बिमलाको जीवन संघर्ष: हिंसाले परदेश, पार्टी कर्मले उपप्रमुख

बिमलाको जीवन संघर्ष: हिंसाले परदेश, पार्टी कर्मले उपप्रमुख

मदिरा नियन्त्रणकी अभियान्ता, कोभिड नियन्त्रणमा उत्कृष्ट काम

टोपलाल अर्याल

गुल्मी । १६० सिसिको मोटरसाइकल । बर्खे भेल, झरी, हुरी र घामको कुनै प्रवाह छैन । गाउँपालिकाको गतिविधि, विपद्, सभा–गोष्ठी र पार्टी कर्ममा सधैं सक्रिय रहने नाम हो, विमला खत्री । इस्मा गाउँपालिका उपप्रमुख खत्री उमेरले ४१ हिउँद कटिसकिन् ।

गाउँपालिकामा निर्वाचित भएको एक वर्षदेखि लगातार मोटरसाइकलमै हुँइकिन्छिन् । खत्रीका लागि सधैं गाउँपालिकाको गाडी अनुकूल हुँदैन पनि । पदीय हिसाबले धेरैपटक गाउँगाउँ पुग्नुपर्ने बाध्यता थियो । मनमा मोटरसाइकल सिक्ने अठोट जाग्यो । करिब एक हप्तामा मोटरसाइकल चलाउन थालिन् । ‘ठूलो मोटरसाइलक भएकाले दुर्घटनामा पनि धेरै पटक परेँ । तर, ठूलो क्षति भएन,’ उपाध्यक्ष खत्री भन्छिन्, ‘जति ढल्थेँ त्यति हिम्मत आउँथ्यो ।’

उनी कोभिड नियन्त्रण, अनुगमन, मुद्दा मामिलाका लागि गाउँ–गाउँ र काम परे तम्घास अनि बुटवलसम्मै मोटरसाइकलमा दौडिन्छिन् । खत्री मोटरसाइकलमै कोभिड १९ नियन्त्रणमा राति १२÷१ बजेसम्म गाउँ–गाउँ पुग्थिन् । कोभिड नियन्त्रणका लागि इस्मा गाउँपालिकाले मोवाइल टोली बनाएको थियो । सो टोलीमा सवै पुरुष थिए । खत्रीमात्र एक्लो महिला । महिला भए पनि पुरुष टोलीको नेतृत्व गरेर गाउँ–गाउँ पुगिन् । उनको कामले जिल्लामा निकै प्रशंसा पायो । ‘कोभिड संक्रमण तीव्र हुँदा कैयांै रात भोकै सुतेका अनुभव छन् । जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइन व्यवस्थापन गर्दा र परीक्षणमै रात बित्थे,’ उनले भनिन्, ‘बिहान उज्यालो नहुँदै मोवाइल टोली कुदाउँथेँ ।’ जिल्लामा कोभिड, मदिरा नियन्त्रण र विपद्को क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै खत्रीलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्मानसमेत गरेकी थिइन् ।

समुदायकी अभियान्ता

इस्मा गाउँपालिका उपप्रमुख बिमलाले आफैलाई हिंसापीडित महिलाका रुपमा स्वीकार गर्छिन् । त्यही पीडाले आज मदिरा नियन्त्रणमा उत्प्रेरणा थपिरहेको छ । उनले ०५२ सालमा १७ वर्षमै बिबाह बन्धनमा बाधिएकी थिएन् । खत्रीका अनुसार तत्कालीन समयमा गाउँमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन अत्यधिक थियो । उनका श्रीमान्ले पनि मदिरा खान्थे । यही कारण श्रीमान्ले दिने शारीरिक तथा मानसिक पीडाले विक्षिप्त थिइन् उनी । तर, आफ्नो पीडा लुकाएर अरु हिंसापीडित दिदीबहिनीलाई ढाडस दिन्थिन् । खत्रीले परिवार र समुदायमा मदिराले निम्त्याएको हिंसाका कारण न्याय र संघर्षको बाटो खोजेकी थिइन् । विस्तारै गाउँमै प्रहरीसँग समन्वय गरेर टोल सुधार समितिमार्फत ०६७ देखि ७० सालसम्म मदिरा नियन्त्रणको काम गरिन् । त्यो बेला पनि चुनौती निकै थियो । उनको टोलीमाथि आक्रमण भयो । बीचमा परिस्थितिले परदेश पसिन् । मदिरा नियन्त्रणको अभियानले पछि निरन्तरता पाएन् ।

छोरा बोकेर एसएलसी, छोरीसँग क्याम्पस

उपप्रमुख खत्रीले २०५१ मा बाँझकटेरी माविबाट एसएलसी परीक्षा दिइन् । तर, गणितमा उत्तीर्ण भइनन् । तत्कालीन समयमा घरमा सासूको निधन भएकाले पूरक परीक्षा दिन भ्याइनन् । पढाइ बीचमै रोकियो । ०५३ सालमा जेठी छोरीको जन्म दिइन् । एसएलसी कुनै न कुनै दिन पास गर्नुपर्छ भन्ने मनमा जाग्यो । २०५६ सालको कात्तिकमा पुनः दोस्रो सन्तानको रुपमा छोरा जन्मियो । तत्कालीन समयमा माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो । तीन महिनाको नानी बोकेर उनले एसएलसी दिइन् । उनी पास पनि भइन् । ‘छोरा बोकेरै परीक्षा दिएँ, किनकी मनमा पढाइप्रतिको ऊर्जा थियो,’ उनले भनिन्, ’फलस्वरुप परीक्षामा उत्तीर्ण भएँ, खानेमुखलाई जुँगाले नछेक्ने रहेछ ।’ विमलाले ०६० सालमा जनज्योति निम्न माध्यमिक विद्यालय हस्तीचौरमा मासिक ५ सय पाउने गरी पढाइन् । यो कार्य दुई वर्ष चल्यो । त्यसपछि ०६२ सालमा प्राथमिक विद्यालय तहको राहात दरबन्दीमा नियुक्त भइन् । तत्कालीन समयमा शिक्षक भएपछि १२ कक्षा अनिवार्य पास हुनुपथ्र्यो । सोही कारण उनलाई पनि पढ्नै पर्ने बाध्यता भयो । त्यसबेला खत्रीको छोरी सम्झना ११ कक्षामा पढ्थिन् । उनी कक्षा ११ मा भर्ना भइन् । दिउँसो स्कुल, बिहान क्याम्पस । आमाछोरीसँगै क्याम्पस जान्थे । पछि छोरीलाई आमासँग क्याम्पस जान गाह्रो भयो । ‘छोरीले सँगै जान गाह्रो मानेपछि उनलाई नियमित क्याम्पस पठाएँ, मैले घरको काम र स्कुल पढाएँ,’ उनले भनिन्, ‘मलाई छोरीले घरमा पढाइमै सहजीकरण गरिन् ।’ ०६८ सालमा कक्षा ११ मा अंग्रेजी विषयमा असफल थिइन् । तर ०६९ सालमा कक्षा ११ को अंग्रेजी तथा कक्षा १२ दुवैमा उत्तीर्ण भइन् ।

हिंसाकै कारण बालबच्चा छाडेर परदेश

तीन छोराछोरी जन्मिए । मैले पढाएको पैसा पनि श्रीमान्ले बुझ्थे । छोराछोरीलाई पालनपोषण र शिक्षादिक्षामा समेत समस्या प¥यो । मैले बाध्यताले विदेश यात्रा रोजेँ । खत्री श्रीमान्ले मदिरा सेवनपछि गर्ने व्यवहार र बालबच्चका लागि ०७० साल कात्तिक २१ गते वैदेशिक रोजगारीमा साइप्रस प्रस्थान गरिन् । कार्तिक २१ गते साँझ ५ बजे प्लाइट थियो । जब प्लेनभित्र बसिन्, तब बालबच्चाहरुको यादले रोइन् । प्लेनमा धेरै नेपाली थिए । तैपनि कसैसँग बोल्न सकिन । बिस्तारै प्लेन गन्तव्यमा उड्दै थियो । म भने छोराछोरीको यादले अर्धपागल जस्तै भएँ । लामो यात्रापछि साइप्रस झरियो । म्यानपावरले मान्छे लिन आउँछ भनेको थियो । मसँग नम्बर थियो । तर, सिम थिएन । प्लेनबाट झरेको ४ घण्टापछि मात्र लिन आयो । दुई दिनसम्म पानी मात्र खाएर बसेँ । उनले काम थालिन् । मासिक ३ सय ३१ युरो अर्थात् ४१ हजार ७०६ रुपैयाँ थियो । प्रत्येक आइतबार कम्पनीले बिदा दिन्थ्यो । तर, उनले आइतबार पनि काम गर्थिन् । कमाएको सबै रकम छोराछोरीका लागि पठाइन् । तत्कालीन समयमा छोरा बोडर्स थियो । कान्छी छोरीले कक्षा सातमा पढ्थिन् । जेठी छोरीले बुटबल अस्फोर्ड कलेजमा पढ्थिन् । छोराछोरीकै लागि साइप्रस पसेकी खत्रीले ३ वर्ष चार महिना काम गरिन् । फर्कने बेला ६ लाख रकम बचत थियो ।

साइप्रसबाट फर्किएर उपप्रमुख

०७४ सालमा नेपालमा स्थानीय तहको निर्वाचन हुने भयो । त्यो बेला विमला साइप्रसमै थिइन् । पार्टीले उनको आवश्यकता महसुस ग¥यो । तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण विष्टले उपप्रमुखमा बन्न नेपाल बोलाए । उनी फर्केर नेपाल आइन् । पार्टीले उपप्रमुखको टिकट पनि दियो । चुुनाव खर्चका लागि परदेशमा जुटाएको पैसा थियो । गाउँ–गाउँको चोक–चोकमा क्रान्तिकार भाषण गर्दै हिडिन् । निर्वाचनमा ४ हजार ९ सय २३ मतले विजयी भइन् । उनले निकटतम प्रतिद्वन्द्वी गीता घिमिरेलाई १२ सय ५ सय मत अन्तरले पराजित गरिन् । पारिवारिक, शैक्षिक, सामुदायिक र परदेशको संघर्षको माथि पनि विजय प्राप्त भएको महसुस खत्रीले गरिन् । ०७४ असार २० गते पदभार ग्रहण गरेपछि निरन्तर गाउँपालिकामै बसेर इस्माका नागरिकको काम गरिरहेकी छन् । विमलाले पहिलो काम ०६७ देखि ७० सम्म गाउँमा सञ्चालन गरेर अधुरो रहेको मदिरा नियन्त्रण अभियानलाई गाउँपालिकामा निर्वाचित भएपछि फेरि सुरु गरिन् । ‘पहिलेकै अभियान्ता हुँ जुन अभियान सफल हुन सकेको थिएन । बीचमै बाध्यताले परदेश पसे,’ उनले भनिन, ‘घरेलु हिंसा र सामाजिक अपराधको प्रमुख कारण मदिरा हो भन्ने राम्रोसँग बुझेकी थिएँ ।’ गाउँपालिकामा बृहत छलफल भयो । प्रहरी प्रशासनले अभियानमा ऐक्यबद्धता जनायो । व्यवसायी र उपभोक्तामा सचेतना कक्षा सञ्चालन भए । ०७५ सालमा मदिरा नियन्त्रण कार्यविधि गाउँसभाबाट पास गरेर निरन्तर कार्यान्वयन भइरहेको छ । झण्डै ५ लाख राजश्व संकलन भएको छ । घरेलु हिंसासहितका अपराधजन्य घटनामा न्यूनीकरण भएको छ । तर, अनेक सोचका कारण पूर्णनियन्त्रणमा समस्या छ । ‘मदिराका कारण परिवारबाटै पीडित भएँ, पहिले समुदायमा काम गर्दा कुटाई खाइयो । अहिले निर्वाचित भएपछि कार्यविधि बनाएर नियन्त्रण गरिरहेका छौं समुदायको राम्रो साथ छ,’ उनले भनिन्, बरु म पटकपटक पार्टीकै नेताबाटै आलोचित भएकी छु । मदिरा नियन्त्रणले कार्यकर्ता भड्किए भन्नेसम्मको गलत बुझाई कतिपय नेतामा अझै छ ।

बिमलाको राजनैतिक यात्रा

बिमला खत्रीको माइती परिवार सबै कम्युनिष्ट हो । राजनीतिक अभियानहरुमा गोकर्ण विष्टलगायत नेताहरु उनकै घरमा बस्थे । उनी नेताहरुसँगै विभिन्न ठाउँमा नाचगानका लागि पुगिन् । विभिन्न सभा, भेला र प्रशिक्षणबाट उत्पन्न क्रान्तिकारी भावनाले उनलाई कम्युनिष्ट बन्ने प्रेरणा मिल्यो । खत्री वि।स।२०४८ सालमा बाँझकटेरी माध्यमिक विद्यालयमा अनेरास्ववियु पाँचौंमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरिन् । पछि तत्कालीन नेकपा एमाले हस्तिचौर गाउँ कमिटीमा आवद्ध हुँदै अनेमसंघ क्षेत्र नम्बर ३ को अध्यक्षसमेत भइन् । त्यसपछि पार्टीको शिक्षकहरुको संगठन जिल्ला कार्यसमितिमा आबद्धता लिएर काम गरेकी थिइन् ।

- Mero Report