महिलालाई दोहोरो कामको बोझ

     पनौती नगरपालिका वडा नं ७ का कल्पना घिमिरे सिलाई व्यवसायी हुन् । उनी विहान सबैरै उठेर घरको सबै काम भ्याउछिन् अनि १० बजेपछी टर्लरतिर लाग्छिन् । दिनभरीको थकान एकतिर हुदाहुदैँ पनि घरको बाँकी काममा सरिक हुनथाल्छिन् । व्यवसायको सिजनमा त काममा पनि मारामार पर्छ अनि घरमा पनि । घिमिरेको दैनिकी करिब १० बर्षदेखी यसैगरी निरन्तर चलेको छ । एउटी महिला जो आत्मनर्भर छिन् । उनलाई आर्थिक रुपमा अरुको भर पर्नुपदैँन । चाहेको खानेकुरा, लत्ता कपडा, स्वास्थ्य उपचार आफैँ गर्न सक्छिन् । तर के घरको जिम्मेवारी पनि साथैमा लिएकी कामकाजी महिलाको लागि यो सहज छ ? पक्कै पनि छैन । विहानको झिसमिसेदेखी साँझको मिर्मिरेसम्म उनी जिम्मेवारीले बाधिएकी हुन्छिन् । कामबाट घर फर्किंदा घरमा गर्नुपर्ने जिम्मेवारीले उनको बाटो हेरिरहेको हुन्छ । फेरी बाहिरको कामले पनि उनैलाई प्रतिक्षा गरिरहेको हुन्छ ।
     घिमिरे त एउटा उदाहरण मात्र हुन् । उनी जस्ता थुप्रै पात्र हाम्रो समाज पर्याप्त मात्रमा छन् । व्यवसायिक क्षेत्र, राजनीति, विद्यालय, बैंक, स्वास्थ्य, समाजिक कार्य हरेक क्षेत्रमा पुरुष सरह खटिने महिला घरमा महिलाले गर्ने काम भनेर छुट्टिएको जिम्मेवारीले थिचिएकी हुन्छिन् ।
     बनेपा नगरपालिका वडा नं ६ बसपार्कका ३३ वर्षीया स्मिता बज्रचार्य ८ वर्षको सर्घषपछी अहिले एनआइसी एसिया बैंकको धुलिखेल शाखामा डिएमको रुपमा काम गरिरहेकी छन्  । काम गर्ने क्रममा महिला भएकै कारण धेरै चूनौतीको सामाना गर्नुपरेको उनको भोगाई छ । ‘घरपरिवार र बैंकको काम दुबै सम्हाल्दा कहिलेकाही धेरै गारो भएको महशुस हुन्छ । तर मलाई परिवारको सहयोगको कारण केही मात्रामा भए पनि सहज छ ।’ बज्रचार्यले भनिन् । बैंकिङ कारोबार र घरको कारोबारमा धेरै अन्तर छ तर पनि सन्तुलन मिलाएर दुबै सम्हालिरहेको उनको भनाई छ । दुबै कामसँगै लैजादा बोझ त हुन्छ तर पनि गर्नै पर्ने बाध्यता रहेको उनी बताउछिन् । सानैदेखी बैंकमा काम गर्ने आफ्नो दृढ इच्छाशक्तिको कारण पनि आफु सफल भएको उनको भनाई छ ।

     सामाजिक रुपमा हाम्रो पालनपोषण र हुर्काई जुन किसिमले भयो त्यही किसिमको मानसिक सोचाई विकास हुन्छ । आफुले सानैदेखी जे सुन्यो, जे देख्यो त्यही मात्र सत्य हो भन्ने सोचाई त्याग्नुपर्ने बनेपा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर बताउनुहुन्छ । ‘मलाई मेरो श्रीमानले कपडा धोएको र भाडा माझेको चित्त बुझ्दैँन । त्यसैले राजनीतिमा कुशल भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारीसँगै घरको जिम्मेवारी पनि आफैँ सम्हाल्छु ।’ मानन्धरले भनिन् । पुरुषहरुले घरको काम गरेको सुहाउदैँन र उनिहरुले घरको राम्रो हेरचाह गर्न सक्दैँनन् भन्ने लाग्न सक्छ । त्यसकारण महिलाहरुले पनि यस्ता विचार त्याग्नु जरुरी रहेको उनी बताउछिन्  ।

     यस्तै बनेपा नगरपालिकाका उपप्रमूख विमला सापकोटा दाहाल पनि घरको जिम्मेवारीसँगै राजनीतिक कार्य र उपप्रमूखको भूमिका निर्वाह गरिरहेकी छिन् । हाम्रो समाज पितृत्तात्मक समाज भएकाले महिलाले गर्ने काम महिलले नै गर्नुपर्छ भन्ने गत सोचाई रहदैँ आएको उनी बताउछिन् । महिलाहरु जुन ठाउँमा पुगेपनि आफुले निभाउनुपर्ने दायित्व चटक्कै छोड्न नसकिने उनको अनुभव छ । ‘विहान सबेरै उठेर हुन्छ या बेलुका छिटो सुतेर घरको काम सहित बाहिरी जिम्मेवारी निभाउनुपर्ने बाध्यता छ ।’ उनले भनिन् । महिलाहरुले गरेको काममा हाम्रो समाजले विश्वास गर्दैन । त्यसकारण महिला पनि सक्षम छन् भनेर विश्वास दिलाउन अरु भन्दा इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने सापकोटा बताउछिन् ।

     व्यवसाय सम्हाल्न थाल्यो घर विग्रिन्छ, घर सम्हाल्न थाल्यो व्यवसाय बिग्रिन्छ । घरेलु तथा साना उद्योग कार्यलय धु्लिखेल काभ्रेका उद्यम विकास सहजकर्ता गिता पुकुर्टीलाई पनि कहिलेकाही त्यस्तै लाग्छ । पनि १०–५ को काम सक्काएर घरमा विहान बेलुको खाना पकाउनेदेखी खेतवारीको काममा समेत सरिक हुन्छिन् । शनिवार आयो अब आराम गर्छु भन्ने खासै लाग्दैँन । बरु दुबैतिरको कामको बोझ हुँदाहँुदै पनि दुबै काममा कुशल भूमिका निर्वाह गर्न तर्फ लागि पर्छिन् । यही कारण हुन सक्छ उनको जागिरसँगै तरकारी खेती पनि मौलाएको छ ।  

     महिलाहरुलाई घरको र बाहिरको काम गर्दा दोहोरो बोझ पर्छ तर पनि चुपचाप आफ्नो भूमिका निभाउन अटल उनि जिम्मेवारीबाट भाग्दिनन् । यसरी दोहोरो बोझ परेका कति महिला डिप्रेशनको सिकार भएका छन् । कति महिला शारिरिक रुपमा कमजोर देखिन्छन् । जसको कुनै वास्तविक तथ्य छैन । महिलाहरूलाई बाल–बच्चाहरूको स्याहार–सुसार गर्ने, खाना बनाउने, भाडा माझ्ने, वस्तुभाउ हेर्दै खेतीगर्ने काममा मात्र सिमति गराउन खोज्ने हाम्रो समाजका महिला अहिलेको समयमा २ कदम भएपनि माथि उठेका छन् भन्ने कुरा कल्पना घिमिरे,  स्मिता बज्रचार्य, शुभलक्ष्मी मानन्धर, विमला सापकोटा र गिता पुकुर्टीले प्रमाणित गरेका छन् ।