समायोजनपछि विद्यालय सुधार - १२ जना पढ्ने स्कुलमा ३ सय

समायोजनपछि विद्यालय सुधार - १२ जना पढ्ने स्कुलमा ३ सय

समायोजनपछिको विद्यालय सुधार  १२ जना पढ्ने स्कुलमा ३ सय पुगे
दीपक बोहरा , दाङ 

उदाहरण– १
घोराही उपमहानगरपालिका– ३ स्थित हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जना मात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि प्रभावकारी नभएपछि हरिद्वार प्राविलाई घोराहीनजिकको चौघेरा माविको जिम्मा लगाइयो । यो विद्यालय मर्ज गर्ने भन्ने हल्ला थियो । यसो गर्दा विद्यालयको सबै संरचना शून्य हुन्थ्यो । तर यहाँ फरक नीति लिइयो । घोराही उपमहानगरले नजिकैको राम्रो विद्यालयमा समायोजन गर्ने र त्यसले दुवैतर्फका विद्यालय सञ्चालन गर्ने गरी नीति कार्यान्वयन अघि बढायो । 

चौघेराको हरिद्वार प्राविलाई यही नीतिमा समेटियो । र, व्यवस्थापनसहित सबै जिम्मा चौघेरा माविलाई दिइयो । थोरै विद्यार्थी हुने विद्यालयमा सङ्ख्या ह्वात्तै बढेको छ । कुनै बेला पूरा विद्यालयमा १२ जना विद्यार्थी हुनेमा अहिले ३ सयभन्दा बढी रहेको प्रधानाध्यापक श्याम मल्ल बताउँछन् । ‘मर्ज  भनेर विद्यालय गाभ्ने भन्दा जुन विद्यालयमा कम  विद्यार्थी छन्, त्यसलाई नजिकै राम्रो ढङ्गले सञ्चालन भएकोलाई व्यवस्थापन जिम्मा  दिइएको  थियो । सोहीअनुसार हाम्रो नजिकै रहेको हरिद्वार विद्यालयलाई हामीले हेर्नुपर्ने भयो,’ उनले भने, ‘हाम्रो जिम्मेवारीमा त्यो विद्यालय आउँदा त्यहाँ १२ जना मात्रै पढ्थे । अहिले त्यही ठाउँमा तीन  सय  अध्ययन गरिरहेका छन् ।’ हरिद्वार र चौघेराको दूरी करिब डेढ  किलोमिटर मात्रै छ  ।

यस्तै कारणले कक्षा ५ सम्म पढाइ हुने विद्यालय कक्षा ३ सम्म पढाउने बनाइयो । ५ जना स्थायी शिक्षक रहेकामा ३ जनाको दरबन्दी अरू ठाउँमा गरियो । व्यवस्थापन अर्कोलाई दिएपछि यस वर्षबाट कक्षा ८ सम्म सञ्चालन गर्ने भएको  छ । शिक्षक दरबन्दी पनि पाँच जनाकै कायम  गरियो ।

विद्यालय  गाभ्नेभन्दा पनि नजिकको राम्रोले सञ्चालन जिम्मा लिँदा प्रभावकारी हुने रहेछ । विद्यालय राम्रोसित सञ्चालनमा आउन थालेपछि छुट्टै विद्यालयकै रूपमा सञ्चालन गरिने नीति पनि प्र अ मल्लले बताउनुभयो । ‘हामीले विद्यालय गाभ्नेभन्दा पनि राम्रो बनाएर पुनः आफ्नै अस्तित्वमा राख्ने योजना लिएका छौँ,’  मल्ल भन्छन्, ‘समुदायमा जहिल्यै विद्यालय  चाहिन्छ, त्यसैले हामीले  २÷३ वर्ष सञ्चालन गरेर पुनः त्यही समुदायलाई हस्तान्तरण गर्छौँ ।’

उदाहरण– २
घोराही उपमहानगरपालिकाकै वडा नं. १८ को आधारभूत विद्यालय मसिनाको इतिहास पनि उस्तै उस्तै छ । कुनै समय २० जना मात्रै विद्यार्थी अध्ययन र यस विद्यालयमा पनि व्यवस्थापन फेरिएसँगै सबै राम्रो भएको  छ । विद्यालय प्राङ्गण  गाईबस्तु चरण स्थल बन्थ्यो । जे भए पनि अभिभावकले चासो दिने होइन । कक्षा १ देखि ५ सम्म सञ्चालित सो विद्यालय जब रझेना माविमा समायोजित भयो, अनि मुहार फेरियो । 
त्यही विद्यालय हो, जम्मा २० जना पढ्न आउँथे । अहिले यही नर्सरी, एलकेजी, युकेजी कक्षा सञ्चालित छ । निजी विद्यालयको ‘मोडेल’ मा त्यो विद्यालय सञ्चालन गरिएसँगै ६० जना विद्यार्थी भए । रझेनाका प्र अ उद्धव न्यौपाने भन्नुहुन्छ, ‘विद्यालय हाम्रो जिम्मेवारीमा आएपछि निजी विद्यालयको मोडेलमा सञ्चालन गर्‍यौँ, अनि विद्यार्थी पनि बढे ।’

यहाँ पनि पहिला ५ स्थायी शिक्षक थिए । अहिले भने तीन स्थायी शिक्षक र एक जना सहयोगी कर्मचारी छन् ।

दाङ घोराहीका यी दुई विद्यालय त उदाहरण मात्रै हुन्, समायोजित विद्यालय ६ वटा छन् । यी सबै विद्यालय अहिले भने साँच्चै विद्यार्थी पढ्ने ठाउँजस्तो भएको छ । विद्यार्थी सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको छ । घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलका अनुसार विद्यालय सशक्त बनाउन व्यवस्थापन नै मजबुत हुनुपर्छ । यसको ज्वलन्त उदाहरण यस नगरका ६ वटा विद्यालयलाई हेर्दा थाहा पाइन्छ । आगामी दिनमा पनि व्यवस्थापनको मजबुत विद्यालयको जिम्मा दिने र शिक्षामा सुधार गर्ने योजना छ । समायोजन भएको एक वर्षमा ती विद्यालय आशातीत सुधार भएको उनको बुझाइ छ । 

उपमहानगर शिक्षा शाखा प्रमुख विनोद गौतमले सोही नीतिअनुसार घोराही ७ को घुस्रा प्राविलाई सौडियार माविमा, घोराही १० को बिपी वाटिकालाई सिद्धरत्ननाथ मावि नारायणपुरमा, घोराही ६ को गुरुवागाउँ प्राविलाई जदरागाउँ मावि र पक्वै प्राविलाई जयशेयर माविको व्यवस्थापन जिम्मा लगाइएको जानकारी दिनुभयो ।  २०७७ असारमा ती विद्यालयलाई समायोजन गरिएको थियो । एक वर्षभित्रै व्यवस्थापन अति राम्रो भएको छ । 

एक किलोमिटर दूरीका, पैदल आधा घण्टा वरपर भएका तर विद्यार्थी नभएका विद्यालयलाई नजिकको व्यवस्थित विद्यालयको जिम्मा लगाएको गौतमले बताए । देशभर गरिएको विद्यालय मर्ज भन्दा घोराहीको नीति प्रभावकारी देखियो,’ उनको दाबी छ, ‘यसले राज्यको दायित्व पनि कम हुने रहेछ ।’ 
समायोजन गर्दा विद्यालय प्रशासन मजबुत भएकाले नै सुधार आएको शिक्षा प्रमुख गौतमको बुझाइ छ । मर्ज गर्दा विद्यार्थी टाढाको विद्यालय जानुपर्ने भएकाले पनि समायोजन गर्दा सोही विद्यालयमै पढ्न पाउने हुँदा प्रभावकारी हुने उनको भनाई थियो । 

विद्यालय समायोजन गरेर नजिकको राम्रो विद्यालयलाई जिम्मा दिएपछि अहिले अभिभावक तथा विद्यार्थीमा पनि विश्वास बढेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी बताउनु हुन्छ । ‘सबैभन्दा ठुलो कुरा विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने खालको बनाउने हो,’ मेयर चौधरी भन्छन्, ‘त्यसपछि विद्यार्थी बढ्छन्, हामीले मर्ज गर्नेभन्दा पनि विश्वासको वातावरण तयार पार्ने योजना बनायौँ र अघि बढ्यौँ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्ने र अभिभावकले अपनत्व लिने हुँदा नीति ठिक छ भन्ने लागेको छ ।’

नजिकैको दूरीका विद्यालय पनि कतै विद्यार्थीको सङ्ख्या अत्यधिक हुने र कतै शून्य हुने अवस्था रहेको भन्दै समायोजन गरेपछि धेरै विद्यार्थी भएकाबाट पनि कम विद्यालयका विद्यार्थीहरू ल्याउन सकिने उनको भनाइ छ । जसमा उपमहानगरपालिकाले समन्वयको भूमिका मात्रै खेलेको भन्दै मर्ज भएका विद्यालयमा छुट्टै लगानी भने उपमहानगरपालिकाले नगरेको प्रमुख चौधरीले जानकारी दिए । ‘मर्ज गरेका विद्यालयलाई भनेर छुट्टै लगानी गरेका छैनौँ,’ उनी भन्छन्, ‘हामीले नीति बनाएका छौँ, त्यही नीतिलाई टेकेर मर्ज हुने र खर्चको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्छ ।’

प्रशासन राम्रो भए, विद्यालय सुध्रिन्छ
सुनसान विद्यालयहरूमा अहिले भरिभराउन विद्यार्थी हुनुको एउटै कारण, ‘प्रशासन सुधार ।’ विद्यालयको प्रभावकारी व्यवस्थापन भए अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने प्रअहरुको अनुभव छ । ‘हामीले गाभिएका विद्यालयलाई अरू केही गरेको होइन, व्यवस्थापन मात्रै सुधार गरेको हो,’ रझेनाका प्र अ न्यौपाने भन्छन्, ‘हाम्रो जिम्मामा आएपछि शिक्षकलाई समयमै विद्यालय आउने, नियमित पढाउने, विद्यार्थीलाई पनि अनुशासित गराउने काम गर्‍यौँ। यसकै नतिजा हो, विद्यालयहरू सुधार भए ।’

आफूहरूले पहिले आधारभूत विद्यालय मसिनाका शिक्षकहरूलाई समेत रझेना ल्याएको बताए । अहिले ती शिक्षक नै उत्साहित भएको न्यौपानेको अनुभव छ । ‘हामीले मसिनाबाट ल्याएर रझेना अध्यापन गराउन लगाएका शिक्षकहरू पनि निकै उत्साहित हुनुभएको छ,’ उनले भने, ‘अहिले त अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइरहनुभएको छ, नियमित गृहकार्य दिनुहुन्छ, अनि सबै राम्रो भयो ।’

नगरको अर्को पेचिलो नीति हो, शिक्षक, व्यवस्थापन समितिका सदस्यले अनिवार्य आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउनुपर्ने । आफू सामुदायिक विद्यालय पढाउने, छोराछोरीचाहिँ बोर्डिङ पठाउने । यो गलत मनोदशा तोड्न रझेना माविले भूमिका खेलेको छ । उक्त विद्यालयका सबै शिक्षक तथा व्यवस्थापन समितिले  अनिवार्य सामुदायिक विद्यालयमै बाबु नानी पढाउनुपर्छ । सोहीअनुसार कार्यान्वयन भयो ।  यसले सबै विद्यार्थीलाई आफ्ना सन्तानसरह ठान्ने बनाएको प्र अ न्यौपानेको अनुभव छ । 
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ भने नियामक निकायको अनुगमन पनि प्रभावकारी भए सामुदायिक विद्यालय सुधार हुने प्रअहरुको अनुभव छ । जुन विद्यालयमा शिक्षक मात्र होइन, व्यवस्थापन समिति पनि क्रियाशील हुन्छ त्यो विद्यालय पक्कै पनि राम्रो हुन्छ । त्यहाँका विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ ।

- Mero Report