स्थानीय तह चुनावको मौन अवधि: के गर्न हुने, के नहुने !

मालती कुँवर । काभ्रे

स्थानीय तह निर्वाचनको मौन वैशाख २८ गते मध्यरातबाट सुरु हुँदै छ । दलहरू चुनावको अन्तिम प्रचारमा छन् । २८ गते मध्यरात १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।

यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरूले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता सालिकराम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार सामाजिक सञ्जालहरूबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरूलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे÷नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर ब्युरोलाई दिइएको छ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मौन अवधिमा सञ्चारमाध्यमहरूले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

- Mero Report