मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

अम्बिका आचार्य,गुल्मी जेठ ३१ गुल्मीको मुसिकोट नगरपालिकाले छुट्टै स्थानीय पाठ्यक्रम निर्माणका गर्ने भएको छ । नगरको शिक्षा शाखाका अनुसार शैक्षिक सत्र २०७९ मा नगरभित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्ने गरी निर्माणको तयारी थालिएको हो । नयाँ शैक्षिक सत्रबाट कक्षा एकदेखि पाँचसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा तयारी शुरु भएको शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिनु भयो । पाठ्यक्रम निर्माणका लागि शिक्षा अधिकृत नेपालीको संयोजकत्वमा ९ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र समाजसेवी सदस्य रहेको कार्यदलले नगरभित्र रहेका विभिन्न सरोकारवाला व्यक्तिहरुको सुझाव समेटेर मस्यौदा तयार तयार गरिसकेको छ । मुसिकोट नगरपालिकाको विशिष्टता, वस्तुस्थिति, भौगोलिक, जैविक, सांस्कृतिक विविधताको बारेमा जानकारी गराउने र स्थानीय भावनाको विकास गराउन पाठ्यक्रम निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले बताउनु भयो । ‌उहाँका अनुसार यस क्षेत्रको भुगोल, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक चिनारी, जनसंख्या वातावरण र जनजीवन, स्थानीय तह र सेवा प्रवाह, आर्थिक गतिबिधि, कृषि, कफी हाम्रो पहिचान, सामाजिक समस्या, मेरो भविष्यको पेसा र नागरिक सचेतना लगायतका विषयवस्तुहरु पाठ्क्रममा समेटिने छ । १०० पूर्णाङ्कको पाठ्यक्रमकोे नाम ‘हाम्रो मुसिकोट’ प्रस्ताव गरिएको छ । जसमध्ये प्रयोगात्मक र लिखित तथा कक्षा अवलोकन र कक्षा कार्यलाईसमेत मूल्याङ्कनको आधार मानिएको छ। पाठ्यक्रमको १–३ सम्म ५ पाठ्यघण्टा र कक्षा ३–५ सम्म ४ पाठ्यघण्टा रहेको छ । नगरभित्रका ७१ सामुदायिक विद्यालय र ७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुने नगरपालिकाले जनाएको छ । संस्थागत विद्यालयहरुलाई भने अनिवार्य गरिएको छैन । नगरप्रमुख जीवन खरेलले सबै नगरवासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताउनुभयो । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उहाँको भनाइ छ।

- Mero Report