बाढी पहिरोभन्दा ठूलो विपद चट्याङः क्षति कम गर्नै कठिन

बाढी पहिरोभन्दा ठूलो विपद चट्याङः क्षति कम गर्नै कठिन

"अरु प्राकृतिक विपत्तिले एकै ठाउँका धेरैलाई प्रभावित पार्छ, तर तिनको तुलनामा छरिएर फरक–फरक स्थानमा हुने भएकाले चट्याङबारे धेरै चर्चा हुँदैन । जलवायु परिवर्तनसँग चट्याङको सोझै सम्बन्ध छ । बदलिँदो जलवायुसँगै चट्याङको प्रकोप पनि बढ्दै गएकाले यसको जोखिम अझ बढ्दै जाने देखिन्छ ।"

–डा. मदन सिग्देल

शंकर श्रेष्ठ, धादिङ
चट्याङले न मानव भन्छ न पशुचौपाया । भौतिक संरचनामा त झनै ठूलो नोक्सानी पुुुर्याइरहेकै छ । नीलकण्ठ नगरपालिकाबाट प्रसारण हुँदै आएको रेडियो धादिङ यसको ताजा उदाहरण हो । असोज पहिलो साताअघि मात्रैको चट्याङले एक लाख मूल्य बराबरको सामग्री क्षति व्यहोर्नुपर्‍यो। सामग्रीको क्षति त छँदै थियो, प्रसारण नै रोकिँदा नागरिक सूचनाबाट वञ्चित भए, यसलाई कुनै मूल्यमा रुपान्तरण गर्नै सकिन्न ।
रेडियोले क्षति व्यहोरेको यो पछिल्लो उदाहरणमात्रै हो । यसअघि पनि चट्याङ्कै कारण पटकपटक ठूलठूला क्षति व्यहोर्नु परेको अनुभव सुनाउँछन् स्टेशन म्यानेजर राजाराम शर्मा । भन्छन्, ‘१४ वर्षको प्रसारण अवधिमा झण्डै २० लाख रुपैयाँभन्दा बढीको धनमाल चट्याङले खायो ।’
नीलकण्ठ नगरपालिका ६, भैरबी डाँडामा रहेको टावरमा चट्याङ लाग्दा कहिलेकाही त दुई सातासम्म रेडियोको प्रसारण अवरुद्ध हुन्छ । कहिले कम्प्युटर नै जलाइदिन्छ त कहिले एन्टेनामै क्षति पुग्छ । चट्याङबाट सामग्री जोगाउनकै लागि जानीनजानी ८ लाख खर्च भइसक्यो तर रेडियोको प्रसारण सामग्री जोगाउन सकेको छैन ।
रेडियो धादिङको सँगै टावर राखेर चलिरहेका रेडियो बिहानी, नीलकण्ठ एफएमसहित जिल्लाबाट प्रसारण हुने अन्य रेडियोले पनि उत्तिकै क्षति व्यहोर्नु परेको छ । ‘जब गड्याङगुडुङ सुरु हुन्छ, तब चट्याङबाट जोगाउन रेडियो बन्द गर्ने की चलाउने दोधारमा परिन्छ’ शर्माले भने ।
नेपालमा चट्याङका कारण हरेक वर्ष सय भन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । मानवीय क्षतिका हिसाबले बाढी, पहिरोभन्दा पनि चट्याङ ठूलो विपद् हो । तर चट्याङबाट भएको क्षतिको विवरण राख्ने र तथ्याङ्क जुटाउने काममा सरकार सुस्त देखिन्छ । धादिङ जिल्लाको सरकारी तथ्याङ्क हेर्ने हो भने त पछिल्लो पाँच वर्षयता १ जनाको मात्रै मृत्यु भएको छ । ५ जना घाइते र ६ घरमा क्षति पुगेको अधुरो तथ्याङ्क छ । तर स्थानीयस्तरमै पुग्ने हो भने चट्याङले एउटै वडामा ५ जनासम्मको ज्यान लिएको छ ।

२०७७ साल वैशाख ८ गते चट्याङ लागेर थाक्रे–३ मल्दुङका २ जनाले एकैदिन ज्यान गुमाउनु पर्‍यो । २६ वर्षीय सागर अर्याललाई आफ्नै घरभित्र ढाल्यो । उनकै छिमेकी सानोमान तामाङलाई कुखुराको फार्ममा काम गर्दागर्दै चट्याङकै कारण विद्युत्मा आएको हाइभोल्टेजले ढलायो । अन्य सात जना घाइते भए । विद्युत् ट्रान्समिटरमा चट्याङ परेपछि त्यसैको झड्काले मानवीय क्षति भएको वडाध्यक्ष अमित घले बताउँछन् ।
पछिल्लो समय नीलकण्ठ नगरपालिकामा चट्याङ लागेर ३ जनाले ज्यान गुमाए । नीलकण्ठ– ११ भोर्लेका सुशील गुरुङ, नीलकण्ठ– ४ रिजालथोकमा एक महिला, नीलकण्ठ– ७ मस्र्याङछापमा एक पुरुषको चट्याङकै कारण ज्यान गयो । ‘मस्र्याङछापमा परेको चट्याङले त पूरा बस्तीमै असर ग¥यो’ घटना प्रत्यक्ष देखेका हरिशंकर गिदेल मगर भन्छन्, ‘चट्याङ परेको ठाउँमा रुखदेखि घरसम्म नै कुलो खनिएजस्तो बनेको थियो, आसपासका अधिकांश घरका विद्युतीय उपकरण बिगारेको थियो ।’ स्थानीयका अनुसार हरेक वर्ष थुप्रै मानिस चट्याङकै कारण घाइते हुने गरेका छन् । गत चार वर्षयता दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ को राहुलडाँडा, घैराङ, भैंसे, चिसापानीमा मात्रै ५ जनाले ज्यान गुमाए । जिल्लाका धेरै ठाउँमा चट्याङका कारण हरेक वर्ष मानिसमात्र नभई पशुचौपाया मरेका छन् ।
२०७६ सालमा उत्तरी धादिङमा पर्ने खनियावास–२ झार्लाङका रामसिंह तामाङ, सत्यदेवीका पूर्ण तामाङ र रुविभ्याली–३ सेर्तुङका सरोज तामाङको पनि चट्याङले ज्यानै लियो । स्थानीय जानकारहरुका अनुसार ज्यान लिने गरी परेको हरेक चट्याङले ३ देखि ७ जनासम्म घाइते भएका छन् । तर यी घटनाको आधिकारिक तथ्यांक जिल्लाका कुनै निकायसँग छैन ।
ठूला संरचना, भवन, विद्युत् पोल, दूरसञ्चार संरचना आदिमा अर्थिङ राखिए पनि आवासीय घरमा यस्तो चलन अझै व्यापक हुन सकेको छैन । अर्थिङ नभएको संरचना चट्याङका लागि उच्च जोखिम मानिन्छ ।
 

यस्तो छ तथ्यांक नहुनुको कारण
पहिलो कुरा त आममानिसले चट्याङ बुझेकै छैनन् । गाउँस्तरसम्मकालाई जागरुक गराउने योजना तथा कार्यक्रम पनि सरकारसँग छैन । गाउँमा चट्याङ लागेर मानवीय क्षति भयो, पशुचौपाया म¥यो वा अन्य क्षति भए पनि प्रहरी वा स्थानीय सरकारलाई खबर गर्ने बानी परेकै छैन ।
जनमानसमा चट्याङप्रतिको अन्धविश्वास र भ्रमले चट्याङका कारण भएका क्षतिको विवरणसमेत राख्ने परिपाटी विकास भइनसकेको चट्याङविद् डा. मदन सिग्देल बताउँछन् । ‘नीति तथा योजना निर्माण तहमा समेत ‘‘चट्याङ भनेको दैवीशक्ति हो, यसलाई कसैले रोक्न छेक्न सक्दैन’ भन्ने अन्धविश्वास कायमै रहँदा क्षतिको वास्तविक तथ्यांक भेटिँदैन’ सिग्देलले भने ।
चट्याङकै कारण मानिसको मृत्यु भयो भन्ने सूचना प्रहरी वा प्रशासनसम्म पुगे पनि अभिलेखीकरण भएको पाइँदैन । उल्टै, घटना भए पनि हामीसम्म नआएको होला भन्ने जवाफ दिने गरेका छन् । जिल्ला प्रहरी धादिङका डिएसपी जागेश्वर भण्डारी भन्छन्, ‘मान्छे मर्छ, दाहसंस्कार गरिहाल्छन्, प्रहरीकोमा आउँदैन ।’
चट्याङबाट भएका मानवीय क्षतिको एकाद घटनामात्रै सरकारी तथ्यांकमा भेटिन्छ । अधिकांश घटनामै सीमित छन् ।
नगरपालिकाको चासो
नीलकण्ठ नगरपालिकाले नीति नै ल्याएर चट्याङ प्रतिरोधी प्रविधि अपनाउनेतर्फ लागेको छ । ट्रायलको रुपमा यो वर्ष नगरभित्रका ७ वटा भवनमा चट्याङ प्रतिरोधी प्रविधि जडान गर्ने काम भइरहेको छ । युएसआईडीको तयार नेपाल परियोजनाको सहयोगमा वडा नं. ५ खाल्टेका २ वटा विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र वडा नं. ३ को नीलकण्ठ क्याम्पस भवनमा यो प्रविधि जडान गर्न लागेको हो ।
परियोजनाका अनुसार यो प्रविधि जडान गर्न एउटा भवनमा ३ लाख लागत लाग्नेछ । गुणस्तरीय प्रविधि जडान गरेको भवनको २ सय मिटर आसपासका भवनलाई समेत सुरक्षित हुनेछन् । निजी घरहरुमा सामान्य खालको अर्थिङ जडान गर्दा अनुमानित ५० हजार रुपैयाँमा चट्याङ प्रतिरोधी बनाउन सकिनेछ ।
विपद्बाट आइपर्ने क्षति न्यूनीकरणका लागि नगरपालिकाले ‘नीलकण्ठ नगरपालिकाको विपद् ऐन २०७६’ बनाएको छ । विपद्बाट आइपर्ने क्षति न्यूनीकरणका लागि आर्थिक वर्ष २०७७÷०७८ देखि नगरपालिकाले विपद्मा छुट्टै नीति तथा योजना बनाएको छ । परियोजनाकै सहयोगमा विपद् प्रतिकार्य योजना बनाइएको नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले जानकारी दिए ।
यो वर्ष विपद व्यवस्थापन शीर्षकमा नगरपालिकाले ७० लाख बजेट छुट्याएको छ । प्रविधि जडानको छुट्टै बजेट विनियोजन भने गरेको छैन । घर बनाउनुअघि नक्सापास गर्नैपर्ने मापदण्ड बनाएजस्तै अब बन्ने सबै घर चट्याङ प्रतिरोधी बनाउने योजना ल्याएको नीकलण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढ्ंगानाले बताए ।
‘यसलाई हामीले ट्रायलको रुपमा लिएका छौं,’ ढुंगानाले भने, ‘आगामी वर्षदेखि भवन बनाउँदा नै चट्याङ प्रतिरोधी बनाउने नीति बनाएर अघि बढ्दैछौं ।’ स्थानीयस्तरमा बन्ने घर तथा भवनमा यो प्रविधि जडान गर्न विज्ञहरुको सल्लाहअनुसार अघि बढ्ने मेयर ढुंगानाले बताए । दाताहरुसँग समन्वय गरेर घर घरमा यो प्रविधि जडान गर्ने योजना रहेको उनले बताए ।
सदरमुकाम धादिङबेसीकै नीलकण्ठ क्याम्पसको भवनमा पनि यो प्रविधि जडानको अन्तिम तयारीमा रहेको ढुंगानाले जानकारी दिए । चट्याङ नक्साङ्कनको आधारमा नगरपालिकाको वडा नं. २ र ५ जोखिमयुक्त स्थानमा पर्छन् ।
नगरपालिकाले वडास्तरसम्म विपद् व्यवस्थापन समिति नै बनाएर काम थालेको छ । विपद् व्यवस्थापन नीति तथा योजना तर्जुमा गरी कार्यपालिकामार्फत स्वीकृत पनि गरिसकेको छ । विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य तथा विपद् पुनर्लाभसम्बन्धी एकीकृत तथा क्षेत्रगत नीति, योजना तथा कार्यक्रम ल्याएको स्वास्थ्य तथा विपद शाखाका विष्णुप्रसाद रिजालले बताए ।
नीलकण्ठ नगरपालिकाको विपद् ऐन, २०७६ मा विद्यालय तहको शैक्षिक पाठ्यक्रममा विपद व्यवस्थापनसम्बन्धी विषय समावेश गर्ने उल्लेख गरिएको छ । विपद् जोखिम न्यूनीकरण र संरचनालाई चट्याङ प्रतिरोधी बनाउने कुरा नीलकण्ठबाट सबै स्थानीय तहले सिक्नुपर्ने विज्ञहरु बताउँछन् ।
 

बाढीपहिरो भन्दा ठूलो विपद् !
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ वर्षाको बेला हुने अन्य विपद्भन्दा ठूलो हो । विशेषगरी वर्षाका बेला चट्याङ धेरै पर्ने गरेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले हरेक दिन आह्वान गर्दै आएको छ ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा भएको विवरणका अनुसार २०६८ देखि २०७७ को अवधिमा नेपालभर चट्याङका कारण ९ सय ३० जनाले ज्यान गुमाएका छन् । जिल्ला जिल्लाबाट सही तथ्यांक संकलन गर्ने हो भने यसको संख्या दोब्बरभन्दा बढीले हुन सक्ने भनाइ छ ।
चट्याङविद्हरुले पनि मानवीय क्षतिका हिसाबले बाढी, पहिरोभन्दा चट्याङ ठूलो विपद् मानेका छन् । ‘सावधानी अपनायो भने यसबाट हुने क्षति कम गर्न सकिन्छ’, डा. सिग्देल भन्छन्, ‘चट्याङबाट बच्न स्थानीय सरकारले नै घरको नक्सापास गरेजस्तै चट्याङ प्रतिरोधी बनाउने नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’ घरलाई चट्याङ प्रतिरोधी बनाउन सकियो भनेमात्रै पनि मानवीय क्षति कम गर्न सकिने विज्ञहरु सुझाव दिन्छन् ।
हामीले चट्याङको आवाजमात्रै सुन्ने हो, आवाज आउनुअघि नै असर गरिसकेको हुन्छ । ‘नेपालमा जनचेतना फैलाउने हो र सोहीअनुसार सावधानी अपनाउने हो भने ८० प्रतिशत क्षति कम गर्न सकिन्छ,’ डा. सिग्देलको भनाइ छ । उनका अनुसार जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभाग र चुरे क्षेत्रमा चट्याङको क्षति धेरै देखिएको छ । मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत प्रवाह भएर ज्यान जाने उनी बताउँछन् ।
 

चट्याङ के हो, कहिले र कहाँ पर्छ ?
–डा. मदन सिग्देल
चट्याङ एक प्रकारको इलेक्ट्रिक चार्ज हो । बादलको विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई बिजुली चम्केको भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ ।
प्रायः वर्षायाम (मनसुन) र त्यसअघिको समय (प्रि मनसुन) बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम हुन्छ । चुरे र महाभारत पर्वत शृङ्खला चट्याङका लागि बढी जोखिमयुक्त मानिन्छन् ।
अरु प्राकृतिक विपत्तिले एकै ठाउँका धेरैलाई प्रभावित पार्छ, तर तिनको तुलनामा छरिएर फरक–फरक स्थानमा हुने भएकाले चट्याङबारे धेरै चर्चा हुँदैन । जलवायु परिवर्तनसँग चट्याङको सोझै सम्बन्ध छ । बदलिँदो जलवायुसँगै चट्याङको प्रकोप पनि बढ्दै गएकाले यसको जोखिम अझ बढ्दै जाने देखिन्छ ।
घरमा तामाको अर्थिङ राख्दा यसको जोखिमबाट बचिन्छ । अर्थिङले चट्याङबाट प्रवाह भएको विद्युत्लाई तामाको तार हुँदै जमिनमुनि पुर्‍याएर दुर्घटना टारिदिन्छ ।

https://www.janaaastha.com/archives/58386

 

- Mero Report

Popular Blogs

All