‘बुवाले मलेसियामा काम गर्दा मैले उहाँको सङ्घर्षलाई नजिकबाट अनुभव गरेकी छु । ठग एजेन्ट र गैर कानुनी प्रक्रियाको कारण, मेरो बुवाले धेरै पीडा भोग्नु भयो,’ – लक्ष्मी नेपाली सामुदायिक कार्य अनुसन्धानकर्ता, मकवानपुर बागमती गाउँपालिका
लक्ष्मीका बालाई एजेन्टले सुरुमा नेपालमै हुँदा मलेसियामा सेक्युरिटी गार्डको जागिर दिने प्रस्ताव राखेको थियो तर मलेसिया पुगेपछि उहाँलाई पोल्टी फार्ममा काममा लगायो । पोल्टी फार्मका मालिकहरूले उहाँलाई भर पेट खाना नदिने र फार्मभित्रै सुत्न बाध्य पारेका कारण बा निकै बिरामी पर्नुभयो ।
‘केही महिना काम गरेपछि, मेरो बुवा आफ्नो राहदानी र अन्य कानुनी कागजातहरू बिना नै कुखुरा फार्मबाट भाग्नुभयो, जसले गर्दा उहाँको कानुनी हैसियत खोसियो । राहदानी नभएकाले उहाँ नेपाल फर्कन सक्नुभएन । त्यसैले उहाँ लुक्न जङ्गल पस्नुभयो र हामीले बुवालाई मलेसिया पठाउनका लागि ऋण लिएका थियौँ । लिएको ऋण तिर्नका लागि बुबा अवैध रूपमा सेक्युरिटी गार्डको काम गर्न थाल्नुभयो,’ लक्ष्मीले विगत सम्झँदै भनिन् । बुबाको नयाँ कार्यस्थलमा पनि उहाँलाई न्यूनतम तलब दिइयो र कहिलेकाहीँ त तीन महिनामा एक पटक मात्र तलब दिन्थे उनीहरूले ।’
‘बुबाको पीडा यतिमा मात्र सीमित भएन । मलेसिया सरकारले गैर कानुनी रूपमा बसोबास गर्नेहरूको खोजी र पक्राउ अभियान सुरु गर्यो। मेरो बुवा जङ्गलमा लुकेर बस्नु भयो । मलाई त्यो एउटा दिन प्रस्ट याद छ जब उहाँले हामीलाई भक्कानिँदै फोन गर्नु भएको थियो र आफू फर्केर हामीलाई फेरि भेट्न नसक्ने बताउनु भएको थियो । सम्झिँदा अहिले पनि मुटु भक्कानिन्छ,’ उनले भनिन् ।
‘त्यसपछि हामीले दोस्रो ऋण लिएर बुबाको लागि फिर्ता टिकट किन्यौँ र मेरो ठूलो बुवाको छोराले मलेसियास्थित नेपाली दूतावासमा आवेदन दिएर बुबाको राहदानी लिन मद्दत गर्नुभयो । मेरो बुवाले राहदानी प्राप्त गरेपछि, हामीले उहाँको नयाँ राहदानी र हवाई टिकटको लागि ५० हजार नेपाली रुपैयाँ तिर्यौँ, जसले हाम्रो परिवारमा ऋणको भार अझै थपियो ।
त्यसको चार वर्षपछि बुबा सकुशल नेपाल फर्कनु भयो हामी त्यसमै खुसी छौँ, तर उहाँले भोग्नु भएका सबै यातनाका कारण उहाँमा आघात परेको थियो । घर आएपछि बुवाले नेपालमा कृषि, बङ्गुर पालन र टेलरिङको काम गर्न थाल्नुभयो । उहाँ अहिले आफ्नो परिवार अर्थात् हामीसँग खुसी र थोरै आम्दानीमा पनि सन्तुष्ट हुनुहुन्छ ।’
लक्ष्मीको लागि, यो घटनाले उनलाई वैदेशिक रोजगारीप्रति आक्रोशित तुल्याए पनि मानिसलाई बेचबिखनबाट सुरक्षित राख्नुपर्छ भनेर सम्झाउन सामुदायिक कार्य अनुसन्धानकर्ता बन्ने प्रेरणा दियो । ‘मायासँग मनका कुरा रेडियो कार्यक्रमको सहयोगमा, हामी अहिले समुदाय स्तरमा बेचबिखनसम्बन्धी विभिन्न प्रवचनहरू आयोजना गर्छौँ र मानिसलाई वैदेशिक रोजगारीको अवसर छनोट गर्दा सचेत हुन प्रोत्साहित गर्छौँ, लक्ष्मी भन्छिन् ।
हामीले विदेशमा काम गर्न चाहनेहरूलाई कानुनी बाटो अपनाउन र उचित कानुनी कागजातमा हस्ताक्षर गर्न निरन्तर आग्रह गर्दै आएका छौँ । हामीले उनीहरूलाई मेरो बुवाजस्तै श्रम शोषणको सिकार हुन नपरोस् भनेर उनीहरूले काम गर्ने भनिएको कम्पनीको पूर्ण जानकारी म्यानपावरको एजेन्टबाट अनुरोध गर्न पनि सल्लाह दिइरहेका हुन्छौँ ।
लक्ष्मी भन्छिन्, मैले र मेरा साथीहरूले मानिसहरूलाई कानुनी रूपमा मान्यता प्राप्त म्यानपावर एजेन्सीहरू छनोट गर्न र उनीहरूले यात्रा गर्ने देशको आधिकारिक भाषा सिक्न अनुरोध गरिरहेका छौँ ।
मेरो बुवा वैदेशिक रोजगार सम्बन्धी मायासँग मनका कुराको भागहरू सुनेपछि, अलिकति भावुक हुनुभयो किनभने त्यसले उहाँलाई आफूले कति पीडाहरू भोगेको रहेछु भन्ने झझल्को दियो । मेरो बुबाले अन्य गाउँलेहरूलाई विदेशमा काम गर्ने सही तरिका र मायासँग मनका कुरा कार्यक्रमको सन्दर्भ पनि बताइरहनुहुन्छ, जसले गाउँलेहरूलाई विदेश जाँदा सतर्क र होसियार रहन सचेत गराउँदछ, लक्ष्मीले स्वाभिमानका साथ भनिन् ।
- प्रोटेक्ट, मकवानपुर