"मैले मेरो बाबाले जाँड, रक्सी सेवन गरेर अपशब्दहरू प्रयोग गर्दै आमालाई गाली गर्नु भएको कहिल्यै देखिन, सुनिन ।"
"मैले मेरो यौन सम्बन्धमा आफ्नै मात्र चाहना पूरा गर्ने तरिकाले प्रस्तुत पो भएको छु कि? हामीले एक अर्कासँग छुट्टै समय कहिल्यै बिताएका छौ ? परिवर्तन घरैबाटले मेरो मनमा यस्ता सयौँ प्रश्नहरूको बाढी ल्याइदियो ।"
- प्रकाश गुरुङ
शिक्षा उच्च छ । विद्यार्थीलाई सङ्गीत सिकाउँछु । झिना मसिना कुराहरूमा धेरै तनाव लिन्न र अरूलाई पनि त्यस्तै सल्लाह दिन्छु । हाँसी, खुसी, शिष्टतापूर्वक रमाइलो गर्ने र गराउने व्यक्ति म। मलाई सामुदायिक क्रियाकलापहरूमा सहभागी हुन असाध्यै मन पर्छ। मेरो घरमा हिंसा र भेदभाव, यो त सोच भन्दा परको कुरा, किनभने मैले कहिल्यै मेरो बाबाले जाँड, रक्सी सेवन गरेर अपशब्दहरू प्रयोग गर्दै आमालाई गाली गरेको देखिन, सुनिन। दाजुहरू पनि सबैलाई असल व्यवहार गर्नुहुन्छ। म ढुक्क छु म पूर्ण रूपमा हिंसा मुक्त परिवारमा छु । तर समुदायलाई हिंसामुक्त बनाउन म जस्तै सयौँ हजारौँ परिवारले मान्यताहरू फेर्दै जानुपर्छ ।
समय सँगै सोचाइहरू अझ निखार्दै लाने मौका अहिले मलाई जुरेको छ। हिंसामुक्त समुदाय बनाउन म परिवर्तन घरैबाट कार्यक्रममा पुरुष सहजकर्ता छु। सुरुमा त कार्यक्रमको नाम सुन्दै अचम्म लाग्यो, दम्पती बिच हुने हिंसाको न्यूनीकरण । अनि सोच्छु यस्तो पनि हुन्छ र ? श्रीमान् श्रीमती बिचको झगडा त परालको आगो हो नि, बल्छ निभिहाल्छ, तर त्यो त भ्रम रहेछ । गाली गर्नु, जाड रक्सी खाएर कुटपिट गर्नु मात्र होइन हिंसाको क्षेत्र धेरै फराकिलो रहेछ। हाम्रा अधिकांश मूल्य मान्यतामा हिंसा लुकेको रहेछ र त्यस्तो मान्यताले महिलामाथि हिंसा गर्दो रहेछ । अहिले मैले श्रीमान् श्रीमतीबिचको सम्बन्धलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने हाम्रा सामाजिक मूल्यमान्यता, संस्कार र व्यवहारहरूको बारेमा सूक्ष्म रूपले विशेषण गरिरहेको छु।
हामीले मानेका शिक्षित र इज्जतदार घर घर भित्र हिंसाको कहालीलाग्दो कथा लुकेको हुँदो रहेछ । कथित इज्जतदार घरमा भएको हिंसा त झन् बहिरा ल्याउन निकै कठिन हुने रहेछ। शिक्षित र इज्जतदार कहलिएको घरले अनुसरण गर्ने सामाजिक मूल्यमान्यताले लैङ्गिक भेदभाव र हिंसालाई मलजल गर्दो रहेछ । समाजले घर भित्रको सबै कामहरू खाना बनाउने, कपडा धुने, बालबच्चाको स्याहार गर्ने दायित्व महिलाको हो भनेर असमान मान्यता राखेको रहेछ । घर बाहिरको सबै कामहरू पैसा कमाएर परिवारका अन्यको पालनपोषणको जिम्मा पुरुषले नै लिनु पर्छ भन्ने मान्यता पनि गलत रहेछ। कामको यस्तो भेदभाव नै लैङ्गिक हिंसा रहेछ। मैले बुझेको कुरा परिवर्तनका लागि औपचारिक शिक्षा र सामाजिक इज्जत भन्दा पनि व्यवहारिक चेतना अत्यावश्यक हुन्छ ।
अधिकांश पुरुषको मनमा रहेको सामान्य जस्तो लाग्ने तर हिंसाको मुख्य जड अचम्मको हुँदो रहेछ । बिहान बेलुका घरको काम महिला को दैनिकी हो, म पुरुषले जागिर अथवा व्यवसाय गरेर पैसा कमाएकै छु, श्रीमतीले मेरो मैलो लुगाहरू धुनुपर्छ, मैले जे गरे पनि सहनुपर्छ, मेरो श्रीमती हुनु नै उसको परिचय हो, मलाई मन लागेको बेला यौन सम्पर्क गर्न दिनु उसको दायित्व हो, पितृ सत्ताको चुरो नेपाली पुरुषको यही गलत शोच हो । बाहिर कसैले नसुनाउने कथित इज्जतदार घरमा महिला हिंसाको स्वरूप झन् विकराल छ।
परिवर्तन घरैबाटमा दिनहरू बित्दै जाँदा तालिम र छलफलहरू झनै घनिभूत हुन थाल्यो । दिन प्रतिदिन कार्यक्रमको उपयोगिता र प्रभावकारिताको विषयमा प्रस्ट हुँदै आयो। मैले मेरो श्रीमतीलाई चाहिने साथ र सहयोग साँच्चै गरेको छु त? मैले गर्ने कारोबार र निर्णयहरूमा सामेल गराएको छु त? यौन सम्बन्धमा आफ्नै मात्र चाहना पूरा गर्ने तरिकाले प्रस्तुत पो भएको छु कि? हामीले एक अर्कासँग छुट्टै समय कहिल्यै बिताएका छौ? परिवर्तन घरैबाटले मेरो मनमा यस्ता सयौँ प्रश्नहरूको बाढी ल्याइदियो ।
हिंसाका विभिन्न प्रकार बारे प्रस्ट हुँदै जाँदा नकारात्मक प्रभाव बारे सोच्ने बानी लाग्यो । अझ दम्पती बिचको हिंसालाई त झन् बाहिर ल्याउनै गारो। समूह सदस्यहरूसँगको मेरो नियमित बसाई र रेडियो समझदारी कार्यक्रमले मलाई हिंसाको जराहरू बुझ्न धेरै सहयोग गरेको छ। श्रीमान् श्रीमतीबिचको सम्बन्धलाई अझ सुमधुर बनाउन बुझ्नै पर्ने विषयहरू छन् । यौन सम्बन्धका विषयमा खुलेर कुरा कसरी गर्ने, यौन सम्बन्ध राख्नको लागि कसरी स्वीकृति लिने, स्वीकृति छ कि छैन कसरी बुझ्ने, आर्थिक कारोबारलाई कसरी विश्वास योग्य बनाउने, विवाहित जोडीबिच कसरी गुणस्तरीय समय बिताउने भन्ने जस्ता विषयहरू बारे अझ धेरै बुझ्ने मौका पाएँ।
महिला माथि हुने हिंसाका विभिन्न रूप र त्यस्ता हिंसा कम गर्ने उपाय अनि हिंसा पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भनेर मैले राम्ररी बुझे। हाम्रो समुदायमा हिंसा भइरहेको देखेमा त्यसको प्रतिकार गर्नु तपाई हामी सबैको दायित्व हो । हिंसा हुन बाट रोक्नु हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा समूहका सदस्यहरूसँग धेरै छलफल गर्न सकेँ। हिंसा गर्नु र हिंसा सहनु दुवै मानवीयता विरुद्धको अपराध रहेछ। संविधान, ऐन, कानुन विपरीतका काम रहेछन् ।
अहिले हाम्रो दम्पती जीवन निकै राम्रो छ । हामी सन्तुष्ट र सुखी छौँ । यसलाई निरन्तर अझ राम्रो बनाउने प्रयास बाँचुन्जेल गरिरहन्छौँ । यसको श्रेय परिवर्तन घरैबाटलाई जान्छ। हामी एक अर्का बिच लिङ्गको आधारमा कामको बाँडफाँड छैन, जसले भ्याउँछौ उसैले गर्छौँ। हरेक आर्थिक कारोबारको बारेमा परिवारका सबै जना सल्लाह गरेर निर्णय लिन्छौँ। समय समयमा दुई जना मात्रै घुम्न जान्छौ। दुवै जनाको सहमतिमा यौन सम्बन्ध राख्छौँ। एक अर्काको शोचको सम्मान गर्छौँ । हरेक कुराहरूमा आपसी सल्लाह र छलफलबाट निर्णय लिन्छौँ। हाम्रा भविष्यका बारेमा योजनाहरू बनाउँछौँ।
परिवर्तन घरैबाटमा सहभागीहरू मध्ये केही जोडीहरूमा आएको परिवर्तन देख्दा एकदम खुसी लाग्छ। पुरै समुदाय हिंसामुक्त नभएसम्म दम्पती बिचको हिंसा न्यूनीकरणमा निरन्तर लागिरहन्छु। इक्वेल एक्सेस इन्टरनेसनलको टिम, विजय विकास स्रोत केन्द्रको टिम र हुप्सेकोट गाउँपालिकाको साथ सहयोगमा हामीले हाम्रो समुदाय अझ भनौँ टोल, वडा र पुरै पालिकालाई एक दिन हिंसा मुक्त बनाएरै छाड्नेछौँ । हिंसाविरुद्ध जनचेतना जगाउने यति राम्रो सृजनात्मक कार्यक्रम ल्याउनु हुने सम्बन्धित सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई विश्वास छ कि हामी एक दिन हिंसा मुक्त पालिका बनाएर स्वच्छ, सफा र सभ्य समाज निर्माण गर्न सफल हुनेछौँ।
परिवर्तन घरैबाट, हुम्सेकोट नवलपरासी