन बजेबाट सुरु हुने खेलका लागि भदौ १९ गते भित्र दर्ता भएको टिमहरू मात्रै समावेश हुन सक्ने सचिव सारूले जानकारी दिए । उनका अनुसार युनाईटेड गोल्ड कप प्रतियोगितामा प्रतिस्पर्धा गर्न जिल्ला भित्रको एक टिमले ११ हजार १ सय ११ रुपैयाँ ईन्ट्रि फी बापत बुझाउनु पर्नेछ भने जिल्ला बाहिरको टिमको ईन्ट्रि फी भने खेलपछि फिर्ता हुनेछ ।
जिल्लामै सबैभन्दा धेरै पुरस्कार राशि सहितको प्रतियोगिताको विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक प्रेमध्वज सारू मगरले बताए । त्यस्तै प्रतियोगिताको फाईनलसम्म पुग्ने टिमले १ लाख ३५ हजार ५ सय ५५ नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारूका अनुसार सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार ५ सय ५५ सहित उत्कृष्ट खेलाडी, बढी गोल गर्ने खेलाडी, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ ।
यसअगाडिका खेलहरूमा एउटै टिममा धेरै बिदेसी खेलाडीहरूलाई समावेश गराइए पछि यस वर्ष भने एउटा टिमले बढीमा ३ जना मात्रै बिदेसी खेलाडिलाई खेलाउन पाउने नयाँ नियम समेत बनाइएको क्लबका अध्यक्ष हरि थापा मगरले बताए । टिम दर्ताको गर्नको लागि मुक्तिनाथ विकास बैङ्कको खाता नं। १०७१०२०००९५९५८०००००२ मा ईन्ट्रि फी जम्मा गरी उक्त भौचर bdtamu4u@gmail.com इमेलमा पठाउन सकिने वा सम्बन्धित व्यक्ति एवं संस्थालाई पनि दिन सकिने अध्यक्ष मगरले बताए ।
हुप्सेकोट गाउँपालिकाको गौरवको रूपमा रहेको प्रतियोगितामा नवलपरासी पूर्व पश्चिम सहित, चितवन, रुपन्देही, पाल्पा, काठमाडौँ लगायत जिल्ला एवं राष्ट्रिय स्तरका क्लबहरूको समेत सहभागिता रहने बताइएको छ । खेललाई अनुशासित र मर्यादित बनाउनको लागि क्लब एक्लैले नसक्ने भन्दै सम्पूर्ण हुप्सेकोटवासिको साथ र सहयोगले प्रतियोगिता सफल हुनेमा विश्वस्त रहेको अध्यक्ष मगरको भनाई छ ।
-प्रकाश गुरुङ