डडेलधुरामा शव वाहन नहुँदा समस्या

डडेलधुरामा शव वाहन नहुँदा समस्या

ममता भट्ट, डडेलधुरा, असोज १७  

सात वटा स्थानीय तह रहेको डडेलधुरामा एउटा पनि शव वाहन नहुँदा समस्या भएको छ । जिल्लामा शव वाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा निकै सास्ती हुने गरेको छ । जसले गर्दा जिल्लावासी मात्र नभई सुदूर पश्चिमका सात पहाडी जिल्लाका नागरिक नै मर्कामा परेका छन् । 

सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेलधुरा अस्पताल डडेलधुरामा छ । तर शव वाहनको व्यवस्था भने हुन सकेको छैन । कोरोना कहरको समयमा समेत जिल्लामा शव वाहन नहुँदा कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा उनीहरूका आफन्तले निकै सास्ती खेप्नु परेको थियो । 

जिल्लामा एउटा पनि शव वाहन नहुँदा डडेलधुरा अस्पताल मात्र नभई जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर लैजानु पर्ने बाध्यता छ । निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरू समस्यामा पर्ने गरेका छन् ।

शव वाहन नहुँदा नागरिकले शवलाई महँगो भाडा तिरेर जिप र ट्याक्टरमा बोक्ने गरेका स्थानीय रिदम भट्टले बताए । शव परीक्षण तथा अन्त्येष्टि गर्नुपर्दा भने निकै समस्या हुने गर्दछ । तर अहिलेसम्म कुनै पनि स्थानीय तहले यसको लागि पहल समेत नगरेको उनले गुनासो गरे । 

अति आवश्यक रूपमा रहेको शव वाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने डडेलधुरा अस्पताल डडेलधुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए । 

स्थानीय तहले महँगो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरिद गरे पनि अत्यावश्यक अवस्थामा चाहिने शव वाहन किन्नका लागि भने चासो नदेखाएका स्थानीयको गुनासो छ । अब भने जिल्लामा शव वाहन निर्माणका लागि जुट्ने डडेलधुराका स्थानीय तहहरूले जनाएका छन् । 

- Mero Report