भविष्यको खोजीमा गोरखाका एकीकृत कृषि फर्म

भविष्यको खोजीमा गोरखाका एकीकृत कृषि फर्म

व्यावसायिक कृषि तर्फ आकर्षण गर्दै आयआर्जनमा सहयोग

विकास मरहट्ठा, गोरखा

दश वटा माछा पोखरी । ग्रास, रहु, नैनी र माउर जातका । पोखरीको डिलमा केरा खेती । तीन वटा खोरमा बोइलर कुखुरा । साथमा बङ्गुर, सुङ्गुर पालन पनि । एकीकृत रूपमा यसरी कृषि फर्म सञ्चालन गरिएको ठाउँ हो, गोरखाको सहिद लखन गाउँपालिका– ३ कल्लेरीफाँट । सहिदको नामबाट राखिएको गाउँपालिकालाई अब भने लाफा नमुना साँच्चै कृषिको लागि नमुना भएर चिनाउने नाम भएको छ ।

केही वर्ष अघिसम्म बाँझै बस्ने यो फाँट वनमासा घारीले उजाडे थियो । अधिया गरेर खाऊ भन्दा पनि कोही मान्दैनथे । त्यही फाँट अहिले बाह्रै महिना हरियो भएको छ । वैदेशिक रोजगारीबाट फर्केका मनकामनाका दश युवाहरू गठ जोडले यो क्षेत्रमा एकीकृत कृषि फर्म सञ्चालन भयो । अनि कृषिका लागि उदाहरणीय उत्पादन क्षेत्र पनि । 

२०७२ सालबाट उनीहरूले फर्म सञ्चालन गरेका हुन् । फर्मको नाम लाफा नमुना राखिएको छ । सुरुको लगानी ४० लाख रहेको फर्म सञ्चालक एवं व्यवस्थापक कबिर थापा बताउँछन् । ‘साना कृषि सहकारीबाट २० लाख ऋण निकाल्यौ, बाँकी हामीहरूले थपथाप गर्‍यौँ,’ उनले भने । दश वर्षलाई भाडामा लिइएको २५ रोपनी जग्गामा तरकारी, माछा र कुखुरा पालन गरिएको छ । ‘सुरुमा दश रोपनी जग्गामा तरकारी खेती गर्‍यौँ,’ उनले भने, ‘पाँच रोपनीमा तीन वटा माछा पोखरी र बाँकीमा बोइलर कुखुरा हाल्यौ ।’ प्लास्टिक टनेल बनाएर काँक्रो, घिरौँला, गोलभेँडा, भन्टा, आलु, काउलीजस्ता तरकारी खेती गरेको उनी बताउँछन् ।

अहिले खेती बिस्तार गरिँदै लगिएको छ । ४५ रोपनी जग्गामा खेती बिस्तार भइसक्यो । लगानी पनि बढाउँदै लगिएको छ । ‘सुरुवातको लगानी ४० लाख थियो, अहिले डेढ करोड पुगिसक्यो,’ उनले भने । फर्मबाट आएको आम्दानीले लगानी बढाउँदै लगिएको उनले  बताए । 

माछाको भुरा उत्पादन र बिक्री वितरणमा जोड दिइएको छ । माछा पोखरीका डिलहरूमा केरा खेती छन् । करिब ८ रोपनी क्षेत्रफल केरा खेतीले ओगटेको छ । तीन वटा खोरमा बोइलर छन् । करिब ६ हजार कुखुरा खोरमा अटाउँछ । कडकनाथ, घाँटी खुइले, स्याकिनो जातका कुखुरासँगै हाँस, टर्की, बट्टाई पनि रहेको थापाले बताए । 

उनका अनुसार पछिल्लो समय तरकारी भन्दा मासुजन्य उत्पादनलाई बढी जोड दिइएको  छ । ‘माछा मासु उत्पादनलाई नै प्राथमिकता दिएका छौ, तरकारी सिजनको बेलामा मात्र लगाउँछौ’ उनले भने । तरकारीभन्दा पशुपक्षी पालनमा लगानी डुब्ने सम्भावना कम हुने उनीहरूको बुझाइ छ । ‘तरकारी लगायो, असिना पानी र हावाहुरीले पनि क्षति पुग्ने तर, पशुपक्षीमा त्यस्तै समस्या हुन्न, बिमा पनि हुन्छ, लगानी सुरक्षित भयो फेरि उत्पादन पनि चाडै हुने,’ उनले भने । 

मासुका लागि बङ्गुर, सुँगुर र बँदेल पनि पालिएको छ । लोकल र अमेरिकन जातको ल्याण्डरेज बङ्गुर पालिएको थापाले बताए । हाललाई ३० वटा बङ्गुर रहे पनि सङ्ख्या बढाउँदै लैजाने योजना उनी सुनाउँछन् । ‘६० वटा अट्ने खोर बनाउँदै छौ, त्यो तयार भएपछि बङ्गुर सङ्ख्या थप हुन्छ,’ उनले भने । 

आफैँ सञ्चालक आफै कामदार

फर्ममा सञ्चालकहरू नै कामदारको रूपमा छन् । दश जनाले कामको जिम्मेवारी बाँडफाँड गरेका छन् । ‘महिनाको २० दिन हाजिर हुनैपर्छ, फर्ममा बस्ने पनि पालो हुन्छ, बसेको छुट्टै भत्ता आउँछ,’ थापाले भने । केही कामदार थप गर्ने उनीहरूको तयारी छ । फर्मबाट वार्षिक ४० लाखभन्दा बढी आम्दानी हुन थालेको छ । 

धेरै कुरामा फाइदा पुग्ने अपेक्षा सहित एकीकृत कृषि फर्म सञ्चालन गरेको उनीहरू बताउँछन् । ‘खेतीका लागि आवश्यक मल कुखुरा र बङ्गुरबाट पाइन्छ । बङ्गुरको पिसाबले माछा पोखरीमा पोटासियमको काम गर्छ, फेरि एकीकृत खेती गर्दा आम्दानी पनि बाह्रै महिना भइरहन्छ,’ थापाले भने । पोखरी र सिँचाइका लागि आवश्यक पानी दरौदी खोलाबाट लिफ्टिङ गरेर ल्याइएको छ । भुन्टे कुलोको पानी पनि कहिलेकाही प्रयोग हुन्छ ।

छैन बजार समस्या

फर्ममा उत्पादन भए जति सबै बिक्छ । सामान बिकेन भन्नु कहिल्यै परेको छैन । अर्का सञ्चालक झक्कल बहादुर थापाका अनुसार बोइलर कुखुरा काठमाडौँ, पोखरा लगायतका ठाउँसम्म पुग्छ । माछा गोरखा, लम्जुङ्ग, तनहुँ, धादिङ लगायत जिल्लामा । बङ्गुर र सुँगुर स्थानीय बजारमै बिक्री हुने उनी बताउँछन् । ‘अहिले यही नजिकै नयाँ पुलमा हाटबजार पनि सञ्चालन भएको छ, उत्पादन गरेको कृषि उपजहरू त्यही लगेर बेच्न पाइन्छ,’ उनले भने । सडक सञ्जाल जोडिएका कारण पनि बजार सहज भएको हो ।

उत्कृष्ट फर्म घोषित

आर्थिक वर्ष २०७३/७४ मा यस फर्मलाई गण्डकी प्रदेशकै उत्कृष्ट एकीकृत फर्म घोषित गर्दै पुरस्कार समेत दिइयो । त्यस्तै माछा पालन तर्फ प्रदेशकै उत्कृष्ट फर्म बन्न सफल भएको थियो । उक्त फर्मले गाउँपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायत निकायबाट अनुदान सहयोग पनि प्राप्त गर्दै आएको छ ।

अवलोकन तथा अनुसन्धानको गन्तव्य

अहिले उक्त फर्म अवलोकनको गन्तव्य स्थल पनि बनेको छ । सरकारी टोलीदेखि शैक्षिक भ्रमणसम्म फर्मको अवलोकन गर्न आउने थापा बताउँछन् । कतिपय स्थानीयलाई सिकाइ केन्द्र पनि बन्ने गरेको छ । ‘वरपरका बासिन्दा यहाँ आएर खेती गर्ने सीप सिक्ने अनि त्यही अनुसार गर्न थालेका छन्,’ उनले भने ।

सोही फर्मको सिको गर्दै सहिद लखन गाउँपालिका–२ रैगरवेशीमा पनि एकीकृत कृषि फर्म सञ्चालन गरिएको छ । ६ दाजुभाइ मिलेर २०७५ सालबाट नवयुग खिलेमिसन याँदी ६ भाइ भिजन कृषि तथा पशुपक्षी फर्म सञ्चालन गरेका छन् । ६० लाख लगानी गरेर १७ रोपनी जग्गामा फर्म सञ्चालन भएको छ । ‘१४ रोपनी आफ्नै जग्गा हो, ३ रोपनी जति पाँच बर्सलाई भाडामा लिएका छौ,’ सञ्चालक मध्येका पुष्प थापाले भने । 

दुई वटा खोर निर्माण गरेर करिब ६ हजार बोइलर कुखुरा पालिएको छ । डिउरो जातको बङ्गुर र चार वटा पोखरीमा माछा पालन गरिएको छ । दुई वटा टनेलमा तरकारी खेती छ । बट्टाई, कालिज पनि छन् । विशेष गरी बङ्गुर र सुँगुरको बच्चा उत्पादन र बिक्री वितरणलाई जोड दिइएको थापा बताउँछन् । उत्पादित उपजहरू स्थानीय स्तरमै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । ‘अहिले सम्मलाई बजारको केही समस्या छैन, यही गाउँमै हारालुछ हुन्छ,’ उनले भने । अहिले उनीहरूले लगानी पनि बढाएका छन् । एक करोडको हाराहारीमा लगानी भइसकेको थापा बताउँछन् । वार्षिक आम्दानी २५ लाख रहेको उनको भनाइ छ । फर्मलाई थप बिस्तार गर्दै लैजाने उनीहरूको योजना छ । 

पछिल्लो समय सहिद लखन गाउँपालिकामा एकीकृत कृषि फर्म गर्नेहरू बढेका छन् । गाउँपालिकाको तथ्याङ्क अनुसार हालसम्म ३१५ वटा एकीकृत कृषि फर्म दर्ता भएर सञ्चालन भइसकेका छन् । करिब १५ सय रोपनी क्षेत्रफलमा खेती फैलिएको छ । एकीकृत फर्म सञ्चालन गर्नेहरू बढेसँगै जमिन बाँझो बस्ने क्रम घटेको गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोका बत्ताउँछन् । ‘एकीकृत खेती गर्नेहरू बढेपछि गत वर्ष १७० रोपनी बाँझो जग्गामा खेती भयो, यो वर्ष पनि बढ्छ,’ उनले भने । 

एकीकृत कृषि फर्म सञ्चालन गर्नेलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । पाँच रोपनी भन्दा बढी जग्गा भाडामा लिएर खेती गर्नेलाई भाडामा २५ प्रतिशत अनुदान उपलब्ध गराउँदै गाउँपालिका अध्यक्ष रमेश थापा बत्ताउँछन् । ‘किसानलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन प्राइम बैकसँग सम्झौता गरेका छौ,’ उनले भने, ‘कम्तीमा पाँच लाख देखि माथि ऋण उपलब्ध हुन्छ ।’ ५ देखि बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुने र गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए । गत वर्ष कृषि र पशु क्षेत्रमा करिब ७०/७० लाख रकम विनियोजन गरेको गाउँपालिकाले यस वर्ष पनि सोही रकमको हाराहारीमा बजेट विनियोजन गरेको जनाएको छ । व्यावसायिक कृषि तर्फ आकर्षण गर्दै आयआर्जनमा सहयोग पुर्याउने उदेश्य रहेको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । 

त्यस्तै पालिकाले थोपा सिँचाइ, प्लास्टिक पोखरी लगायतका कार्यक्रममा अनुदान पनि वितरण गर्दै आएको छ । कृषकहरूलाई ह्याचरी मेसिन, घाँस काट्ने मेसिन लगायतका उपकरण पनि वितरणको तयारी भइरहेको बताइएको छ ।

- Mero Report