समुदायका सारथि स्वास्थ्य स्वयंसेविका, सम्मान पाउँदा दङ्ग

समुदायका सारथि स्वास्थ्य स्वयंसेविका, सम्मान पाउँदा दङ्ग

"महिला स्वास्थ्य स्वयंसेविकाको काम र सेवा भावको अनुभव सुन्दा

उनीहरू समुदायका हिरो नै हुन्"

चाँदनी आचार्य

कैलालीको गौरीगंगा नगरपालिकाले समुदाय स्तरमा स्वास्थ्यका क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई बेलाबेलामा विभिन्न खाले सेवा सुविधा दिएर उनीहरूलाई खुसी दिनुका साथै काम गर्ने उत्साह थपेको छ । 

सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्यमा पहुँच पुर्‍याउन समुदाय स्तरसम्म पुलको काम महिला स्वयंसेविकाले गर्दै आएका छन् । नजिकको सरकार भनेको स्थानीय सरकार हो, उनीहरूको परिश्रमलाई मूल्याङ्कन गर्दै प्रत्येक वर्ष स्थानीय तहले उनीहरूका लागि सेवा सुविधा पनि बढाउँदै गएको छ । 

गौरीगंगा नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरका ११ वडामा ७४ जना महिला स्वास्थ्य सेविका कार्यरत छन् । 

सुरुमा २ वटा स्वास्थ्य संस्था मात्र रहेको गौरीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि अहिलेसम्म ११ वटा वडामा स्वास्थ्य संस्था रहेको र प्रत्येकबाट स्वास्थ्य सेवा दिने गरिन्छ । निःशुल्क सेवा दिइरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई समेत स्थानीय सरकार आएपछि सहज हुँदै गएको छ । हरेक वर्ष उनीहरूको सुविधा बढ्दै गएको छ ।

स्वास्थ्यका क्षेत्रमा सरकारले जति नै धेरै लगानी गरे पनि तल्लो स्तरसम्म जनतासँग जोडिएर काम गर्ने महिला स्वयंसेविकाको सहयोग लिनै पर्छ ।  जनतासँग नजिक महिला स्वयंसेविका रहन्छन् । उनीहरू घरघर पुगेर सूचना दिने काम होस या सामान्य स्वास्थ्यका जनचेतना जगाउने अभियानका कार्यक्रम किन नहुन् खोप, भिटामिन खुवाउने कार्यक्रममा समेत उनीहरू घरघरमै पुग्ने गरेको स्थानीयले बताए । 

उसो त स्वास्थ्य स्वयंसेविकाका लागि सरकारले तलब भत्ताको व्यवस्था नगरे पनि उनीहरूको पोसाक भत्ता, मासिक भत्ता र यातायात भत्ता दिने व्यवस्था गर्नुका साथै हालै मात्र साइकलसमेत उपलब्ध गराएको छ । खाली खुट्टा र भोको पेट त कोही पनि हिँड्न सक्दैन, भन्नलाई स्वयंसेविका भनिए पनि उनीहरूले दिने समय, पारिवारिक समस्या, व्यक्तिगत समस्यालाई मध्यनजर गर्दै सरकारले दिने सेवा सुविधामा महिला स्वास्थ्य स्वयंसेविका पनि खुसी नै देखिन्छन् । त्यति मात्र हो र स्थानीय सरकारले त लामो काम गरिसकेका ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकालाई अवकाशसँगै स–सम्मान बिदाइ  गर्ने व्यवस्था गरेको छ ।

ससम्मान बिदाइ हुँदा साथीसँग छुट्टिन गाह्रो

‘२० हजार जिल्ला स्वास्थ्य कार्यालय, २० हजार नगरपालिकाबाट पाएँ, दोसल्ला ओढाए, अबिर जात्रा गरे, हर्षका आँसुसँगै साथीसँग छुट्टिँदा मन अमिलो भयो ।’

उमेरले तीन वीस हिउँद कटेकी नरमादेवी ओलीले गत साउनमा गौरीगंगा नगरपालिकाले नगदसहित ससम्मान बिदाइ गर्दाको क्षण सम्झँदै सुनाउनुभयो । 

नरमा आफूलाई पुरस्कारसहित बिदाइ हुने खुसीभन्दा बढी चिन्ता सँगै काम गर्दाका साथीहरूसँग छुट्टिँदाको थियो ।

बिदाइका दिन ओलीले आफूले स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा बिताएका मिठा पललाई स्मरण गर्नुभयो । ‘म त औँठाछाप हो, लेख्न पढ्न आउँदैन, तालिममा नबुझेका कुरा साथीलाई सोधेर, सरहरूलाई सोधेर आफूले बुझ्थे अनि गाउँघरतिर सम्झाउने गर्थे । तालिममा सँगै गएको सरहरू दिदी बहिनीसँग हाँसेको बोलेको ठट्टा गरेको सम्झे, अब त तालिम, कुनै कार्यक्रममा भेटघाट हुन नपाइने होला भन्ने भयो मन भक्कानियो’ ओलीले बिदाइ हुँदै गर्दाको क्षण सुनाउनुभयो ।

डडेलधुराको अमरगढीमा जन्मनु भएकी ओलीले २०५८ सालदेखि कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ९ मा स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएको बताउनुहुन्छ ।

‘लेख्न पढ्न नजाने पनि मैले तालिम, गोष्ठीबाट सुनेका कुरा गाउँघरमा पुगेर सुनाउने र बुझाउने गर्थे, मैले भनेका कुरा गाउँघरतिर सबैले मान्थे । मैले भनेअनुसार गर्थे पनि,’ ओलीले विगत सुनाउनुभयो, ‘सरसफाइका कुरा सिकाइयो, गर्भवती महिलालाई खोपको जानकारी दिइयो, बच्चालाई खोपको जानकारी दिइयो, घरघर गएर पोलियो थोपा, भिटामिन, जुकाको औषधि अनि हात्तीपाइलेको औषधि खुवाइयो ।’

सामान्य लेखपढसमेत गर्न नजान्ने ओली समाजमा हक्की स्वभाव, जानेको कुरा सबैलाई भन्ने र सहयोगी भावनाका कारण आफू स्वयंसेविका भएर काम गर्ने अवसर पाएको बताउनुहुन्छ । 

उमेर पुग्यो अब काम गर्न मिल्दैन भने अनि के गर्नु त काम गर्ने रहर त थियो,’ काममा अझ जोस देखाउँदै ओलीले भन्नुभयो ।

उमेरको हदबन्दीपछि खाली हात जानुपर्ने बाध्यतालाई थोरै भए पनि खुसी थप्ने काम गौरीगंगा नगरपालिकाले गरेकोमा उहाँले नगर सरकारलाई धन्यवाद दिइरहनु भएको छ । 

सुविधाभन्दा सेवालाई प्राथमिकता

गौरीगंगा नगरपालिका वडा नं. ९ कै उर्मिलादेवी भुसाल २०४७  सालदेखि  स्वयंसेविकाको रूपमा कार्यरत हुनुहुन्छ । पाँच कक्षासम्म पढेकी भुसालले गाउँमै स्वास्थ्य स्वयंसेविकाको चर्चा सुनेपछि चौमाला पुगेर १२ दिने तालिम लिई अहिलेसम्म सेवामै समर्पित हुनुहुन्छ । सरकारबाट कुनै तलब सुविधा नलिएर दिनरात नभनी निःस्वार्थ भावले सेवा दिँदाको अनुभव सुनाउँदै भुसालले पछिल्लो समय सरकारले थोरै भए पनि आफूहरूको दुःख हेरेकोमा खुसी लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पहिला पहिला तालिम भत्ता ४० रुपैयाँ पाइन्थ्यो, त्यसपछि २०० भयो, अहिले त ४०० भएको छ । अब त हामीले पोसाक भत्ता पनि पाउने भएका छौँ । सकारले अवकाशको बेला नगदसहित सम्मान गर्ने व्यवस्था गर्दा काममा हौसला बढ्ने रहिछ ।’

स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी जत्ति नै बढी किन नहुन् महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका हरेक केन्द्रमा महत्त्वपूर्ण रहन्छ । सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविकाले वडाको स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम, गर्भवती चेकजाँच, मातृ शिशु कार्यक्रममा सहयोग पुर्‍याउने गरेको भुसालले जानकारी दिनुभयो ।

स्वयंसेविका भनेपछि उसै पनि बिना पारिश्रमिक भन्ने नै बुझिन्छ तर पनि समय परिस्थिति, बाध्यतालाई ध्यानमा राख्दै, न्यूनतम आवश्यकता पूरा गर्न सरकारले पोसाक भत्ता, साइकलको व्यवस्था, मासिक एक हजार यातायात खर्च दिने गरेकोमा आफूहरू सन्तुष्ट रहेको उहाँको प्रतिक्रिया थियो ।

११ वटा वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका आज पनि उत्ति नै महत्त्व छ । विभिन्न समयमा कार्यरत उनीहरूका अनुभव सुन्दा समुदायका हिरोजस्तै लाग्छ । पछिल्लो पिँढीका रूपमा रहनु भएका अर्का महिला स्वास्थ्य स्वयंसेविका अप्सराकुमारी कठायत गौरीगंगा नगरपालिका ८ मा कार्यरत हुनुहुन्छ ।

२०५७ मा एसएलसी पास गरेपछि घरमा खाली बस्नु भएकी कठायतलाई खाली बस्नुभन्दा समाज सेवा गर्न इच्छा जाग्यो । त्यसपछि महिला स्वास्थ्य स्वयंसेविका हुन पुगेको उहाँ सुनाउनु हुन्छ । २०६२ मा स्वयंसेविका बनेकी उहाँ अरूभन्दा पढेलेखेकी युवा हुनुभयो । त्यसैले धेरै महिला दिदीबहिनी उहाँलाई नबुझेको कुरा सोध्नुहुन्छ ।

समुदायमा स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा आफूले राज्यबाट केही पाउँला भन्ने आस होइन, समाजमा केही गरौँला भन्ने भावनासाथ लागेको कठायत बताउनुहुन्छ । 

‘मैले त छोटो समयमा धेरै चिज पाए, स्वयंसेविकाको जिम्मेवारी निर्वाहसँगै छरछिमेकबाट माया, सम्मान, समुदायबाट विश्वास, सङ्घ संस्थाहरूबाट सम्मान, राज्यबाट विभिन्न खालको सुविधा पाएकी छु’, कठायत भन्नुहुन्छ, ‘समाजमा नबुझेका अशिक्षित वर्गलाई स्वास्थ्यबारे दुई÷चार कुरा बुझाउने र उनीहरूले त्यहीअनुसार गरेको देख्दा साह्रै खुसी लाग्छ ।’

मैले हात्तीपाइले रोगको औषधि सेवन अभियानमा महिला स्वयंसेविकाको भूमिकाबाट राम्रो काम गरेबापत एउटा संस्थाले केही वर्षअघि काठमाडौँ बोलाएर सम्मान ग¥यो । आफू सम्मान हुँदाको क्षण सम्झँदै अप्सरा भन्नुहुन्छ, ‘हामी यसरी राष्ट्रिय रूपमा सम्मानित हुँदा सबैभन्दा जीवनमा कमाएको धन नै त्यही हो जस्तो लाग्छ, गर्व महसुस हुन्छ ।’ उहाँको जीवनमा भुल्नै नसक्ने खुसी त्यही सम्मानित भएको दिन हो रे ।

नीतिगत व्यवस्था

नेपालको संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकका रूपमा राखेको छ । संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सृजना राष्ट्रिय स्वास्थ्य नीति, २०७६ जारी भएको छ । त्यसै गरी स्थानीय तहको एकल अधिकार र काममा आधारभूत स्वास्थ्य र सरसफाइ उल्लेख भएकाले, स्थानीय स्तरमा आधारभूत स्वास्थ्यको उपयोग वृद्धि तथा सरसफाइ सुधारमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहने स्वास्थ्य विज्ञहरूको भनाइ रहेको छ । 

महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात २०४५ बाट भएको देखिन्छ । २०४७ मा पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविका रणनीति बनेपछि औपचारिक रूपमा यसले समुदाय स्तरमा विस्तार हुँदै गएको पाइन्छ । 

ग्रामीण क्षेत्रका आमा तथा बच्चाको स्वास्थ्य स्तरमा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्द्धनात्मक सेवा पुर्‍याउने उद्देश्यले यो सेवा थालिएको थियो ।

राष्ट्रिय  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ मा महिला स्वास्थ्य स्वयंसेविकाका सम्बन्धमा केही परिवर्तन गरेको छ । विवाहित, २५ देखि ४५ वर्ष उमेर समूहमा पर्ने दश कक्षा पास गरेको महिला कुनै राजनीतिक दलमा अबद्ध नभएको, नैतिक पतन नभएको महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा रहन सक्ने व्यवस्था गरेको छ । यसभन्दा अघि भएका महिला स्वास्थ्य स्वयंसेविकामा यो व्यवस्था लागू भएको पाइँदैन ।

गौरीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश भट्टले समुदाय स्तरको स्वास्थ्यबारे जानकारी आदानप्रदान गर्न स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताउनु हुन्छ । तीन तहको सरकारले उनीहरूलाई दिने सेवा सुविधामा थपघट हुने बताउँदै भट्टले नगरपालिकाले मासिक एक हजार भत्ता वार्षिक १० हजार पोसाक भत्ता, साइकल, यातायात भत्ता चार सयका साथै अवकाश हुँदा २० हजार नगदसहित बिदाइ गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

 ‘महिला स्वास्थ्य स्वयंसेविकाले मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सहयोग गरेका छन् उनीहरू समुदायका विश्वासिला पात्र पनि हुन्,’ प्रमुख भट्ट भन्नुहुन्छ, ‘सरकारले सेवा सुविधा बढाउँदै छ र बढाउनु पनि पर्छ ।’

गौरीगंगा नगरपालिका नगरप्रमुख भीमबहादुर देउवाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको बताउँदै यसले उहाँहरूमा उत्साह थपिने उहाँको बुझाइ छ ।

नगरप्रमुखले गाउँमा सामाजिक कार्यकर्ताको रूपमा रहेका स्वास्थ्य स्वयंसेविका सधैँ काममा खटिने नभए पनि आवश्यक परेका बेला जुटिहाल्ने भएकाले उनीहरूलाई मासिक भत्ता, पोसाक भत्ता, साइकल सहयोग गरेको स्पष्ट पार्नुभयो । उनीहरूको माध्यमबाट समुदाय स्तरमा स्वास्थ्यका सूचनाहरू पुग्नेसमेत देउवा दाबी गर्नुहुन्छ ।

- Mero Report