“नजिकैको स्वास्थ्य संस्था गतिलो भएन भने बालबालिका, वृद्ध-बृद्धा, असक्त, अपाङ्गता भएकाहरू र गर्भवती महिलाको उपचारमा सबैभन्दा धेरै समस्या पर्छ । यो कुरा समुदायका अगुवा, राजनीतिकर्मी, स्वास्थ्य सेवकहरू र गाउँ समाजका सबैले राम्रोसँग बुझेका त छन् तर उनीहरूको प्राथमिकतामा यो कुरा परिरहेको हुँदैन । त्यसैले, स्थानीय युवाले नेतृत्व लिएर दबाबमूलक अभियान सञ्चालन गर्ने हो भने सुगमको होस् अथवा दुर्गमको स्वास्थ्य संस्थाहरूको स्तरोन्नति सम्भव छ ।”
चार वर्ष अघिसम्म डडेलधुराको अमरगढी ९ मा रहेको भूमिराज स्वास्थ्य चौकी खर्क जस्तै थियो । तार बार थिएन, स्वास्थ्य चौकी भवनसम्मै गाउँका गाईबस्तु चर्न पाउँथे । शौचालय फोहोर र गनाउने हुन्थ्यो । धारामा पानी आउँदैन थियो । भवन पुरानो, अगतिलो र उपचार गर्ने ठाउँको अभाव थियो । औषधि पर्याप्त थिएन । स्वास्थ्यकर्मी पनि पर्याप्त थिएनन् ।
स्वास्थ्य समस्या भएमा गाउँलेहरू स्वास्थ्य चौकी हेर्दै दुई घण्टासम्म हिँडेर जिल्ला अस्पताल जान्थे । सामान्य प्राथमिक उपचारको लागि पनि टाढासम्म धाउनुपर्ने दुख त थियो नै गर्भवती, बुढाबुढी र आकस्मिक स्वास्थ्य समस्या देखिएका बिरामीलाई मान्छेले दुई घण्टासम्म बोकेर जिल्ला अस्पताल लैजान्थे । स्थानीयले प्राइभेट क्लिनिकमा पैसा तिरेर उपचार गर्न सक्ने अवस्था थिएन ।
स्थानीय मदना सार्की भन्नुहुन्छ “गर्भवती भएको सात महिना कटेपछि एक दिन राति पेट दुख्यो । मलाई राति १२ बजे गाउँका बलिया मान्छेहरूले बोकेर माथि डाँडाको अस्पताल लगे । मेरो घर नजिकैको हेल्थ पोस्ट पटक्कै काम लागेन त्यति बेला । स्वास्थ्य चौकी बनाएर त्यत्तिकै छाडिएको थियो । हामी स्वास्थ्य चौकीमा गाईबस्तु चराउँथ्यौँ र गाईबस्तुले त्यही दिसा पिसाब गर्थे ।”
स्वास्थ्य चौकी परिवर्तनको सुरुवात
स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनमा नागरिक समाज, सञ्चारमाध्यम र सेवा प्रदायकको पारस्परिक जबाफदेहिता खोज्न रेडियो कार्यक्रम साझा बोली र स्थानीय युवाहरूको रेडियो श्रोता समूह परिचालित थियो । २०७४ सालदेखि नै भागेश्वरी रेडियो श्रोता समूह रेडियो कार्यक्रममा उठेका सवालमा भेला भएर थप छलफल गर्ने, सुधारका लागि दबाब दिने रणनीतिहरू बनाउने र त्यसै अनुसार स्थानीय सुशासनका लागि काम गरिरहेको थियो ।
रेडियो कार्यक्रममा स्वास्थ्य चौकी सुधारको विषयमा सुनेपछि भागेश्वर श्रोता समूहका सदस्यहरू भूमिराज स्वास्थ्य चौकीको समस्याको विषयमा छलफलमा जुटे । त्यसपछि युवा समूहले स्वास्थ्य चौकी व्यवस्थापन समितिमा स्तरोन्नति तथा सेवा सुधारको माग राख्यो । श्रोता समूहका सदस्य ज्ञापन पत्र बोकेर ९ नम्बर वडा कार्यालय र अमरगढी नगरपालिका कार्यालयसम्म पुगे ।
श्रोता समूहले गरेका प्रत्येक दबाबमूलक क्रियाकलापको स्थानीय अमरगढी एफएमले समाचार बजाउन थाल्यो । अन्य सञ्चारमाध्यमले पनि स्वास्थ्य चौकी किन सुधार भएन, स्वास्थ्य चौकीमा खानेपानी किन छैन, शौचालय किन प्रयोग गर्न सकिँदैन भनेर समाचार बनाउन थाले । पारस्परिक जबाफदेहिता परियोजनाका अन्य सञ्जालहरू साझा सभा, साझेदारी मञ्च र अरू बैठकहरूमा पनि भूमिराज स्वास्थ्य चौकीको दुर्दशाको कुरा हुन थाल्यो ।
स्थानीय सभा र युवा समूहको पहलसँगै स्वास्थ्य चौकीमा जँचाउन आएका बिरामीले पिउने पानी नपाउने विषय मात्रै होइन पानी पर्दा स्वास्थ्य चौकीको छानो चुहिने विषय पनि गम्भीर रूपमा उठ्यो । पानी नभएको शौचालयको दुर्दशाको कुरा सुदूरपश्चिम नेपालका अन्य सञ्चारमाध्यममा पनि चर्चाको विषय हुन थाल्यो ।
महिला स्वास्थ्य स्वयंसेविका तारा जोशी भन्नुहुन्छ “भवन यस्तो थोत्रो थियो कि भित्रैबाट राती आकाशको तारा देखिन्थ्यो । पानी चुहिन्थ्यो । अहिले स्वास्थ्य चौकीको भवन बनेको छ । पिउने पानीको सुविधा छ । पानी भएपछि शौचालय प्रयोग गर्न सकिन्छ । तार बार लगाएको छ र अहिले त स्वास्थ्य चौकीमा फूलबारी बगैँचा पनि छ । सरसफाइ एकदम राम्रो छ ।
श्रोता समूह र स्थानीय साझा सभाले दबाबका साथ पुलको काम गरेकाले स्वास्थ्य चौकीको स्तरोन्नति सम्भव भएको अमरगढी नगरपालिका ९ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया बताउनुहुन्छ । “श्रोता समूहका सदस्यहरूबाट निरन्तर दबाब आएपछि, हामी उनीहरूको मागप्रति बढी जबाफदेही हुन थाल्यौँ र स्वास्थ्य चौकीको पुनर्निर्माण सम्भव भयो ।”
समुदायको माग र वडा कार्यालयको पनि समर्थन पछि अमरगढी नगरपालिकाले पानीको ट्याङ्की, तार बार, वर्थिङ सेन्टर पुनर्निर्माणका लागि बजेट विनियोजन गर्यो। खानेपानी तथा सरसफाइका लागी वडा कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको भीमबहादुर बताउनु हुन्छ । वडाले बजेट दिएपछि जँचाउन आएका बिरामीले खोलाको पानी पिउनुपर्ने बाध्यता हट्यो ।
स्वास्थ्य चौकीमा ३५ वटा निःशुल्क औषधि र नागरिक बडापत्र राख्न पनि वडा कार्यालयले साथ दियो । श्रोता समूहले स्वास्थ्य चौकी सुधारको माग राखेपछि आफूले पनि स्थानीय तहको हरेक बैठकमा स्वास्थ्य चौकी सुधारको विषय उठाएको पूर्व वडा अध्यक्ष भीमबहादुर बताउनुहुन्छ । युवाहरूको साथले विकासका काम गर्न धेरै सजिलो हुने उहाँको अनुभव छ ।
स्वास्थ्य चौकी स्तरोन्नति पछिको खुसी
अमरगढी हतर्ककी ३२ बर्सिया चेतुदेवी सार्कीलाई गाउँमा स्वास्थ्य चौकीले राम्रो सेवा नदिएका कारण जिल्ला अस्पताल जाने बाटोमै सुत्केरी हुँदाको दुख सम्झिँदा अहिले पनि अत्यास लाग्छ । सार्की भन्नुहुन्छ “स्वास्थ्य चौकी राम्रो थियो भने डडेलधुरा अस्पताल जाने बाटोमै मैले दुई पटक बच्चा जन्माउनु पर्ने थिएन” चेतुदेवी तीन बच्चाकी आमा हुनुहुन्छ ।
आँखा भरी आँसु पार्दै चेतुदेवी भन्नुहुन्छ भूमिराज स्वास्थ्य चौकीले प्रसूति पूर्व हेरचाह र सुत्केरी हेरचाहमा केही आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराए पनि त्यस बेला प्रसूतिसम्बन्धी सेवाहरू उपलब्ध थिएन । अहिले भूमिराज स्वास्थ्य चौकीले विशेष स्वास्थ्य सेवा उपलब्ध गराएकोमा चेतुदेवी खुसी हुनुहुन्छ ।
चेतुदेवी भन्नुहुन्छ “मैले बच्चा जन्माउँदा धेरै दुख पाए पनि अव गाउँका बुहारीले भूमिराज स्वास्थ्य चौकीकै वर्थिङ सेन्टरमा बच्चा जन्माउन सक्छन् । यो अब बच्चा जन्माउने जोडीहरूका लागि खुसीको कुरा हो ।” स्थापना भएको २१ वर्षपछि भूमिराज स्वास्थ्य चौकीको अवस्थामा अहिले आमूल परिवर्तन भएको छ । दक्ष जनशक्तिसहित स्वास्थ्य चौकी पूर्ण रूपमा सञ्चालित छ ।
तीन वर्ष: स्वास्थ्य चौकी स्तरोन्नतिको समय
भागेश्वरी श्रोता समूहका संयोजक युवराज भट्ट भन्नुहुन्छ स्वास्थ्य चौकीको विषयमा एक पटक मात्रै भनेर कसैले पनि सुनेनन् । पटक पटक माग गर्नुपर्यो। “स्वास्थ्य चौकीबाट प्रदान हुने सेवामा उल्लेख्य परिवर्तन आउन करिब तीन वर्ष लाग्यो”, युवराजले भन्नुभयो ।
“रेडियो कार्यक्रम साझा बोली सुनेपछि, श्रोता समूहका सदस्यहरूले स्वास्थ्य चौकीलाई चाँडो भन्दा चाँडो पुनर्निर्माण गर्न वडाध्यक्षलाई ज्ञापन पत्र बुझाउने निर्णय गर्यौँ । फलस्वरूप, वडा कार्यालयले खाने पानीका लागि पाँच लाख बजेट विनियोजन गर्यो र बार लगाउने, कर्मचारी राख्ने, भवन मर्मत सम्भार जस्ता बाँकी समस्याहरूलाई अमरगढी नगरपालिकासँग बजेट माग भयो ।”
साथै, स्थानीय सञ्चारमाध्यमले पनि स्वास्थ्य चौकीको चिन्ताजनक अवस्थाबारे समाचार सम्प्रेषण गर्न मद्दत गरे । युवाराज भन्नुहुन्छ “यसरी सबैतिरबाट सवाल उठेपछि सुधारका लागि सम्बन्धित सरोकारवालामा छिटो दबाब सिर्जना भयो । श्रोता समूहले स्वास्थ्य चौकीलाई आर्थिक रूपमा मद्दत गर्न सक्ने कुरा त भएन, तर यसले नागरिक समाज र स्थानीय सरकारबिच पुलको काम गरेको छ ।”
विगत १७ वर्षदेखि भूमिराज स्वास्थ्य चौकीमै काम गरी रहनुभएका स्वास्थ्य चौकीका वर्तमान इन्चार्ज श्यामराज बोहरा भन्नुहुन्छ “यसको जीर्णोद्धारका लागी मैले विभिन्न सङ्घसंस्था र सरकारी निकायलाई उति बेला बारम्बार पत्र लेखेँ तर कसैले सुनेनन् तर युवा श्रोता समूह, नागरिक समाजका अगुवा र पूर्व वडाध्यक्षले संयुक्त प्रयास गरे, अनि यसको सुनुवाइ भयो अनि स्वास्थ्य चौकीको रूप, रङ्ग र सेवा दिने तौरतरिका सबै परिवर्तन भयो ।”
वर्थिङ सेन्टरसहित उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेकोमा स्थानीयहरू अहिले भूमिराज स्वास्थ्य चौकीको प्रशंसा गर्छन् । “अहिले हामी सेवा र जनशक्तिको हिसाबले लगभग पूर्ण रूपमा चलिरहेका छौँ । स्वास्थ्य चौकीमा अहिले इन्चार्ज, सहायक स्वास्थ्य कार्यकर्ता, सहायक नर्स मिडवाइफ दुई जना र कार्यालय सहायक कार्यरत छन् । नयाँ वर्थिङ सेन्टरले एएनसी, पीएनसी र डेलिभरी सेवा प्रदान गर्छ । भूमिराज स्वास्थ्य चौकीले अमरगढी नगरपालिकाको वडा नं १, ८, ९ र १० का स्थानीय हरूलाई सेवा दिइरहेको छ ।
स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दु
नेपालमा करिब ३०० वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना आयुर्वेद पद्धतिमा आधारित स्वास्थ्योपचार गर्ने पहिलो सरकारी स्वास्थ्य संस्था हो । १३३ वर्ष अघि विक्रम संवत् १९४७ सालमा खुलेको वीर अस्पताल नेपालको पहिलो आधुनिक स्वास्थ्य विज्ञानमा आधारित भएर स्वास्थ्य सेवा दिने अस्पताल हो । विक्रम संवत् २०१३ को आवधिक योजनादेखि स्वास्थ्य सेवाको विकासका लागि सरकारले काम गरिरहेको छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच स्थापित गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वास्थ्य नीति २०७४ अहिले लागु छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले आधारभूत स्वास्थ्य सेवाको पहिलो सम्पर्क विन्दुका रूपमा देशभर करिब ३,८०८ स्वास्थ्य चौकी छन् । स्वास्थ्य चौकीले कुनै शुल्क नलिई स्वास्थ्य जाँच र कम्तीमा ३२ प्रकारका अत्यावश्यक औषधि सेवा प्रदान गर्दै आएको छ ।
नेपालले वि.स. २०८७ सम्ममा स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्ने योजना अनुसार काम गरिरहेको छ । तर विकट भूगोल, स्वास्थ्य क्षेत्रमा सुशासनको अभाव र सामुदायिक चेतनाको कमीले अझै पनि सबै नेपालीले स्वास्थ्य सेवाको पहिलो बिन्दु स्वास्थ्य चौकीबाट सन्तोषजनक सेवाहरू पाउन सकेका छैनन् ।
जतिसुकै चुनौतीहरू भए पनि स्थानीय युवा, समुदायका अगुवाहरू, सञ्चार माध्यम र निर्वाचित जनप्रतिनिधिले संयुक्त रूपमा दबाब र खबरदारी गर्ने हो स्वास्थ्य चौकीहरूको स्तरोन्नति सम्भव छ । यो कुरा डडेलधुराको भूमिराज स्वास्थ्य चौकीको स्तरोन्नतिको घटनाले पनि पुष्टि गर्छ ।
- सीएसम्याप डडेलधुरा