मुसहर दम्पतीको बढेको मायापिर्ती

मुसहर दम्पतीको बढेको मायापिर्ती

“म यौन सम्पर्क गर्न तयार हुन्छु, तर बुढी काम गरेर थाकेकी हुन्छे । यो काम दुबै जनाको सल्लाह र सहमतिमा मात्रै गर्नुपर्छ भनेर मैले बुझेको छु त्यसैले म उसलाई सोध्छु । बुढीको मन नभएपछि म पनि कन्ट्रोल गर्छु ।मलाई मन नहुँदा बुढीले नि त्यसै गर्छे ।”

- मनीराम मुसहर

 

बिनयी-त्रिबेणी ७ बनकट्टीमा बस्ने मनीराम मुसहर र इन्दु मुसहरसँग वर्ष भरी खेती गरेर खान पुग्ने जमिन छैन । अरूको खेत अधियाँमा कमाउनुहुन्छ । खेतीबाहेक अरूकोमा मजदुरी गर्नु वा नदीमा माछा मारेर बेच्नु उहाँहरूको बाध्यता हो ।

इन्दु र मनीरामले ३१ वर्ष अघि मागी बिहे गरेका हुन् । उनीहरूका ३ छोरी र २ छोरा छन् । मधेसको बाक्लो बस्तीको बिचमा पुरानो र सानो दुई कोठा भएको घरमा इन्दु र मनीरामको ७ जनाको परिवारको गुजारा चल्छ । 

बिहे भएको केही वर्ष मनीराम र इन्दुको सम्बन्ध राम्रै थियो । त्यस पछि घरायसी कुरामा दिनै पिच्छे खटपट हुन थाल्यो । कुरा मिल्न छोड्यो । घरभित्र बस्दा दुवैलाई उकुसमुकुस हुन थाल्यो । मनीराम र इन्दुलाई एक अर्कोसँग घरमा बस्नु नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो । उनीहरू सम्बन्ध बिग्रनुमा एकले अर्कोको दोष देख्थे तर सम्बन्ध सुधार्नमा एक अर्कोको के कस्तो भूमिका हुन्छ थाहा पाउन सकिरहेका थिएनन् । 

बिहानै ५ बजे उठेर नारायणीमा माछा मार्न जाने र बेलुका साथीभाइसँग बरालिने मनीरामको दैनिकी हुन थाल्यो । घर भएको बेला पनि इन्दु श्रीमानको अघिल्तिरै पर्दिन थिन् । दुवै जना एक अर्कोलाई छलेर घर व्यवहार गर्थे । एक अर्कोसँग तर्किन्थे ।

श्रीमान् श्रीमतीको बिचमा बोलचाल बन्द भयो। घर सल्लाह हुन छोड्यो । इन्दु मुसहर थप्नु हुन्छ“एउटै छाना मुनी बसेता पनि हामी छुट्टिएर बसे जस्तै भयौँ ।”

बाबुआमाको सम्बन्ध नराम्रो भएपछि छोरा छोरी अन्योलमा पर्थे । कसले भनेको कुन काम गर्नु कुन नगर्नु । आमाको मुखबाट बाबुको नराम्रो र बाबुको मुखबाट आमाको नराम्रो सुन्दा सुन्दा छोरा छोरी पनि आजित भैसकेका थिए । 

यस्तैमा, वर्ष दिन अघि विनयी-त्रिवेणी ७ मा परिवर्तन घरैबाट भन्ने कार्यक्रम सुरु भयो । इन्दु र मनीराम पनि अन्तरङ्ग सम्बन्धमा हुने हिंसा रोकथाम गर्ने परिवर्तन घरैबाटमा सहभागी हुनका लागि छानिए । 

समूहमा भेला भएर अन्तरङ्ग सम्बन्धमा हुने हिंसाका कारणहरू खोतल्न थालेपछि इन्दु र मनीरामलाई पनि आफ्नो सम्बन्धमा रहेको हिंसालाई केलाउने मौका मिल्यो । परिवर्तन घरैबाटमा सहभागी भएपछि ३ वर्षसम्म नबोलेका मनीराम र इन्दु एक अर्कोलाई बोलाउने र एक अर्कोसँग खुलेर कुरा गर्ने हुन पुगे । 

"पहिला पहिला घरमा बुढी हुँदाहुँदै म अर्को केटीलाई हेर्थे । घरमा सधैँ झगडा हुन्थ्यो । मैँले बाहिर आँखा डुलाउन छोडेँ अहिले झगडा हुँदैन । दुवै बूढाबूढीले एक अर्कोलाई गलत देख्दैनौँ अनि झगडा हुँदैन ।” 

“म अरूको खेतमा काम गर्न जान्थे श्रीमानले धेरै रक्सी खाएर आउनु हुन्थ्यो अनि बिना कारण झगडा गर्नु हुन्थ्यो र पिट्नु हुन्थ्यो । हामी बिच धेरै नै झगडा हुने हुँदा हुर्कँदै गरेको छोरा छोरीमा पनि नराम्रो असर परि सकेको थियो । तर अहिले हामीमा धेरै नै परिवर्तन आएको छ ।”

“हामीबिच कचकच धेरै हुन्थ्यो । छोराछोरीहरू लाई टेन्सन बढी हुन्थ्यो । अहिले बुढाबुढी मिलेर बस्दा छोराछोरीहरू पनि खुसी हुन्छन् बोल्छन् हाँस्छन् । परिवारको चार जना मध्ये एक जना खुसी भएन भने तीन जना खुसी भएर पनि राम्रो हुँदो रहेनछ ।” 

इन्दु भन्नुहुन्छ बोल्न सल्लाह गर्न थालेपछि पहिला घरभित्रको कुनै पनि काममा सहयोग नगर्ने मेरो श्रीमान् आज मेरो सहयोगी हुनु भएको छ । मैले चामल केलाइ रहँदा श्रीमानले तरकारी काटिदिनु हुन्छ। हामी घरायसी किनमेल गर्न सँगै बजार जाने भएका छौँ ।हामी मिलेको देख्दा छोरा छोरी पनि खुसी भएका छन् । 

इन्दुले आफ्नो प्रशंसा गरेको सुने पछि मनीराम नि ठट्टा गर्दै भन्नुहुन्छ मलाइ देख्दा भाग्ने श्रीमती अहिले नजिक आएर आफ्ना मनका सबै कुरा भन्छे । म पनि मेरो मनको कुरा सबै भन्छु । अहिले सबै काम सल्लाहमा हुन्छ। पैसाको हिसाबकिताब दुवैलाई थाहा हुन्छ ।परिवर्तन घरैबाटले हामीलाई मिलेर बाँच्ने हौसला दिएको छ ।

बनकट्टीका मनीराम मुसहर र इन्दु मुसहरको जोडी परिवर्तन घरैबाटका धेरै नमुना जोडीहरू मध्येको एक जोडी हो । उहाँहरू समूह छलफलमा सधैँ सहभागी हुनुहुन्छ । तीन वर्षसम्म नबोलेको जोडीको सम्बन्ध अहिले सुमधुर छ । एक अर्कामा केही मतलब नगर्ने जोडी अहिले एक अर्काको आत्मीय अन्तरङ्ग सम्बन्धमा खुसी छन् ।

“पहिला हामी झगडा गर्थ्यौँ छिमेकीलाई रमिता हुन्थ्यो । अहिले छिमेकीहरू झगडा गर्छन् हामी रमिता हेरेर बस्दैनौँ उनीहरूलाई सम्झाउँछौँ । परिवर्तन घरैबाटले गर्दा म जस्तै धेरै मान्छेको सोच फेरिएको छ । अर्काको झगडामा किन जानु पर्‍यो भन्ने सोच हुन्थ्यो तर हिंसा आफ्नो वा अर्काको भन्ने हुँदैन । छिमेकमा भएको हिंसाले मेरो परिवारलाई पनि असर गर्छ । त्यसैले कहीँ झगडा भइरहेको छ भने म सम्झाउन गइहाल्छु । ”

“बच्चाहरू ठुला भइसके अब त के घुम्नुपर्ला र भन्ने लाग्थ्यो त्यस्तो होइन रहेछ उमेर बढे पनि मायाप्रीति बर्करार राख्नुपर्छ । रमाइलो गर्न घुम्नुपर्छ । बुढीलाई सँगै लिएर त्रिवेणीको सीस महलसम्म जाँदा खूब रमाइलो भयो ।”

 

- कृष्णाकुमारी आले, 

बिनयी-त्रिबेणी, परिवर्तन घरैबाट

- Mero Report