सामाजिक सञ्जाल र ईन्टरनेटको लत, आमाबाबुसँग विग्रदो सम्बन्ध

हाल विश्वमै सबैभन्दा धेरै सूचना सम्प्रेषण गर्ने माध्यमको रुपमा रहेको सामाजिक सञ्जाल अहिले कतिपय मानिसका लागि जाल बनेको छ । बच्चादेखी बृद्धसम्म सामाजिक सञ्जालमा झुम्मिने जमात दिनानुदिन बढ्दो छ । मानिस र समुदायको बीचमा अन्तक्र्रियामार्फत विचार, रुचि, ज्ञान, मनोरञ्जन, जानकारी एकआपसमा आदानप्रदान गर्ने सशक्त माध्यम बनेको  सामाजिक सञ्जाल मनोरञ्जनको लागि अत्याधिक प्रयोग भएको पाईन्छ । सामाजिक सञ्जालमा मिलेको क्षणिक खुसीले घरपरिवार बिग्रेको, नाता सम्बन्धमा दरार आएको, डिप्रेसन, एन्जाईटी, विभिन्न आपराधिक क्रियाकलाप बढेको कुरा सामाजिक सञ्जालमा नै देख्न सकिन्छ ।
विषेशगरी पछिल्लो समय बालबालिकामा सामाजिक सञ्जालले धेरै नकरात्मक असर पनि पारेको छ । उनिहरु परिवारसँगभन्दा सामाजिक सञ्जालमा समय व्यथित गराउन चाहन्छन् । सामाजिक सञ्जालको प्रयोगले स–साना बालबालिकाको नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास आउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय बर्बाद गरिदिएको छ । खाना खुवाउनको लागि समेत सामाजिक सञ्जालको सहारा लिनुको परेको बताउनुहुन्छ पनौती नगपालिका वडा नं ९ सुनथानका विमल कुवँर । सामाजिक सञ्जाल र ईन्टरनेटको लतले छोराछोरी, आमाबाबुसँग सम्बन्ध टाढिदैँ गएको महशुस हुने उहाँ बताउनुहुन्छ ।
अहिले सामाजिक सञ्जालका धेरै रूप छन् । बालबालिकाहरुले गेम र मनोरञ्जनको लागि धेरै सामाजिक सञ्जालको प्रयोग गरेको पाईछ तर कुनमा बढी रमाउछन् भनेर यकिन नै गर्न नसकिने अभिभावहरु बताउछन् । विकिपिडियाका अनुसार फेसबुक अहिले विश्वको सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जालमध्येको एक हो । युट्युब, इन्स्टाग्राम, ट्विटर, टिकटक र लिंकडेनका पनि धेरै प्रयोगकर्ता छन् । हरेक सामाजिक सञ्जालका आ–आफ्नै विशेषता भएकाले यिनको प्रयोग विश्वभरि एकैनास छैन । बालबालिकाहरुलाई सामाजिक सञ्जालको सदुपयोगको ज्ञान कम हुन्छ । अझ दुरुपयोग कसरी हुन्छ भन्ने बारेमा समेत उनिहरुलाई ज्ञान हुदैँन । किन प्रयोग गर्ने, कसरी गर्ने, कस्ता सावधानी अपनाउने जस्ता कुरामा उनीहरु बेखबर हुन्छन् । त्यसैले बेचबिखन, अनलाईन बुलिङ जस्ता घटनामा बालबालिका नै धेरै तानिएका हुन्छन् । धुलिखेल नगरपालिका वडा नं ४ का संगिता मगर भन्नुहुन्छ, ‘छोराछोरी सानै छन् । सधै निगरानी  राख्न पनि सकिदैँन पछी गएर कतै नराम्रो काममा फस्छन् की भन्ने पनि डर लाग्छ । मोवाईल विना त एक छिन् बस्न मान्दैँनन् । मोवाइल नदिउ भने आत्महत्या नै गर्लान् की भन्ने पनि डर लाग्छ ।
समाजिक सञ्जालले बालबालिकालाई आमाबुबासँग मात्र टाढा बनाएको छैन । आफ्नो धर्म, संस्कृती, भेषभुषा, रहनसहन सबैसँग पर बनाएको छ । पश्चिमा संस्कृतीको ग्रहण गर्नेको लर्को बढ्नुमा समाजिक सञ्जालको अहम भूमिका छ ।     १८ वर्षमुनिका बालबालिकाहरूको सामाजिक सञ्जालमा उपस्थिति ह्वात्तै बढेको छ । यो अत्यन्तै डरलाग्दो विषय हो । आमाबुवाको सिको गर्दै जथाभावी सामाजिक सञ्जालमा रमाउने बालबालिबाकालाई पढाई बोझ हुन थालेको छ । एउटा स्कुले छात्रछात्राको फेसबुकमा पाँच हजारभन्दा बढी साथी हुन्छन् । उनिहरु एकअर्कोलाई न त कहिले देखेका हुन्छन् न त भेटका । तर कमेन्ट मात्र हेर्ने हो भने पनि बर्षौ पहिलेको सम्बन्ध जस्तो देखिन्छ । अनलाईन बुलिङ यसैको एउटा उदाहरण हो ।
छोराछोरीको मन भुलाउने र मन बुझाउने बाहनामा परिवारले पनि आफ्ना बालबच्चालाई मोबाई, डेस्कटप कम्प्युटर, ल्यापटप, ट्याबलेट लगायतका उपकरण दिन्छन् । जसकारण बालबालिका परिवारसँग भन्दा धेरै इन्टरनेट फोरम, वेबलग, सामाजिक ब्लग, माइक्रोब्लगिङ, विकी, पोडकास्ट, तस्बिर भिडियो, चलचित्र जस्ता कुरामा झुम्मिन थाल्छन् । सामाजिक सञ्जालमा उनीहरु जति सक्रिय हुँदैछन्, उत्तिनै असुरक्षित पनि । बालबालिका सामाजिक सञ्जालमा नै धेरै सक्रिय हुन थालेकाले एकोहोरो हुदैँ आएको पनौती नगरपालिका वडा नं ७ मा रहेको पुण्य माद्यमिक विद्यालयमा प्रद्यानाध्यापक सरस्वती कणेल बताउनुहुन्छ । ‘सामाजिक सञ्जालको कारण अभिभावकसँग कम बाल्ने र बोल्दा पनि झर्को मान्ने गरेका छन् ।’ कणेलले भन्नुभयो ।
बालबालिकाले फेसबुक, ईन्स्टाग्राम जस्ता माद्यममबाट फोटो, भिडियो राख्छन्, अपरिचित साथीहरुसँग जोडिन्छन्, सबैसँग विश्वास गरेर आफ्नो निजी कुरा साझेदार गर्छन् । यसले उनीहरुको व्यक्तिगत सुरक्षा खतरा बढेर जान्छ । मण्डनदेउपुर नगरपालिका वडा नं १० मा रहेको उमा सह माद्यमिक विद्यालयका प्रद्यानध्यापक भन्नुहुन्छ, ‘यस्ता सामाजिक सञ्जालको जालोमा धेरै बालबालिका परेका छन् । उनिहरुले साझेदार गरेका उनिहरुको नीजि कुरा, फोटो भिडियो नै भोलीको दिनको उनिहरुको लागि फन्दा बन्न सक्छ । उनीहरुको फोटो÷भिडियो÷च्याटको दुरुपयोग गरेर अनेक मोलमोलाई हुन सक्छ । त्यसकारण बेलैमा सचेत हुन जरुरी छ ।
विकसित देशमा बालबालिकालाई इन्टरनेटको अत्यावाश्यक परे मात्र प्रयोग  गर्न दिन्छन् ।  सामाजिक सञ्जालको प्रयोग पनि निकै कम हुन्छ । विकसित देशमा अभिभावकले प्रत्यक्ष निगरानी गर्न मिल्ने फेसबुक मेसेन्जर एप बजारमा आएको छ । साथै, बालबालिकाले चलाउन मिल्ने सामाजिक सञ्जालका एपहरू पनि विकास भइरहेका छन् । यस्ता एपले आफ्ना सामग्रीले बालबालिकामा पार्ने असरका बारेमा सूक्ष्म विश्लेषण गर्छन् र सुरक्षित लागेमा मात्र प्रसारण गर्छन् । हाम्रोजस्ता विमासोन्मुख देशमा यस्ता प्रविधिको विकास भएको छैन । त्यसकारण आफ्ना बालबालिकामा अभिभावकले पनि विदेश चासो दिन जरुरी छ । यस्तो  संवेदनशील विषयमा नेपाल सरकारले ठोस कदम चाल्नु जरुरी छ भने विद्यालयहरुले पनि यो विषयमा विषेश ख्याल राख्नुपर्छ । एक दिनको तालिम र गोष्ठि राखेर मात्र यस्तो समस्या समाधान हुदैँन । पछिल्लो समय बालबालिका माथि सामाजिक सञ्जालले पढाएको आपाराधिक क्रियाकलापमा तिनै तहको सरकारको ध्यान जानुपर्छ ।