बेचबिखनबाट उद्धार भएकालाई समाजले नस्विकार्नु दुर्भाग्य

बेचबिखनबाट उद्धार भएकालाई समाजले नस्विकार्नु दुर्भाग्य

‘हामी एउटै स्कुलमा पढ्थ्यौँ र म उनीहरूलाई स्कुलको समयअघि र पछि बारम्बार भेट्ने गर्थेँ । तर एक दिन, मैले उनीहरूलाई देखिन । किनकि, उनीहरू त बेचिइसकेका थिए !’ 

बाँके जिल्लाको बैजनाथ गाउँपालिकाकी १७ वर्षीय मेनुका सुनार अहिले पनि साथीहरू बेचिएको कुरा सुनाउँदा भावुक हुन्छिन् । तिनै मेनुकाले स्थानीय सामुदायिक कार्य अनुसन्धानकर्तालाई आफूभन्दा तल्लो कक्षामा पढ्ने साथीहरू बेचिएको जानकारी गराएकी थिइन् । मेनुकाकै जानकारीका आधारमा बेचिएका किशोरीहरूको भारतको राजधानी दिल्लीबाट उद्धार गर्न सम्भव भएको थियो ।

मेनुका भन्छिन्, ‘मेरा जुनियरहरू सामाजिक सञ्जालमा सक्रिय थिए र सामाजिक सञ्जालमार्फत नै उनीहरूले आफ्ना नजिकका सहपाठीहरूलाई आफू बेचिएको शङ्का लागेको सूचना दिए । त्यसपछि उनीहरूका सहपाठीहरूले नेपालगन्ज, कोहलपुर र बैजनाथमा मानव बेचबिखनविरुद्ध काम गर्ने स्थानीय सामुदायिक कार्य अनुसन्धानकर्ता र युवा क्लबलाई उनीहरूको अवस्थाबारे जानकारी गराए । त्यसपछि मानव बेचबिखनविरुद्ध काम गर्ने प्रहरीको स्थानीय टोलीसम्म जानकारी पुग्यो । 

विद्यार्थीलाई राम्रो रोजगारीको लोभ देखाएर फसाइएको प्रहरीले पत्ता लगायो । प्रहरीकै सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेर घर ल्याउन सम्भव भयो । आफ्ना दुई साथीहरूलाई उद्धार गर्ने प्रक्रियामा रेडियो कार्यक्रम मायासँग मनका कुरा सुनेर आफूले पाएको जानकारीले असाध्यै राम्रो काम गरेको मेनुका बत्ताउँछिन् । आफूबाट जानकारी पाएपछि सामुदायिक कार्य अनुसन्धानकर्ता, युवा तथा किशोरी क्लबहरू र प्रहरीले पनि राम्रो सहयोग र समर्थन गरेकोमा मेनुका सन्तुष्ट छिन् । 

तर मेनुका भन्छिन्, बेचिएका किशोरीहरूको उद्धार मात्रै गरेर काम सकिँदैन किनभने, त्यसरी उद्धार भएका किशोरीहरूले समाजमा पुनर्मिलनका लागि ठुलो सङ्घर्ष गर्नुपर्छ । छिमेकका बुढापाकाले आफ्ना छोरीहरूलाई उद्धार गरिएका किशोरीहरूसँग घनिष्ठ सम्बन्ध नराख्न भनिरहेका हुन्छन् । समाजले बहिष्कार गरेका कारण बेचबिखनबाट उद्धार भएका किशोरीहरू सँधैजसो, आफ्नो कोठामा ताल्चा लगाएर एक्लै बस्ने गर्छन् । मेनुका भन्छिन् यो हाम्रो समाजको दुर्भाग्य हो । 

बेचबिखनबाट बाँचेका तथा उद्धार भएका व्यक्तिलाई सामान्य जीवन बिताउन समुदायको साथ सहयोग र समर्थन अत्यावश्यक हुन्छ । यो कुरा राम्रोसँग बुझेका बाँकेका स्थानीय युवाहरूले उद्धार भएका किशोर किशोरीलाई युवा क्लब तथा किशोरी क्लबका विभिन्न गतिविधिमा भाग लिन आग्रह गर्छन् र सहभागी गराउँछन् । उनीहरूलाई नियमित विद्यालय जान र फेरि सामान्य जिन्दगीमा फर्कन युवा तथा किशोरी क्लबहरुले सघाइरहेका छन् । 

मेनुकाको विचारमा यदि ती दुई किशोरीले मानव बेचबिखन विरुद्धको कुनै पनि रेडियो कार्यक्रम सुनेका थिए भने उनीहरू बिचौलियाको विश्वास गरेर दिल्लीसम्म पुग्दैन थिए । त्यो घटनापछि युवा क्लबका सदस्यहरूले आफ्ना छिमेकीहरूलाई कसैप्रति बेचबिखनको शङ्का लागेमा तुरुन्तै क्लबका सदस्य वा सामुदायिक कार्य अनुसन्धानकर्तालाई खबर गर्न अथवा प्रहरीलाई जानकारी दिन भनिरहेका छन् । स्थानीय युवा क्लबहरूले मानव बेचबिखनको जोखिम र अवस्थाको बारेमा हरेक हप्ता नियमित बैठक बसेर छलफल पनि गर्छन् । 

- प्रोटेक्ट बाँके

- Mero Report