रेडियो श्रोता समूहको आयोजनमा जनप्रतिनिधिसँग सवाल जवाफ कार्यक्रम 

रेडियो श्रोता समूहको आयोजनमा जनप्रतिनिधिसँग  सवाल जवाफ कार्यक्रम 

कपिलवस्तु असोज ५ । 

कपिलवस्तुको विजयनगर गाउँपालिका ३ मा गठन भएको एकता रेडियो श्रोता समूहले जनप्रतिनिधिसँग सवाल जवाफ कार्यक्रम सम्पन्न गरेको  छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत पत्थरदेहियामा गठन गरिएको समूहले आर्थिक वर्ष २०७८/०७९ को बजेट र योजनाको विषयमा छलफल गर्दै जनप्रतिनिधि संग सवाल जवाफ गरेको छ ।

कार्यक्रममा श्रोता समूहका सदस्यहरुले आफनो गाउँठाउका समस्याहरु, अबका  दिनमा गाउँमा गर्नुपर्ने काम लगायतका विषयमा सवालहरु  उठाएका  थिए । यस्तै समूहका सदस्यहरुले गाउँमा शौचालय बनाइएपनि त्यसको प्रयोगमा कमी भएको, शुद्धखानेपानीको समस्या रहेको, बर्खायाममा सडक हिलाम्मे हुने ,कृषि सम्बन्धी अनुदान बिउबिजन वितरणमा प्रभावकरी नभएका लगायतका विषयहरु उठाएका थिए । उक्त कार्यक्रममा उठाइएका विषयवस्तुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबै सवालहरुप्रति गाउँपालिका गम्भिर भएर लागेको भन्दै  पालिकाको श्रोत साधनले भ्याएसम्म काम गरिरहेको बताउनुभयो ।

यस्तै गाउँपालिका शुरुका बर्षबाट नै आधारभूत आवश्यकताहरु पूरा गर्ने चरणमा सबै काम अघि बढाईरहेको  स्पष्ट पार्नूभयो । सबै गाँउटोलका सडक ग्राभेल यो बर्ष पूरा हुने बताउदै एक घर एक धारा खानेपानीको योजनालाई तिब्र  गतिमा अघि बढाएको बताउनुभयो । यसैगरि कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका ३ का वडाअध्यक्ष बुद्धिराम अर्यालले सबै समूहका सदस्य र उपस्थित सबैले रोखेका समस्याहरु पूरा गर्दै जाने बताउनुभयो ।

शिक्षा ,स्वास्थ  र कृषिलाई प्राथमिकतामा राख्दै सिपमुलक ,व्यवसायिक हुने खालका कार्यक्रम सञ्चालन गर्दै जाने आश्वासन दिनुभएको छ । यसैगरि श्रोता समूहसँग  मिलेर सहकार्य गर्दै  गाउँठाउको विकासमा लाग्ने उहाको भनाई छ । श्रोता समूहका सहसंयोजक श्यामकुमारी  बिश्वकर्माको अध्यक्षता र सहजकर्ता श्रीषा आचार्यको स्वागत मन्तब्यमा शुरु भएको कार्यक्रममा ईन्द्रेणी ग्रामिण विकास केन्द्रका संस्थागत विकास सहजकर्ता दिपक भण्डारी, जनता आधारभूत विद्यालय पत्थरदेईया विद्यालयमा प्रअ राजकिशोर मिश्रा लगायतले आ-आफ्नो भनाई राख्नुभएको  थियो ।

 

- Mero Report