विद्यालयमा नर्स: सानो लगानी, ठूलो उपलब्धि

विद्यालयमा नर्स: सानो लगानी, ठूलो उपलब्धि

महिनावारी हुँदा विद्यालय नजाने चलन हट्दा छात्राको विद्यालय उपस्थिति दर ह्वात्तै बढेको छ

महेश न्यौपाने, रोल्पा 

विद्यालय पढ्दापढ्दै महिनावारी भए कसरी व्यवस्थापन गर्ने ? जनजागृति मावि जुगारको कक्षा १० मा पढ्ने विनिता केसीलाई हरेक महिना पिरोल्थ्यो । विद्यालयमै महिनावारी हुँदा  कैंयौ पटक  पढाई छोडेर घर आएको भोगाई छ उनको । महिनावारीकै कारण हरेक महिना ३÷४ दिन विद्यालय छोड्नुपर्दा  पढाईमा पुगेको नोक्सानीको उनीसंग हिसाव कितावै  छैन । 
कक्षा कोठामा पढ्दापढ्दै आएको ज्वरोले च्यापे पछि धेरै चोटी पढाइ छोडेर हेल्थपोष्ट पुगेकी छिन मेनुका घर्तीमगर । विद्यालयमा खेल्दा चोटपटक लागेर रगत चुहाउदै हेल्थपोष्ट  पुगेको  विगत  उनलाई भर्खर जस्तो लाग्छ  । घाउ देखाउदा  गुरुहरुवाट  कुटाई खाने डरले  कैयौं पटक लुकाएको घाउ  वल्झदाको हैरानी पनि कम संझनायोग्य छैन उनलाई ।  अब भने बिरामी पर्दा  र चोटपटक लाग्दा  विद्यालय छाडेरै  हिँड्नु पर्ने र घाउ  वल्झाएर वस्नुपर्ने चिन्ता हटेको छ उनको ।
विद्यालय नर्स व्यवस्था भएसँगै महिनावारी व्यवस्थापन, सामान्य स्वास्थ्योपचार र परामर्शका लागि विनिता र मेनुकाजस्ता त्रिवेणी गाउँपालिकाका विद्यार्थीलाई पढाइ छोड्नुपर्ने डर र घाउ  वल्झाएर वस्नु पर्ने  समस्या अब हटेको छ । महिनावारी व्यवस्थापनका लागि मर्यादा किट र ज्वरो,घाउ  चोटपटक लगायत सामान्य बिरामी पर्दा विद्यालयमै उपचार र परामर्श हुन थालेसँगै त्रिवेणी गाउँपालिकाका १२ माविमा अध्ययनरत विद्यार्थी स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन् ।
सबै माध्यमिक विद्यालयहरुमा नर्सको व्यवस्थापन गर्ने त्रिवेणी रोल्पा जिल्लाकै पहिलो पालिका हो । स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा व्यवस्थापन महाशाखाको यस कार्यक्रमलाई त्रिवेणी गाउँपालिकाले समेत थप गरेको छ । महाशाखाले ११ विद्यालय र गाउँपालिकाले थप १ मा गरी पालिकाभित्रका १२ वटै माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको हो । 
विद्यालयमै नर्सिङ सेवा पाउने जनजागृति मावि जुगार, सरस्वती मावि काउलाबोट जुगार, शिद्धरत्न मावि हान्जावाङ जुगार, सरस्वती मावि लिडदुङ बुढागाउँ, जनकल्याण मावि सिम्पानी बुढागाउँ र वीरेन्द्र मावि गाङ गैरीगाउँ रहेका छन्  । विद्यालय नर्सको सुविधा उपलव्ध गराउने गाउँपालिकाभित्रका अन्य विद्यालयहरुमा गोविन्द मावि गैरीगाउँ, अरनिको मावि नुवागाउँ, शुक्र मावि झुमलुङ नुवागाउँ, शिव मावि द्वारपानी नुवागाउँ, भगवती मावि दहवन नुवागाउँ र बालकल्याण मावि करेटी रहेको पालिकाले जनाएको छ । 
उनीहरुले आफू खटिएको विद्यालयमा नियमित चेकजाँचका साथै विभिन्न स्वास्थ्य तथा सचेतनामूलक कार्य गर्नेछन् । पोषणयुक्त  खानेकुराको महत्व बुझाउँदै विद्यार्थीलाई त्यस्ता खानाको प्रयोगमा जोड दिने काममा पनि नर्सलाई नै जिम्मेवारी दिइने भएको छ । विद्यालयमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण उपकरण भने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । 
विद्यालय स्वास्थ्यको सबै खाले सेवा र व्यवस्थापन नर्सहरुले गरिरहेका छन् । किशोरकिशोरीहरुको प्रजनन तथा यौन स्वास्थ्यबारे सचेतीकरण, महिनावारी व्यवस्थापन, हिंसाबाट बालबालिकालाई कसरी   जोगाउने भन्ने, सीप हस्तान्तरणको जिम्मेवारी पनि नर्सको हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिए । विद्यालय खानेपानी तथा सरसफाइ संचालन र व्यवस्थापन, विद्यालय स्तरबाटै जुकाको औषधि वितरण, खोप कार्यक्रम र स्वास्थ्य शिक्षा संचालनको जिम्मेवारी उनीहरुमै छ, बुढाले भने । विद्यालयमा प्राथमिक उपचार र आवश्यकताअनुसारको स्वास्थ्य परीक्षणको जिम्मेवारी समेत दिइएको छ ।  औषधि भने प्यारासिटामोलमात्रै वितरणको अनुमति दिएको छ बुढाले भने ।
दैनिक १५ देखि २० जना बिरामी आउने गर्दछन्, जनजागृति मावि जुगारमा कार्यरत स्टाप नर्स आयुषा घर्तीमगरले भनिन् । ज्वरो, रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, चोटपटक लागेका र महिनावारी  भएका आउने गर्दछन् । ‘आफू पनि महिला भएको हुँदा खुल्न सहज भएकाले छात्रको तुलनामा छात्रा बढी आउने गरेका छन्,’ सेवाग्राही विद्यार्थीबारे नर्स घर्तीमगरले बताइन् ।
विद्यालय नर्सिङ सेवा सुरु भएसँगै विद्यार्थीले फिल्टरको पानी खान थालेका छन् भने केटा र केटीले छुट्टाछुट्टै शौचालय प्रयोग हुन थालेका छन् । महिनावारी हुँदा प्याड फेर्न छुट्टै कोठा पनि व्यवस्था भएका छन् । महिनावारी हुँदा विद्यालय नआउने तथा बिरामी भएर हेल्थपोष्ट जाँदा पढाइ छुट्ने समस्या टरेको पनि उनले सुनाइन् ।
विद्यालयहरुमा जंकफुड खाने मात्रा घट्दै गएको छ । घरबाटै खाजा बोकेर आउनेको संख्या दिनदिन बढ्दो छ, मावि हान्जावाङका स्टाप नर्स सरस्वती विकले  भनिन् । कक्षा–कक्षामा गएर व्यक्तिगत स्वास्थ्य जाँचसमेत गर्ने गरेको विकले बताइन् । प्रजनन स्वास्थ्यबारे विद्यार्थी खुलेर छलफलमा आउने गरेको उनको बुझाइ छ । विक भन्छिन्, ‘व्यक्तिगत सरसफाइ, मास्कको अनिवार्य प्रयोगजस्ता कुरा अन्य शिक्षकले भनेको मान्दैनन् हामीले भने तुरुन्तै मान्छन् ।’ 
नर्सिङ कार्यक्रममा विद्यार्थीलाई कुपोषण भए नभएको समेत जाँच गरिन्छ । जनजागृति माविले ३१९ जनामा गरेको कुपोषण परीक्षणमा कम तौल भएका १०५ र वढी तौल भएका १८ जना पत्ता लागेका थिए । यसरी जाँच गरिएकामध्ये थप पोषणको आवश्यकता भएकालाई परामर्श गर्छौ विद्यालयका स्टाप नर्स घर्तीले भनिन् । पहिचान भएका बालबालिकाका अभिभावकलाई समेत फोनबाट परामर्श गर्ने गरेको घर्तीले सुनाइन् ।  विद्यालय नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकाको नापजाँचबाट गाउँपालिकामा ४२ जना कुपोषित  बालबालिका पहिचान भएको गाउँपालिका शाखा प्रमुख पूर्ण बुढाले बताए । विद्यालय नर्सहरुले समय समयमा गर्ने परीक्षणले कुपोषणको अवस्था जानकारी भई त्यसको न्यूनीकरण कार्यक्रम संचालन गर्न सहयोग पुगेको उनको भनाइ छ ।
विद्यालय नर्स कार्यक्रमले गाउँपालिको स्वास्थ्यमात्रै होइन, शिक्षा क्षेत्रको विकासमा समेत सहयोग गरिरहेको गाउँपालिका शिक्षा अधिकृत अमृता बुढाथोकीले बताइन् । महिनावारी हुँदा विद्यालय नजाने चलन हट्दा छात्राको विद्यालय उपस्थिति दर बढेको उनको अनुभव छ । विद्यार्थीको पढ्ने समय र स्वास्थ्य केन्द्र खुल्ने समय एउटै हुँदा बिरामी परेको बेला पढाइ छुट्ने समस्या थियो, बुढाथोकी भन्छिन्, ‘अब विद्यालयमै नर्स कार्यक्रम सुरु भएसँगै यस्तो बाध्यता टरेको छ ।’
संघीय सरकार  र  स्थानीय सरकारको लागत साझेदारीमा गाउँपालिकाका ती विद्यालयले नर्सिङ सेवा  सुरु गरेका हुन् । विद्यालय नर्सिङ सेवाका लागि खुल्ला प्रतिस्पर्धाका आधारमा नर्स छनौट गरिएको गाउँपालिकाले बताएको छ । उनीहरुको खर्च व्यवस्थापन नेपाल सरकारको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत रहेको छ ।
नेपाल सरकारको प्रचलित सेवा सुविधा पाउने गरी नियुक्त नर्सहरुलाई विद्यालयमा स्वास्थ्य सेवाको काम गर्ने गरी कार्यसम्पादन तोकिएको छ । त्यसैका आधारमा उनीहरुको काम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीमवहादुर केसीले बताए ।
 नियुक्तिलगत्तै विद्यालय बन्द भएका कारण उनीहरु लामो समय विद्यालयबाट सेवा दिन असमर्थ भए । तर अवस्था सहज भएसँगै सेवामा उनीहरु जुटिरहेका छन्, केसीले भने । कोरोनाका कारण विद्यालय बन्द  हुँदा उनीहरुलाई कोरोना हेल्थ डेस्कमा खटाइएको थियो ।
नर्सिङ तथा सामाजिक सुरक्षा व्यवस्थापन महाशाखाले देशका विभिन्न स्थानीय तहहरुमा यो कार्यक्रम सुरु गरेको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा देशभरका १२ स्थानीय तहमा सो कार्यक्रम संचालन हुँदा लुम्बिनी प्रदेशको राप्ती सोनारी गाउँपालिका बाँके र त्रिवेणी गाउँपालिका रोल्पा छनौट भएका थिए । २०७७÷०७८ मा अर्घाखाँचीको भूमिकास्थान र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सो कार्यक्रम थप भयो । चालू आवमा कर्णाली प्रदेशका जाजरकोट र हुम्लाका २ स्थानीय तहमा गरी कुल १६ जिल्लाका १६ स्थानीय तहमा यो कार्यक्रम सुरु गरिएको छ ।

साभार - https://swasthyakhabar.com/story/42484?fbclid=IwAR2cYxhPyKNRX5ICCdGxhRngbt7YH4e9gfLrjTop3IHXfQIcoBDNxsFJKjg

 

- Mero Report

Popular Blogs

All