मुहानपोखरीमा चरा गणना

मुहानपोखरीमा चरा गणना

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित नगरकोटको फेडमा रहेको मुहानपोखरीमा चराको गणना थालिएको छ । सो नगरपालिकाको नगरकोट र बागेश्वरीस्थित मुहान पोखरी आसपासमा रहेका चराहरुको गणना थालेको हो । चाँगुनारायण नगरपालिकाको आयोजनामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाईको नेतृत्वमा चरा गणना कार्य सुरु भएको नगरपालिकाले जनाएको छ । सो क्षेत्रमा ५० भन्दा बढी प्रजातिका चरा पाइने अनुमान छ । सो क्षेत्रको चरा गणनासँगै चराहरुको अध्ययन पनि गरिने आयोजकहरुको योजना छ । 
त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डेन गेट इन्टरनेशनल कलेजका स्नाकोत्तर तह र विद्यावारिधिमा अध्ययनरत विद्यार्थीहरु एवं पक्षी संरक्षकहरुको संयुक्त टोलीले सो अध्ययन गरेका हुन । यो गणनासँगै देशका विभिन्न क्षेत्रको चरा गणना र अध्ययन गरिने अभियान्ताहरुले जनाएको छ । 
मानिस र चराचुरुंगीहरु बीच धनिष्ट सम्बन्ध रहे पनि मानिसहरुको बस्ती बाक्लिदै जाँदा चराचुरुंगीहरु भने लोप हुन्न थालेकोप्रति अभियान्ताहरु चिन्तित छन् । पर्यावरण चक्र र जैविक विविधतामा चरा प्रजातिको पनि महत्वपूर्ण देन भए पनि बनसम्पदा, खुल्ला एवं सिमसार क्षेत्र कम हुन थालेसँगै सधै देख्दै आएका भंगेरा, परेवा, काग, गौथली समेत कम हुन थालेको अभियन्ताहरुले महसुस गरेका छन् ।

 

Photo by Ghana Shyam Khadka on Unsplash