विद्यालय गुणस्तर सुधारको साथी, शिक्षक डायरी

विद्यालय गुणस्तर सुधारको साथी, शिक्षक डायरी

कैलालीको गौरीगंगा नगरपालिकाले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि आर्थिक वर्ष २०७७ बाट शिक्षक डायरी कार्यक्रम लागू गर्‍यो। कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छोटो समयमै सुधारको छनक देखिएको छ ।

....................................................................

जिल्लाका १३ स्थानीय तहमध्ये शिक्षक डायरी कार्यक्रम गौरीगंगा नगरपालिकाले मात्र लागू गरेको हो । जिल्लाका अन्य पालिकामा पनि यो कार्यक्रम लागू गर्न सके यसको प्रभावकारिता दिगो रुपमा देखिने सम्भावना पहिलो वर्षको प्रभावकारिताबाट देखिन्छ । 

चाँदनी आचार्य, कैलाली

चुरे गाउँपालिकाबाट कक्षा ८ पास गरेर कालिका माध्यमिक विद्यालय राजीपुरमा कक्षा ९ मा पढ्न पुगेकी गीता जैसी अहिले १२ कक्षामा अध्ययनरत हुनुहुन्छ । गीताले यसअघि पढेको विद्यालय पनि सामुदायिक नै हो । तर यहाँको पढाइ, वातावरण र शिक्षकको पढाउने शैली उहाँलाई असाध्यै मन पर्‍यो।

सरकारले सामुदायिक विद्यालयका लागि प्रत्येक वर्ष करोडौँ रकम अनुदान दिएको छ तर सदुपयोग गर्ने नगर्ने सम्बन्धित विद्यालयको हात हो । ‘हाम्रो विद्यालयमा बोर्डिङको भन्दा राम्रो भौतिक संरचनासहित सुविधाहरू छन्,’ गीताले भन्नुभयो, ‘मैले पढ्ने विद्यालयमा सीसी क्यामेरा जडान छ, स्मार्ट बोर्ड छ, अनलाइन क्लासको व्यवस्था छ, त्योभन्दा महत्त्वपूर्ण कुरा त यहाँ विद्यार्थीको लक्ष्य र भावना बुझेर पढाउने हुनाले एक दिन पनि कक्षा छोड्न मन लाग्दैन ।’

गीतालाई अझ राम्रो लाग्ने पक्ष शिक्षक डायरीले ल्याएको नियमितता रहेछ । उहाँले कक्षाभित्र पस्दा शिक्षकको हातमा मार्कर, डस्टर मात्र होइन डायरीसमेत हुँदा प्रत्येक दिन पढाउने विषयवस्तुबारे अझ सहजतासाथ पढाइ हुन्छ । 

‘शिक्षक डायरीले गर्दा हाम्रो पूरा पढाइ भएको छ, कक्षामा पढाउने विषयवस्तुमा पनि गन्थन मन्थन होइन, मुख्य विषयवस्तुमा केन्द्रित हुन सजिलो बनाएको छ,’ गीताको अनुभव छ, ‘शैक्षिक क्यालेन्डरले ससानो बहानामा विद्यालय बन्द हुने काम पनि बन्द गराएको छ ।’

गीता मात्र होइन, यस विद्यालयमा कक्षा १० मा अध्ययनरत कुमार बडैला पनि ५ कक्षादेखि यही पढिरहनु भएको छ । शिक्षक डायरी लागू भएपछि प्रत्येक विषय घण्टीमा शिक्षकहरू नियमित उपस्थित भई अध्यापन गराएको कुमारले बताउनुभयो । 

शिक्षकले पूर्व तयारी गरेर डायरीमा आज पढाउने विषयवस्तु लेखेर ल्याउने हुँदा पाठको मुख्य विषयवस्तु आउने भएकाले पढ्न पनि सजिलो हुने रहिछ, कुमारले अनुभव सुनाउनुभयो ।

गीता र कुमारजस्ता गौरीगंगा नगरपालिका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक सुधारमा विभिन्न कार्यक्रममध्ये शिक्षक डायरी गुणस्तर सुधारमा सहयोगी भएको प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

बिना योजना कक्षामा जानेका लागि ऐना साबित 

महादेव मावि गौरीगंगा– ९ शंकरपुरका शिक्षक हर्कबहादुर ताडीले नगरपालिकाले शिक्षकका लागि कक्षामा जानुभन्दा पहिला पूर्व तयारीका लागि तयारी हुन डायरी दिनुका साथै शैक्षिक सामग्री राख्नलाई झोलासमेत दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

‘स्थानीय सरकारले शिक्षक विद्यार्थीका समस्या बुझेर काम गर्दा खुसी लागेको छ, शिक्षण गर्दा चाहिने सामग्री राख्न सजिलो भयो, डायरीले दैनिक पाठ्य योजना बनाउन सजिलो बनाएको छ, बेला बेलामा तालिम पनि हुने गर्दछ,’ ताडीले भन्नुभयो ।

यही कारण बालबालिकाको पठनपाठन कार्यमा सुधार हुनुका साथै शिक्षकका लागि तयारी गर्ने माध्यमसमेत बनेको शिवालिक आधारभूत विद्यालय मसुरियाका प्र अ खगेन्द्र खातीले अनुभव सुनाउनु भयो ।

‘सरकारले विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गरेको छ । गुणस्तर सुधारका लागि शिक्षक डायरी लागू गराएर अर्को राम्रो सङ्केत गर्‍यो,’ प्रअ खातीले डायरीबारे टिप्पणी गर्दै भन्नुभयो, ‘बिना योजना, बिना तयारी कक्षामा जानेका लागि यो ऐनाको रूपमा साबित भएको छ ।’

नगरपालिकाकै उत्कृष्ट विद्यालय कालिका मावि राजीपुरका प्र अ युवराज कँडेलले शिक्षक डायरी सुरुका दिनमा झन्झटिलो मानेर प्रयोगमा ल्याउन गाह्रो भएको बताउनुभयो । 

‘विस्तरै यसको महत्त्वपूर्णबारे थाहा भएपछि प्रयोगमा ल्याइयो, पाठ्य योजना, कार्य पात्रो, विशिष्टीकरण तालिका डायरीमा भएको अनुसार शिक्षकले गर्नुपर्ने हुँदा व्यावहारिक रूपमा उपलब्धिमूलक देखियो,’ प्र अ कँडेल भन्नुहुन्छ, ‘शिक्षकलाई अघिल्लो दिन पढाउने विषयमा पहिल्यै तयारी हुन, मुख्य विषयवस्तुबारे टिपोट गर्न, पूरा घण्टी पढाउन र कोर्स पूरा गराउन यो सहयोगी भयो ।’

पछिल्लो समय विद्यालयमा विद्यार्थी सङ्ख्या पनि बढ्दै गएको छ । ५० प्रतिशत स्थानीय सरकारको अनुदानबाट बस खरिद गरेर बस सेवा दिएपछि विद्यार्थी सङ्ख्या १२ सय पुगेको छ । 

अङ्ग्रेजी माध्यमबाट समेत अध्यापन हुने उक्त विद्यालयमा जनप्रतिनिधि, शिक्षकका छोराछोरीले अध्ययन गर्नुका साथै विभिन्न दाताबाट आर्थिक सहयोग आउने गरेको प्र अ कँडेलले सुनाउनुभयो ।

निर्वाचनका बेला गरेका प्रतिबद्धता र निर्वाचनपछि जनप्रतिनिधिका रूपमा विभिन्न कार्यक्रममा बोल्ने क्रममा गरेका बाचालाई अभिभावकहरूले अहिले पनि भुलेका छैनन् । तर अभिभावकले सरकारी विद्यालयको गुणस्तर सुधारमा अझै सरकारको भन्दा पनि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको भूमिका कमजोर रहेको दोष लगाएका छन् । 

गौरीगंगा नगरपालिका ९ का अभिभावक केशवनारायण सापकोटाको सरकारले पछिल्लो समय शिक्षामा राम्रै लगानी गरेको देखे सुनेको बताउनुभयो । 

‘हामी पनि समाचार सुन्छौँ , विद्यालय जान्छौँ र बुझ्छौँ । पहिलाभन्दा त पढाइमा पनि सुधार भएको छ, कोरोना संक्रमणले केही अलमल भएको हो नत्र ठिक हुँदै थियो,’ सापकोटा भन्नुहुन्छ, ‘शिक्षकले नियमित कक्षा लिने, बच्चाहरूले पनि नियमित होमवर्क गर्नु पर्‍यो । अनि प्रतिफल अवश्य आउँछ  ।’

आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले शिक्षकहरूलाई झोला, शैक्षिक क्यालेन्डर जस्ता अत्यावश्यक शैक्षिक सामग्री सहयोग गरेको थियो ।

शिक्षक डायरी सुरुमा झन्झटिलो मानिए पनि यसको प्रयोगले शिक्षकलाई कक्षा प्रवेश गर्नु पूर्व पढाउने विषयवस्तुबारेमा तयारी रहन र विद्यार्थीलाई पनि विषयवस्तुबारे अवगत हुन सजिलो भएको छ ।

काभ्रेको ज्ञान  गौरीगंगामा प्रयोग

गर्दै जाँदा परिपक्व हुन्छ भन्ने उक्ति गौरीगंगा नगरपालिकामा देखिएको छ । जब नगरको शिक्षा शाखा प्रमुख काभ्रेको पनौती नगरपालिकाबाट हरिस पन्त सरुवा भएर आउनुभयो, उहाँले नयाँ सुरुवातसमेत गराउनुभयो । शिक्षक डायरी कार्यक्रम पनौतीमा पनि प्रयोगमा ल्याइएको थियो । यसले शिक्षा शिक्षणमा सहयोगी हुने उहाँको अनुभव थियो र यहाँ पनि लागू गराउन प्रेरित गराउनुभयो । ‘शिक्षकका लागि यो अति आवश्यक लाग्यो र नगरमा प्रस्ताव राखेको हुँ,’ कार्यक्रमबारे पन्त स्पष्ट गर्नुहुन्छ ।

पनौतीका विद्यालयमा शिक्षक डायरी कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा राम्रो भूमिका खेलेको उहाँको अनुभव छ । त्यही ज्ञानलाई यता पनि प्रयोगमा ल्याएको उहाँले बताउनुभयो ।

कार्यक्रम सुरु गर्नु पूर्व नगरका शिक्षासँग सरोकारवालासित छलफल गरी सुझाव लिएर कामहरू विग्रिएको छ, प्रमुख पन्त भन्नुहुन्छ, ‘शिक्षक डायरीका विषयमा पनि चर्चा चलायौँ, सबैको सुझाव लिएर प्रयोगमा ल्यायौँ ।’

शिक्षक डायरी र क्यालेन्डरले कक्षा १ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक जानकारी, पाठ्य योजना, गाइडलाइनको काम गर्ने उहाँको अनुभव छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने ४१७ शिक्षक र ४० संस्थागत शिक्षकलाई डायरी उपलब्ध गराइएको छ । कार्यक्रम लागू भएका विद्यालयको शिक्षा शाखाले अनुगमनबाट राम्रो प्रतिक्रिया आएको उहाँले बताउनुभयो  ।

जिल्ला शिक्षा एकाइ प्रमुख कैलालीका वैकुण्ठ सुवेदीले ‘शिक्षक डायरी’ शिक्षकका लागि महत्त्वपूर्ण शैक्षिक सामग्री रहेको औँल्याउँदै यसको सदुपयोग निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कक्षाकोठामा पस्नु पूर्व शिक्षकले तयारी अवस्थामा रहन डायरीले सहयोग गर्ने भएकाले यसलाई महत्त्वका साथ हेरिएको हुन्छ,’ सुवेदीले  भन्नुभयो, ‘यही कारण सम्बन्धित विषय शिक्षकले सम्बन्धित विषयमा कुन माध्यमबाट अध्ययन गराउने, विषयवस्तु स्पष्ट हुने भएकाले विद्यार्थीलाई बुझ्न र शिक्षकलाई बुझाउन सजिलो हुन्छ ।’

नीतिगत व्यवस्था

नेपालको संविधानले विभिन्न तहका सरकारका आ–आफ्ना अधिकारका सूची संविधानमै व्यवस्था गरिएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ । संविधानको अनुसूची ८ अन्तर्गत माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई हुने व्यवस्था गरेको छ । संविधानले दिएको अधिकारबमोजिम स्थानीय तहको चुनावपछि चुनिएर आएका जनप्रतिनिधिले शिक्षासम्बन्धी विभिन्न नीति, नियमावली, कानुन निर्माण गरी शिक्षामा काम थालेका छन् ।

गौरीगंगा नगरपालिका नगरप्रमुख भीमबहादुर देउवाले नगरपालिकामा ‘गौरीगंगा शिक्षा नियमावली २०७४’, ‘शिक्षा ऐन २०७६’ तथा विभिन्न कार्यविधि बनाएर अघि बढेको बताउनुभयो । नगरभित्रका ४२ सामुदायिक र २२ संस्थागत विद्यालयमा गुणस्तर सुधारसँगै संस्थागत विद्यालयलाई समेत जिम्मेवार बनाउने कार्य नीतिगत रूपमा अघि बढेको बताउनुभयो ।

नीतिगत रूपमै शिक्षक डायरी, झोला, शैक्षिक क्यालेन्डरजस्ता ‘शिक्षा सहयोगी सामग्री’ उपलब्ध गराएको उहाँको भनाइ छ । यी सामग्री सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सहयोगी हुने नगरप्रमुख देउवाको तर्क छ । यो कार्यक्रम नयाँ र गत आवमा मात्र लागू गरिएको भए पनि समय कालमा प्रभावकारी हुने नगर प्रमुखले आशा लिनु भएको छ ।

- Mero Report