विनयी त्रिवणी र हुप्सेकोट गाउँपालिका हिंसामुक्त हुने!

विनयी त्रिवणी र हुप्सेकोट गाउँपालिका हिंसामुक्त हुने!

नेपालमै पहिलोपल्ट हिंसामुक्त समुदाय घोषणाको पूर्व तयारी

नवलपुरका दुई पालिकामा हिंसामुक्त समुदाय घोषणा तथा कार्यान्वयन अभियान सुरु भएको छ । विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाका १० वटा वडाहरूमा यो अभियान सुरु भएको हो । सरोकारवालाहरूको वृहद भेलाले हिंसामुक्त समुदाय घोषणा तथा कार्यान्वयन समिति गठन गरेर अभियानको सुरुवात गरेको हो । 


२०७९ फागुनको दोस्रो र तेस्रो साता त्रिवेणी, दुम्किवास, सर्दी, कल्वा, बेलुवा, गिरुवारी लगायतका विनयी त्रिवेणीको वडा नम्बर ६, ७, १, २, ३ र ४ मा तथा हुप्सेकोटका वडा नम्बर १, २, ३ र ४ मा समिति गठनका लागि सरोकारवालाहरूको भेला भएको थियो । 


भेलामा स्थानीय वडाका निर्वाचित प्रतिनिधिहरू, सामुदायिक वन, सहकारीहरू, उपभोक्ता समितिहरू, विद्यालय व्यवस्थापन समितिहरू, सुरक्षा निकाय, आमा समूहहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता थियो ।


प्रत्येक भेलाले कतै ११ त कतै १७ सदस्यीय हिंसामुक्त समुदाय घोषणा तथा कार्यान्वयन समिति गठन गरेको छ । त्यस्तै, हरेक वडामा समुदायमा योगदान दिएका व्यक्तिहरू सम्मिलित हिंसामुक्त समुदाय अभियानको सल्लाहकार समूह पनि चयन भएको छ । 


सल्लाहकार समूहमा ३ देखि ७ जनासम्म सदस्यहरू छन् । प्रत्येक भेलाहरूमा कम्तीमा ६० देखि बढीमा १ सय २५ जनासम्म स्थानीय समूह तथा सञ्जालका प्रतिनिधिहरू सहभागी थिए । 
भेलाले सामुदायिक वन, सहकारी तथा आमा समूहको नेतृत्व गरिरहेका अगुवाहरूलाई हिंसामुक्त समुदाय घोषणा तथा कार्यान्वयन समितिको अध्यक्ष चयन गरेको छ । 


गठन भएपछिको दश वटै समितिको पहिलो बैठकले आ–आफ्नो वडाका वडाध्यक्षहरूलाई समिति संरक्षकको रूपमा स्वीकार गरेको छ भने समितिमा वडाका निर्वाचित जनप्रतिनिधि मध्येबाट एक जना र परिवर्तन घरैबाट कार्यक्रमका सहजकर्तालाई पदेन सदस्य चयन गरेको छ । 


हिंसामुक्त अभियान समितिको पहिलो बैठकले बैङ्क खाता खोल्ने, विधान बनाउने सिफारिस लिने लगायतका आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने, वडा कार्यालय पालिका तथा अन्य सरोकारवालाहरूलाई अभियानमा सहभागी हुन आग्रह गर्दै सहकार्य र सहयोग माग्ने पनि निर्णय गरेको छ । 


भेलामा कतिपय सहकारीहरूले समितिका लागि कोषको व्यवस्था गरिदिएका छन् भने प्रत्येक वडा कार्यालयले पनि बजेटको व्यवस्था गर्ने जनाएका छन् । सामुदायिक वनहरूले पनि अभियानका लागि बजेट विनियोजन गर्ने जनाएका छन् । 


समिति गठनको क्रममा विनयी त्रिवेणीको वडा नम्बर २ मा विनयी महिला बचत सहकारीले ५ हजार रुपैयाँ अभियानको कोष सञ्चालनका लागि सहयोग गरेको थियो भने वडा कार्यालयले ५० हजार रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको थियो ।


विनयी त्रिवेणीकै वडा नम्बर ४ मा ४ हजार ५ सय रुपैयाँ चन्दा सङ्कलन भएको छ भने वडा कार्यालयले १ लाख रुपैयाँ अभियानको लागि बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै विनयी त्रिवेणीकै वडा नम्बर १ मा भने ७ हजार ५ सय ५ रुपैयाँ कोष सङ्कलन भएको छ।


त्यस्तै, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको विराट सामुदायिक वन उपभोक्ता समितिले अभियानका लागि ५ लाख रुपैयाँ बजेट साधारण सभाबाट पारित गरेको जनाएको छ। 


भेलामा सबै वडा अध्यक्षहरूले आफ्नै कार्यकालमा वडालाई हिंसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् भने हिंसामुक्त अभियान समितिका नवनिर्वाचित अध्यक्षहरूले हिंसामुक्त समुदाय घोषणा अभियानलाई अझ विस्तार गर्दै वडा कार्यालयसँगको समन्वयमा काम गर्ने जनाएका छन् ।

त्यस्तै, भेलामा उपस्थित वडा अध्यक्षहरू सबैले आफ्नो कार्यकालमै हिंसामुक्त वडा घोषणा हुने र त्यसका लागि गाउँपालिकाले नीति, रणनीति, कार्य योजना, सूचकहरू तयार गरिदिने तथा नियमित नीति कार्यक्रम तथा बजेट विनियोजन हुने आशा राखेको बताएका छन् । हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे तथा विनयी त्रिवेणी गाउँपालिका प्रमुख घनश्याम गिरीले पनि वडाहरूमा सुरु भएको हिंसामुक्त समुदाय अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

#MeroReport

- Mero Report