मीठो खुवाले चिनिएको गाउँ नौरगिंया

मीठो खुवाले चिनिएको गाउँ नौरगिंया

भैँसी चराउने देखि खुवा घोट्नेसम्म महिलाहरूले नै गर्दछन् । कपिलवस्तुमै
खुवा पाइने ठाउँ भनेर नौरगिंया गाउँलाई चिनिन्छ ।

माधव बेल्वासे,कपिलवस्तु 

घरको आँगन टेकेका पाहुनाको सत्कारमा दिइने मीठो परिकार खुवा । विजयनगरको जुनै घरमा पुगेका पाहुनाको पहिलो सत्कार खुवाबाट गरिन्छ । यो ठाउँ पुग्ने जोकोही व्यक्तिले खान्न भने पनि खुवा मुखमा पर्छ नै । यस्तै पाहुनामा परेका हामीले पनि खुवा नखाई सुखै पाएनौं ।
बिजयनगर गाउँपालिका ५ नौरगियामा भैंसीपालन र खुवा उत्पादन अनि व्यापारबारे रिपोर्टिङ गर्न हाम्रो टोली पुग्यो । नौरगिया गाउँका भैंसीपालक किसानको आँगन पुगेर हामी गफिन सुरु गर्दै थियौं, शिवनाथ अहिरकी श्रीमती फोटीले हाम्रो हातमा कचौराभरि खुवा थमाउँदै स्वागत गरिन् । हामीलाई खुवा खान आदेश गरियो, चोरी औला र जिब्रोको के मिलन भएको थियो, म त लठ्ठै परेँ, क्या मीठो स्वाद । खुवा चाड्दै गरेका मेरा एक साथी कानमा फुस्स भन्दै थिए, ‘यो त २ किलो खान सकिन्छ होला है ।’
बिहान सखारैदेखि हस्याङफस्याङ गर्दै भैंसी चराउने, कुँडोपानी खुवाउने अनि दुहुने कामका जुटिरहेका अहिर परिवारलाई हामीसित गफिने एकछिन् फुर्सद थिएन । गोबरको थाप्रो हातमा उचाल्दै (छेलो फाल्दै गरेको एक्सनजस्तै) हामीलाई भने, ‘एकछिन सरहरु, तपाईहरु खुवा खाँदै गर्नु म यति गोबर फाल्छु अनि गफ गरुमला ।’ नाईनास्ती गर्ने ठाउँ थिएन, सहस्र स्वीकार गर्दै ‘हुन्छ हुन्छ’ ।
उमेरले ४८ वर्ष कट्दै गरेका उनलाई बिहानैदेखि साँझसम्म एकछिन फुर्सद हुन्न । बिहान सखारै भालेको डाँकोमा निद्राबाट ब्युँझिन्छन् । बिहानको ३ बज्दै गर्दा उनी भैँसी फुकाएर जंगल खेद्छन् । यहीबाट सुरु हुन्छ, फोटी र उनका श्रीमान्को दैनिकी ।

सानाठूला गरी उनको गोठमा १५ वटा भैँसी बाँधिएका छन् । यी सबैलाई भुकभुके बिहान नहुँदै जंगल खेदिन्छ । गाउँनजिकै रहेको जङ्गलमा ती भैंसी बिहान ८ बजेसम्म चर्छन् र टन्न अगाएर घर फर्कन्छन् । अहिरका १५ मध्ये ७ वटामात्र दुहुना छन् । यिनले एक छाकमै १५ लिटर दूध दिन्छन् । अहिर बिहानको सबै सक्ने र अघाएका भैंसी घर फर्केपछि दुहुने काम सुरु हुन्छ । ठूलो बाल्टीभरि दूध दुहेर ठूलो ताउलामा खन्याएपछि मीठो खुवा बनाउने श्रीगणेश हुन्छ । त्यो दिन बिहानको अहिर परिवारको रुटिन हामीले नछुटाइ हे¥यो । शिवशंकर खुवाका लागि दूध घोट्न एउटा किसानको काम, लगाव, पशु र मानवको सम्बन्ध अनि थकानबारे सुनाउँदै थिए, ‘सर, पैसा अक्करमा फल्छ भन्थे हो है ।’ चुलोमा खुवा घोटेरमात्रै काम सकिएको थिएन । अहिरले छोराहरूलाई बोलाएर खुवा बेच्न बजार पठाएर । यो बस्तीबाट खुवा बिक्री हुने बजार पुग्न १५ किलोमिटरको दूरी तय गर्नुपर्छ । चन्द्रौटा बजार जहाँ अहिरजस्ता भैंसीपालक किसानका जति पनि बजार पाउँछ ।
अहिरको घरको यो दृश्य अवलोकन पछि  नजिकै रहेको बिरे यादवको घरमा हामी पुग्यौँ । गाउँकै सबैभन्दा धेरै भैँसी बिरेका रहछन् । उनी पनि बिहानै भैँसी चराउन गएर आएका रहेछन् । उनलाई पनि हामी सँग गफिन त्यती समय थिएन । एकैछिनको गफगाफमा बिरेका बुवा कहानी सुन्यो । बिरेका बुवा सोभरामले १० वटा भैँसी वाट सुरु गरेका रहेछन् । बुवाले गरेको यो पेसामा अहिले बिरेले १५ वटा भैँसी थपेर २५ वटा पुराएछन् । खुवा उत्पादन वाटै राम्रो आम्दानी भएपछि उनलाई परिवार पाल्न मुस्किल छैन् । भैँसी र पाडा विक्रीको आम्दानी छोडेर खुवा वाट मात्रै मासिक ३० हजार आम्दानी हुने गरेको बिरेले सुनाए  । १० कट्ठा जग्गामा घाँसको बिउ लगाएका छन् । जङ्गलमा चराउने भैँसीले दूध कम दिने हुँदा अब दाना र घाँस खुवाएर पाल्ने योजना छ ।

गाउँकै शिवप्रसाद यादव खोवा घोटिरहेको अवस्थामा भेटिए । ठुलो कराई मा लामो पन्युले दूधलाई घोटिरहेका यादवलाई श्रीमती बेलाबेलामा पालो दिनुहुँदो रहेछ । भैँसी पालन वाटै उनको  जिविको पार्जन भइरहेको छ । दुधलाई खुवा बनाएर आम्दानी,मलले खेतीपातीमा राम्रो उब्जनी र पाडा पाडी विक्री गर्दा आउने पैसाले छोराछोरी पढाउने र घरखर्च चलाउने गरेका छन् । ‘यो काम त पुरानै हो,बुबाआमाले यहि काम गरे म पनि यहि गरेको छु’यादवले सुनाए ।
परम्परागत पेसाको रूपमा रहेको भैँसी पालन गर्ने र खुवा बनाउने यहाँको चलन छ । दूधलाई घोटेर बनाइने खुवा मिठाई बनाउन प्रयोग गरिन्छ । पहाड तिर खुवालाई कुराउनी भन्ने चलन छ ।  दूधको मूल्य कम पर्ने हुँदा यो गाउँका किसानहरू खुवा तर्फ आकर्षित छन् । नौरगिंया गाउँ मात्र होइन त्यहाँ नजिकै डालपुर नयाबस्ती कटनी लगायतका गाउँका किसानहरू पनि दूध बेच्न यही गाउँमा आउने गर्दछन् । डालपुरका गुरे गुप्ताले दैनिक ५ लिटर दूध तिलकराम यादवलाई बेच्छन् । घरमा खुवा बनाउन झन्झट हुने भएकोले नजिकै रहेका यादवलाई खुवा बनाउनको लागि बेच्ने गरेका हुन । प्रतिलिटर ५० रुपैयाँका दरले यहाँ दूधको खरिदबिक्री हुने गर्दछ । गाउँका सबै किसानहरू वाट दूध खरिद गरी नैरगियाका ९ जनाले मात्र खुवा बनाउने गर्दछन् । उनीहरूले दैनिक १ क्यीन्टल भन्दा बढी खुवा विक्री गर्दछन् ।  चार लिटर दूधको एक किलो खुवा उत्पादन हुन्छ । दूधलाई बजारमा प्रतिलिटर ६० रुपैयाँ पर्छ भने खुवालाई प्रतिकिलो ४ सय पर्दछ । खुवा विक्रीको लागि समस्या नभए पनि बजारको दुरी टाढा भएको हुँदा आवतजावतको लागि समस्या छ ।
बिजयनगर ५ नौरगिंया गाउँका कुनै पनि युवा वैदेशिक रोजगारीमा छैनन् । गाउँका ३० घरपरिवारले भैंसीपालन गरेर  मनग्य आम्दानी गरिरहेका छन् । गाउँका पुरुष भन्दा पनि महिला बढी मेहनती छन् । भैँसी चराउने देखि खुवा घोट्ने सम्म महिलाहरूले नै गर्ने गर्दछन् । कपिलवस्तुमै खुवा पाइने ठाउँ भनेर नौरगिंया गाउँलाई चिनिन्छ ।
२०७७ पुस ८ गते तत्कालीन लुम्बिनी प्रदेशका कृषि पशुपक्षी तथा सहकारी विकास मन्त्री आरती पौडेलले भैँसी स्रोत केन्द्रको घोषणा गर्नुभएको थियो । स्रोत केन्द्र क्षेत्र भएपछि किसानहरू पनि हर्षित छन् । यो कार्यक्रम तिन वर्ष सम्म लागु हुनेछ । अहिले यो गाउँका ३० वटा गोठहरू जस्ता पाताले छाएको छ । खेतमा घाँस लगाएको छ । पानीको लागि घरघरमा मोटर छ । खरको छानो रहने गोठमा जस्तापाता भएपछि हावाहुरीको समय र आगालागि होला भन्ने डर छैन । २०७३ सालमा गाउँका २५ वटा गोठ आगोले जलेका थिए भने दुई वटा भैँसी समेत मरेका थिए । विजय पालले त्यो दिन सम्झिँदै अब त्यो दिन कहिल्यै कसैलाई नपरोस् भन्छन् ।

लुम्बिनी प्रदेश सरकारको ५० प्रतिशत,गाउँपालिकाको ३० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा स्रोत केन्द्रको रूपमा विकास भएको छ । सरकारले अनुदान दिएपछि गाउँका किसानलाई सहज भएको छ । गत वर्ष २० प्रतिशत लगानी लगाउन इच्छुकलाई मात्र योजनामा समावेश गरिएको थियो । भैँसी स्रोत केन्द्रमा रु ३ करोड ८ लाखको बजेटमा रु २ करोड ४ लाख मात्र खर्च गरियो । गाउँमा २० वटा भैँसी अटाउने क्षमताको ५ वटा,१० वटा भैँसी अटाउने क्षमताको २५ वटा गोठ निर्माण भएका छन् । घाँस काटनको लागि २५ थान चाप कटर किसानलाई वितरण गरिएको छ । दुई हर्ज पावरको १० वटा र ६ वटा बोरिङ पनि किसानलाई प्रदान गरिएको छ । तिन वटा भैँसी नस्ल सुधारको लागि बाहिर वाट राँगा खरिद गरी ल्याइएको छ । औषधि,घाँसको बिउँ को बिमा यसै कार्यक्रममा समावेश गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन पशु प्राविधिकको रूपमा जयप्रकाश यादव छन् । भैँसीहरु बिरामी भएमा यादवले निःशुल्क रूपमा उपचार गर्दछन् ।
भैँसी स्रोत केन्द्रको अध्यक्षमा शिवनाथ अहिर छन् । किसानको आवश्यकताको आधारमा योजना बनाउने र पालिका र प्रदेशमा माग गर्ने उनको योजना छ । गाउँमा सडकको समस्या रहेकोले यस वर्ष सडक निर्माणको लागि आग्रह गरिएको अहिरले बताए । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको दूधको उत्पादनमा वृद्धि,प्रजनन क्षमतामा वृद्धि र नागरिकहरुलाई आत्मनिर्भर बनाउने हो । गत वर्ष विविध कारणले पुरा काम हुन नसकेपनि यस वर्ष केहि योजनाहरु समावेश गरिएको भेटेरीनरी तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसालले बताए ।

गाउँका किसानहरू अत्यन्तै मेहनती रहेको परम्परागत पेसा रहेकोले यस गाउँलाई भैँसी स्रोत केन्द्रको रूपमा विकास गरिएको वडा अध्यक्ष अनवर मुसलमानले बताए । “तीन वटा गाउँमा गरेर ८ सय भन्दा बढी भैँसी छन्”,मुसलमानले भने, “यहाँका युवाहरू विदेश जादैनन भैँसीपालन वाट राम्रो आम्दानी गर्ने गरेका छन्, ।” बिजयनगर गाउँपालिकाले वडा १ र २ मा पनि पशुपालन केन्द्रित बजेट विनियोजन गरेको छ । थारु समुदायको बाहुल्यता रहेको यी वडाहरूमा बगुर पकेट,बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरेको छ । नेवलिगंज,जवावैराठ,गुगौलि लगााएतका गाउँका युवाहरूले बगुर पालन गरिरहेका छन् । विदेश वाट फर्किएका युवाहरूलाई कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध गराई प्रोत्साहन गर्ने गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । प्रत्येक वर्ष पशुपालक हरुलाई प्राथमिकताका दिएर कार्यक्रमहरू छनोट गरिएको उनको भनाई छ । “सबै गाउँलाई कुनै कुनै माध्यम वाट परिचित गराउने योजना छ,नौरगिया डालपुर कटनी लगायतका गाउँ भैँसी स्रोत केन्द्र भइसके ती गाउँमा थप विकास गर्न जरुरी छ, थापाले भने, “अन्य गाउँहरूका नागरिकहरूलाई पनि आत्मनिर्भर बनाउन कुनै पेसामा आबद्ध बनाउन जरुरी छ, ।”

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई यो गाउँ उदाहरण बन्न सक्छ । घरमै बसेर राम्रो आम्दानी गरी सन्तुष्ट भएको देख्न सकिन्छ । यस पेसामा आबद्ध रहेका धेरैजसोको भनाई आफ्नै देशमा केही गर्न सक्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ । 

https://www.newscenternepal.com/2021/10/83683

- Admin

Popular Blogs

All