पनौतीमा किसानको भैँसी मर्‍यो, मन मरेन

पनौतीमा किसानको भैँसी मर्‍यो, मन मरेन

बिमा तथा भैँसी संरक्षण तथा संवर्धनमा पनौती नगरपालिका मोडेल मुलुककै उत्कृष्ट 

रोजन तामाङ – पनौती 

‘बाबुआमा मर्दा घ्यू–भात, लैनो भैँसी मर्दा पुर्पुरामा हात’ । हुन पनि हो, दिनमै १० लिटर दूध दिने भैँसी मर्दा त्यो परिवारको बिल्लिबाठ नै हुन्छ । ठुलो ऋण काढेर भएभरको सम्पत्ति बैङ्कमा धरौटी राखेर ल्याइन्छ । यसैले घर जमिन निकाल्ने अनि अर्को लैनो भैँसी पनि थप्ने योजना बुनिएको हुन्छ त्यो परिवारमा । तर टक्लक्क गोठको लैनो भैँसी मर्दा के हालत होला रु सहजै अनुमान गर्न सकिन्छ । त्यो घरमा केही दिन त भात नै पाक्दैन, बिस्तारै धितो राखेको घरजग्गा बैङ्कले लिलामी गर्छ । अनि परिवारको उठिबास ।

यस्तै आपत् पर्‍यो पनौती नगरपालिका ६ की रुपा न्यौपानेलाई पनि । छाकमै ८ लिटर दूध दिने लैनो भैँसी केही दिनअघि मात्रै मर्‍यो । उहाँको परिवार भैँसी मरेसँगै बिलखबन्द पर्नु भयो । केही चिन्ता हटेपछि उहाँ भैँसी मरेको थाहा दिन पशु बिमा कम्पनी कार्यालय पुग्नु भो र सबै घटना सुनाउनु भयो ।

बिमा कम्पनीबाट फर्केको भोलिपल्टै उहाँको गोठमा नयाँ भैँसी बाँधियो । रोग लागेर मरेको भैँसीको क्षतिपूर्ति बिमा कम्पनीले ९० हजार रुपैयाँ उपलब्ध गराउने भयो र त रुपाको गोठ एक दिनभन्दा बढी खाली भएन । १५ दिनभित्र बिमा रकम आउने भन्ने कम्पनीको भनाइअनुसार उहाँले त्यही १५ दिनको भाकामा पनौतीबाटै अर्को भैँसी ल्याउनुभयो । 

त्यसो त पनौती–११ का धनबहादुर श्रेष्ठलाई पनि त्यस्तै दशा आइलाग्यो । उहाँको पनि दिनमै १० लिटरभन्दा बढी दूध दिने भैँसी गोठैमा टक्रक्कै मर्‍यो । भैँसी बिमा गरेको बेला कम्पनीले सम्झाएको कुरा सम्झँदै धनबहादुर धेरै चिन्तामा पर्नु भएन । बरु तुरुन्त भैँसी मरेको डकुमेन्ट उहाँले पनि बिमा कार्यालयमा बुझाउनु भयो र साता दिनमै कम्पनीले बिमा रकम भुक्तानी पनि गरिदियो । बिमाबापतको रकम पाए लगत्तै श्रेष्ठले केही रकम थपथाप गरेर अर्को भैँसी ल्याउनुभयो, उहाँको पनि गोठ रित्तो भएन । 

पनौतीकै सन्तोष राउतलाई पनि अघिल्लो साल कम्ता ठुलो दशा लागेन । मध्यरातमा गोठमा सल्केको आगोले उहाँका नौ वटा दुहुनो भैँसी खायो । अब सन्तोष पशुपालन व्यवसायमा टिक्ला भनेर कसैले सोचेका पनि थिएनन् । तर यस्तै खाले धेरैको अनुमान गलत साबित भयो ।

कुराको चुरो के थियो भने, सन्तोषले व्यवसाय सुरु गर्दै पशुसहित गोठको पनि बिमा गर्नुभएको थियो । बेलैमा उहाँको बुद्धिमत्ताले आगलागीबाट गोठ खरानी र ९ वटा भैँसी मरेको महिना दिन नबित्दै पुनः गोठ उभियो । गोठमा भैँसी बाँधिए । राउतले पनौती नगरपालिकाको साझेदारीमा नौ वटा भैँसीको प्रतिगोटा एक लाखका दरले क्षतिपूर्ति पाउनुभयो । एक महिनामै १२ वटा भैँसी थपेर उहाँले फार्मलाई अझ व्यवस्थित पार्नुभयो । अहिले राउतले दैनिक ९० लिटरभन्दा बढी दूध बिक्री गर्नुहुन्छ । 

मेयर – भीम न्यौपाने 

पशुपालनमै आश्रित किसानलाई पशुधनको क्षति भएपछि ठुलो समस्या पर्ने भएकाले बिमामार्फत किसानको समृद्धि खोजिरहेको पनौती नगरपालिका प्रमुख भीम न्यौपाने बताउनु हुन्छ । ‘म आफै पनि किसानको छोरो भएकाले किसानको एउटा भैँसी मर्दा कस्तो हालत हुन्छ भन्ने बुझेको छु, त्यही भएर बिमामार्फत पशुधनको सुरक्षामा केन्द्रित भएका छौँ,’ प्रमुख न्यौपानेले भन्नुभयो । पशुपालनमा विपन्न तथा मध्यम वर्गीय परिवारको संलग्नता रहेको र उहाँहरूको पशु धन क्षति भएमा तत्कालै पूर्ति पाउने वातावरण मिलाउन पनौती नगरपालिकाले बिमा गरेबापत लाग्ने आधा रकम तिरिदिने गरेको छ । गाई र भैँसीको एक लाख बराबरको बिमा गराउन दुई हजार ५ सय लाग्नेमा नगरपालिकाले १२ सय ५० किसानलाई अनुदान दिने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । 

रोग लागेर पशु मरेमा ९० प्रतिशत बिमा रकम क्षतिपूर्तिबापत कृषकले पाउने भएपछि किसानले राहतको महसुस गरेका छन् । पनौतीमा समुदायले सञ्चालन गरेको पशु बिमा कार्यक्रम, बिमा कम्पनी तथा सहकारीमार्फत किसानका पशु चौपाया तथा कुखुराको बिमा गरिएको छ । जसको कारण किसानले क्षतिको तत्कालै पूर्ति पाउँछन् ।

उपप्रमुख – गीता बन्जारा 

पनौतीले सुरु गरेको बिमा तथा प्रवर्द्धन कार्यले भैँसीको सङ्ख्या वृद्धि भएको छैन यस मोडेललाई व्यावसायिकीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, औद्योगिकीकरण र बजारीकरणमा किसानको चासो बढाएको छ । 

यसले सहरको पैसा गाउँसम्म ल्याउन तथा असल पशुपालन अभ्यासको थालनी गरेको पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराको अनुभव छ । असल स्वच्छता अभ्यास र भेटेरिनरी अभ्यासको विस्तारमा समेत जोड दिएको उहाँ बताउनुहुन्छ । ‘यसबाट उच्च गुणस्तरीय पशु तथा पशुजन्य उत्पादन उपभोक्तालाई उपलब्ध गराई स्वच्छ खाद्य पदार्थ उपभोग गर्ने हकलाई सुनिश्चित गर्छ,’ उपप्रमुख विश्वास गर्नुहुन्छ, ‘खाद्य सुरक्षाको प्रत्याभूति गर्दै मुलुकलाई पशु तथा पशुजन्य पदार्थमा आत्मनिर्भर हुनुको साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा उल्लेख्य सहयोग पुग्छ ।’

पशुपन्छी शाखा प्रमुख – मणिप्रसाद सापकोटा 

आर्थिक वर्ष २०७७÷०७८ मा पनौती नगरपालिकामा रहेका पशुमध्ये ६८ वटा मर्दा किसानले ४० लाख रुपैयाँ क्षतिपूर्ति पाएको पनौती नगरपालिका पशुपन्छी शाखा प्रमुख पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

‘हामी शतप्रतिशत पशु बिमा गराउने अभियानमा छौँ,’ सापकोटा भन्नुहुन्छ, ‘समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरेर भए पनि  किसानको क्षति कम गराउन प्रयत्नशील छौँ ।’

पनौती–६ का जीवनाथ दंगाल आफूले गरेको बिमाले भगवान् आएर सहयोग गरेको जस्तो भएको बताउनुहुन्छ । ‘मैले सम्भाव्य क्षति हुन सक्ला भनेर बिमा गरेको केही समयमै गाई मर्‍यो । बिमाबाट क्षतिपूर्ति पाउँदा तत्कालै गोठ खाली भएन,’ दंगालले भन्नुभयो । 

पछिल्लो वर्ष नगरपालिकाले बिमाबापत २७ लाख रुपैयाँ किसानलाई उपलब्ध गराएको छ । नगरको कृषि तथा पशुपक्षी शाखाको समन्वयमा किसानको बिमाबापत यो आर्थिक वर्षमा सामुदायिक बिमामार्फत १५ लाख र कम्पनीमार्फतको१२ लाख अनुदान रकम भुक्तानी गरेको छ । अघिल्लो आवमा पनि सामुदायिक बिमा १५ लाख र कम्पनीमार्फत ६ लाख गरी जम्मा २१ लाख अनुदान रकम बडा कार्यालयमार्फत किसानलाई हस्तान्तरण गरिएको थियो । 

असल अभ्यास 

पशु बिमा तथा भैँसी संरक्षण तथा संवर्द्धनमा पनौती नगरपालिका मोडेल मुलुककै उत्कृष्ट भएको छ । बिमा मार्फत किसानको पशुधनको सुरक्षा गर्ने योजनाअनुसार पनौतीमा सामुदायिक बिमासमेत सफल देखिएको छ । 

पाँच वर्षयता पनौतीमा बिमा गर्ने किसानको सङ्ख्यामा निक्कै वृद्धि भएको छ । हरेक वर्ष बिमा गराउने किसानको सङ्ख्यामा २० प्रतिशतले वृद्धि भएको नगरपालिका स्रोतले बतायो । एकातिर गाई र भैँसीको सङ्ख्या वृद्धि गराउँदै दूध उत्पादन पनि बढाउने लक्ष्य बिन्दुमा भेट्टाउन लागेको मेयर न्यौपानेले बताउनुभयो । 

पनौती नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएको भैँसी संरक्षण तथा संवर्द्धन कार्यक्रमको अहिले नै मूल्याङ्कन गर्ने बेला भने नभएको पनौतीवासीको भनाइ छ । पनौती–१ का प्रदीप सापकोटा यहाँ मात्रै नभएर देशका पुरै स्थानीय तहमध्ये नमुना अभ्यासको काम प्रारम्भ गरेको भन्नुभयो । उहाँका अनुसार बिमाले जोखिम कम मात्रै नभएर किसानलाई सहज जीवनयापन गराउन पनि मद्दत गरेको छ ।

पनौतीको कार्यबाट प्रेरणा मिलेको भन्दै काभ्रेकै पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाउँपालिकाले भैँसी पकेट क्षेत्र विस्तार योजना बनाएका छन् । 

पनौती नगरपालिकामा तीन वर्षअघि ४ हजार ७४७ भैँसीको सङ्ख्या रहेकोमा अहिले बढेर ७ हजार ८२० पुगेको छ । यसले पनौतीमा दैनिक रूपमा दूध उत्पादनमा समेत वृद्धि गराएको तथ्याङ्कले देखाउँछ । पशु चिकित्सक सापकोटा तीन वर्षको अवधिमा दैनिक २० हजार लिटर दूध उत्पादन भएको बताउनुहुन्छ । २०७४ मा दैनिक ४० हजार दूध उत्पादन हुने र बजारमा २० देखि २५ हजार लिटर जाने गरेको भए पनि भैँसीलाई सुत्केरी भत्ता  र बिमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएसँगै पनौतीबाट दैनिक ४५ हजार लिटर दूध बजारमा जाने गरेको छ । सापकोटाका अनुसार पनौती नगरपालिकामा दैनिक ६५ हजार दूध उत्पादन हुने गरेको छ । 

पनौती नगरपालिकामा २०७४ सम्म गर्भवती भैँसीसमेत मासुको रूपमा प्रयोग हुन थालेपछि नगरले भैँसी संरक्षणको योजना अघि सारेर पहिलो बेतको भैँसी सुत्केरी भएबापत पाँच हजार रुपैयाँ सुत्केरी भत्ता योजना अघि सारेको थियो । स्थानीय तहहरूले विभिन्न रचनात्मक कार्यहरू गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियान थालनी गरेको थियो । नगरपालिकाले भैँसीको पाडा पाडीको जन्म दर्ता गरेर सुत्केरी भत्ता दिने निर्णय गरेपछि किसानहरू हर्षित बनेका छन् ।

पनौतीले आफ्नो तेस्रो नगर सभामा घोषणा गरेअनुसार पाडा पाडीको जन्म दर्ता र सुत्केरी भैँसीलाई प्रोत्साहन स्वरूप भत्ता दिने कार्य सुरुवात गरेको थियो । सो कार्यले नवौँ सभासम्म निरन्तरता पाएको छ । 

नगरले पहिलो बेत सुत्केरी भएको भैँसीलाई ५ हजार र दोस्रो पटक सुत्केरी भैँसीलाई २ हजारका दरले भत्ता दिने गर्छ । पनौतीका १२ वटै बडामा खटिएका पशु प्राविधिकहरूले सुत्केरी भैँसीलाई कसरी पोषण दिने र पाडा पाडीको स्याहार कसरी गर्ने भन्दै गोठमै पुगेर जन्म दर्ता गरिदिने गरेका छन् । 

पनौती पशु तथा कृषि पेसाका लागि उपयुक्त भएकाले युवालाई विदेश जानबाट रोक्न यो अभियान सञ्चालन गरेको हो । कृषि कर्ममा युवालाई आकर्षित बनाउन नगरले चालेको कदमले काभ्रेमा सकारात्मक सन्देश प्रवाह गर्दै गर्दा देशको अन्य स्थानीय तहले पनि यस कार्यप्रति चासो दिन थालेका छन् । 

पनौतीले नीतिगत रूपमै पाडा पाडी वितरणदेखि भैँसीलाई सुत्केरी भत्ता व्यवस्थापन गरेको छ । यसले सबै वर्गमा सहयोग पुगेको छ । पनौतीले लगातार तीन आर्थिक वर्षसम्म कृषिलाई पहिलो प्राथमिकतामा राखेर भैँसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।

२०७५ सालमा पनौतीमा एक्कासि पशुहरूमा रोगको प्रकोप लागेपछि भ्याक्सिन लगाउन नगरले ५ लाख विनियोजन गरेको थियो । त्यस लगत्तै नगर परिषद्बाट १ करोड ५० लाख रुपैयाँ, सुत्केरी भत्ता, पाडा पाडी वितरणमा बजेट विनियोजन गरिएको थियो । त्यसपछिको आर्थिक वर्षमा २ करोड ७० लाख रुपैयाँ किसानलाई नगरले खर्च गरेको थियो । यो आर्थिक वर्षमा समेत ३ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाको कार्यमा प्रदेश सरकारले समेत १७ लाख ५० हजार र सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ पनौती नगरमा सहयोग गरेको छ । 

भैँसी पकेट क्षेत्र बन्दै पनौती

सहरको पुँजी गाउँसम्म ल्याउने भरपर्दो स्रोतको रूपमा दुग्ध व्यवसाय विस्तारसँगै काभ्रेको पनौती भैँसी पकेट क्षेत्रको रूपमा विकास भएको छ । पनौती नगरपालिकाले साझेदारीमा पाडी वितरण कार्य, सुत्केरी भैँसीलाई भत्तालगायत किसानमैत्री कार्यक्रम सुरु गरेसँगै नगर भैँसी पकेट क्षेत्रको रूपमा विकास भएको हो । 

किसानमैत्री अभियानले पनौतीमा सामूहिक रूपमा खेती तथा पशुपालनप्रति पनौती बासी मात्रै नभएर अन्यत्रबाट पनि आएर सामूहिक रूपमा खेती र पशुपालनमा लागेका थुप्रै उदाहरण पाइन्छ । यसले निरन्तरता पाउनुपर्छ र गाउँबाटै समृद्धि आउनुपर्छ ।

- Nirmala Limbu

Popular Blogs

All