सेवा प्रवाह गर्ने निकाय अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई सास्ती

काभ्रे जिल्लाका अधिकांश सेवा प्रवाह गर्ने निकाय अपाङ्गमैत्री नहुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लामा निर्माण गरिएका सरकारी तथा गैरसरकारी कार्यालयका भवनहरु अपाङ्गमैत्री नहुदा समस्या भएको नमोबुद्ध नगरपालिका वडा नं ४ भकुण्डेवेसीका शारीरिक अपाङ्गता हुनुभएका सुनिता चिमोरियाले गुनासो गर्नुभयो । स्थानिय तहहरुले निमर्माण गरेका नयाँ भवनहरु अपाङ्गमैत्री छन् यद्यपि प्राय स्थानिय तहले पुरानै भवनहरुबाट सेवा प्रवाह गरिरहेकाले सेवाग्राही मारमा परेका हुन् । नयाँ बनेका भवनहरु पनि पूर्ण रुपमा अपाङ्गमैत्री छैनन् । अपाङ्गगता भएका व्यक्तिहरु भन्ना साथै शारीरिक अपाङ्गगता भएको व्यक्तिहरुलाई मात्र बुझ्ने र त्यही अनुसार संरचना निमार्ण हुनेहुदा अरु प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परेको नेपाल अपाङ्ग महिलासंघ काभ्रे जिल्ला महासचिव पम्फा पुकुर्टी बताउनुहुन्छ । सरकारी कार्यालयमा कामकाजको सिलशिलामा जाँदा धेरै वटा कोठा धाउनुपर्ने हुन्छ तर अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गमैत्री संरचना निमार्ण नहुँदा निकै कठिन हुने गरेको उहाँ बताउनुहुन्छ ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई १० प्रकारमा विभाजन गरेको छ । जिल्लामा भने शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धि, वहिरा, बौद्धिक अपाङ्गता र मनोसामाजिक अपाङ्गता भएकाहरु धेरै रहेको महासचिव पुकुर्टीको भनाई छ । कार्यालयहरू मात्र होइन सडकहरु पनि अपाङ्गमैत्री नभएका कारण आफूहरू विभिन्न प्रकारका अवसरबाट वञ्चित हुनु परेको चिमोरिया बताउनुहुन्छ । शौचालाय अपाङ्गमैत्री नहुदा विषेशगरी महिनावारी भएको समयमा धेरै नै समस्या भोग्नु परेको उहाँको अनुभव छ । अपाङ्गमैत्री भौतिक संरचना बनाउन २०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना बनाउन सञ्चार निर्देशिका जारी गरिएको भएपनि त्यसको कार्यान्वयन नगरी भवन निर्माण गर्नाले समस्या उत्पन्न भएको अधिकारकर्मीहरु बताउँछन् ।
नगरपालिकामा आएका सेवाग्राहीलाई आफन्तको सहयोगमा मात्र सेवा प्रदान गर्न सकिएको पनौती नगरपालिका जेष्ठ नागरिक, बालबालिका तथा महिला शाखा अधिकृत लक्ष्मी पोखरेलको भनाइ छ । धेरै पहिले नै बनिसकेको संरचना भएकाले अपाङ्गमैत्री नभएको उहाँको भनाइ छ । उहाँका अनुसार ह्विलचियर लैजान सक्ने अवस्था भएपनि, दृष्टि विहिन र बहिरा व्यक्तिहरुको लागि भने समस्या नै रहेको छ । दोहोरो कुराकानीको लागि लेख्न र पढ्न सक्ने बाहेक अरुको लागि परिवारका सदस्यको सहयोग लिनु पर्छ । यसैगरी बनेपा नगरपालिकामा पनि दोभाषे छैनन् । दृष्टि विहिनहरुको लागि पनि सेवा प्रवाहमा समस्या नै हुने गरेको महिला तथा बालबालिका शाखा अधिकृत विजया सुवेदी बताउनुहुन्छ । सामान्य अवस्थामा पनि संचारमा समस्या हुने भएकाले परिवारको कोही सदस्य अनिवार्य उपस्थित गराउनुपर्ने अवस्था भएकाले सेवा लिने दिने दुबैलाई अफ्ठेरो नै भइरहेको उहाँ बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालयको स्थायी भवन छैन । अस्थाई भवन सबै भूइँतले भएकाले शाारीरिक रुपमा अशक्त व्यक्तिहरुको लागि धेरै समस्या नभएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल बताउनुहुन्छ  । अरु प्रकारका आपाङ्गता भएका व्यक्तिहरूको लागि भने सेवा प्रवाहमा समस्या नै हुने गरेको उहाँको भनाइ छ । आपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई ध्यानमा राखेर आगामी दिनमा बन्ने भवन भने अपाङ्गमैत्री हुनेमा उहाँ प्रतिवद्ध हुनुहुन्छ ।  
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा काम गर्ने सघंसस्थाले पनि अपाङ्गमैत्री संरचनका विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अपाङ्गमैत्री संरचना निमार्ण गर्न पहल गरिरहेका छन् । यद्यपी त्यसको सुनुवाइ खासै नहुने स्रोत व्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र(रिमरेक)का परियोजना प्रबन्धक राजन गौतम बताउनुहुन्छ । सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई अपाङ्गमैत्री बनाउन सम्बन्धित निकायको ध्यानकर्षण गराएको भएपनि सुनुवाइ कम नै हुने उहाँको भनाइ छ । परियोजना सञ्चालन भएको मण्डदेउपुर नगरपालिका र भुम्लु गाउँपालिमा भने रिमरेककै पहलमा केही संरचना आपाङ्गमैत्री रहेको उहाँ बताउनुहुन्छ ।
जिल्ला समन्वय समितिको भवन पनि पूर्ण अपाङ्गमैत्री छैन । विस्तारै अपाङ्गमैत्री बनाउदै लैजाने जिसस प्रमुख दिपक कुमार गौतम बताउनुहुन्छ । स्थानिय तहहरुमा अनुगमनमा जादा मैत्रीपूर्ण भवन नबनेको ठाउँमा पुनःनिमार्ण समेत गर्न लगाएको उहाँको भनाई छ । आगामी दिनमा अपाङ्गमैत्री संरचना निमार्णमा आफुले सकेको पहल गर्ने उहाँले जानाउनुभयो ।
अपाङ्गमैत्रीलाई भौतिक संरचनासँग मात्र जोडेर हेर्न नहुने नेपाल अपाङ्ग महिलासंघ काभ्रेको भनाई छ । उहाँका अनुसार, ‘कार्यालय छिर्ने ढाकोकामा थोरै र्याम्प राखिदिने अनि हाम्रो संरचना अपाङ्गमैत्री छ भन्नुहुन्छ । जबकी प्रमुख, उपप्रमुखको कक्ष नै ३÷४ तला माथि हुन्छ । कुनै कुनै बाहेक महिला बालबालिका शाखा पनि माथिल्लो तलामा नै हुन्छ । सबैभन्दा धेरै काम पर्ने व्यक्तिसँग नै भेट हुन गारो हुन्छ ।’ अपाङ्गमैत्री शैचालय बनेको छ भन्ने स्थानिय तहको शैचालयमा कोही अपाङ्गता भएको व्यक्ति गयो भने ढोकाको चुक्कुल लगाउन समेत समस्या हुने उहाँ बताउनुहुन्छ । मापदण्ड अनुसार अपाङ्गमैत्री संरचना नबनेकाले धेरै नै सास्ति खेप्नुपरेको उहाँको भनाई छ । ‘दोभाषेको व्यवस्थापन गरिदिनुभएको छैन ।’ उहाँ थप्नुहुन्छ, ‘महिला शाखाका व्यक्तिलाई साँकेतिक भाषा आउदैँन । सम्बन्धित कुरा उहाँहरुसँग हुन्छ तर संचार हुनै नसकेपछी सेवाबाट नै पनि बञ्चित हुनुपरेको अवस्था छ ।
स्पाईनल इन्जुरी भएका बनेपा नगरपालिका वडा नं ११ का महेश्वर थापा कतिपय पालिकामा माथिल्लो तल्लामा जान समस्या भएर तल बोलाउदा सम्बन्धित व्यक्ति नआउने गुनासो गर्नुहुन्छ । उल्टै विस्तारै भएपनि माथि नै आउन आग्रह गर्ने गरको अनुभव सुनाउदैँ उहाँ भन्नुहुन्छ, ‘अपाङ्गता भनेको सबै एकै किसिमको हुन्छन् र समस्या पनि एउटै हुन्छ भन्ने खालको सोचाइले हामीलाई सेवा लिन समस्या हुनेगरेको छ ।’ बनेपा नगरपालिका वडा नं ९ का दृष्टिविहिन विवेक शाक्यलाई पनि सरकारी तथा गैरसरकारी कार्यलय जादा धेरै समस्या हुन्छ । केही सूचना प्रकाशित भयो भन्ने खबर थाह हुन्छ तर पढ्लाई आखाँले साथ दिदैँन । यस्ता कार्यालयमा पढेर सुनाईदिने कोईपनि हुदैँन न त ब्रेललिपि ।
रोशी गाउँपालिका महिला विकास निरिक्षक प्रज्वला राई भन्नुहुन्छ, ‘सेवा प्रवाह गर्ने सबै कार्यालयहरू अपाङ्गमैत्री छैनन् । कार्यालयमा सेवा लिन गएका अपाङ्गता तथा अशक्त व्यक्तिहरूलाई बोकेर कार्यालय भित्र लैजानुपर्ने अवस्था छ । हाम्रो पालिका भौगोलिक रुपमा पनि विकट भएकाले अपाङ्गमैत्री संरचना निर्माण भएको छैन । हामीले सकेसम्म सेवाग्राहीलाई सहज होस् भन्ने तवरले काम गरिरहेका हुन्छौँ तर पनि सम्भव हुदैँन ।’
जिल्लाको सदरमुकाम समेत पर्ने धुलिखेल नगरपालिकाले भने अपाङ्गतामैत्री नगरपालिका घोषणा गर्ने नीति लिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षणका लागि अपाङ्गतामैत्री पदमार्ग निर्माण तथा नगरपालिकाका संरचनाहरुलाई अपाङ्गतामैत्री बनाउन जोड दिँदै धुलिखेल नगरपालिकालाई अपाङ्गतामैत्री घोषणा गर्ने बताउनुभयो । आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटमा नै  अपाङ्गतामैत्री नगरपालिका निर्माणको विषय प्राथमिकतामा राखिएको उहाँको भनाई छ ।
अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने कुनै पनि सरकारी वा गैरसरकारी संरचना मापदण्ड अनुसार पूर्ण अपाङ्गमैत्री बनेका छैनन् । पछिल्लो विवरण अनुसार जिल्लाका स्थानिय तहले जम्मा ३ हजार ९ सय लाई अपाङ्गता परिचयपत्र विवरण गरेको छ । जसमा बनेपा नगरपनलिकामा ३ सय ५७, धुलिखेलमा १ सय ४१, पनौतीमा ३ सय ३०, पाँचखाल ४ सय ५८, मण्डनदेउपुर ५ सय २७ र नमोबुद्द ३ सय ३२, बेथानचोक गाउँपालिकामा १ सय ५१, खानिखोला १ सय ८८, रोशि ५ सय ५४,  चौरिदेउराली ४ सय ५०, भुम्लु ४ सय १२ रहेको छ । पूर्ण अपाङ्गमैत्री संरचना नबन्दा यस्ता धेरै व्यक्ति सेवाबाट बञ्चितहुनु परेको छ ।