नेपाल भारत सीमामा युवा राजदूतको रखवारी

नेपाल भारत सीमामा युवा राजदूतको रखवारी

नेपाल भारत सीमा नजिकको गाउँमा ३५ वर्षे पुरुषले १४ वर्षे बालिकासँग बिहे गर्न लागेको शङ्कामा युवा राजदूतले खबरदारी गरे । अहिले ती व्यक्ति फरार छन् । प्रहरीले सोधिखोजी गरिरहेको छ ।

सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ८ मा पर्छ भण्टाबारी नाका, कोसी ब्यारेज नजिकै रहेको भण्टाबारी नाकाको पारिपट्टि भारत बिहारको वीरपुर बजार छ । त्यसदेखि पर पुर्णिया भागलपुर लगायतका क्षेत्रहरू छन् । नेपाल भारत सीमा वारपार बिहेवारि चल्छ, मानव बेचबिखन हुन्छ र अन्य सरसामान निकासी पैठारी तथा तस्करी पनि हुन्छ । 

भण्टाबारीकै २३ वर्षीय वीरेन्द्रकुमार कामत त्यहाँ युवा राजदूत हुनुहुन्छ । वीरेन्द्रले स्थानीय युवा समूहका सदस्यहरूसँग मिलेर नेपाल र भारतबिचको खुला सीमा नाका भण्टाबारीमा बालविवाह र मानव बेचबिखन रोक्ने समूहको नेतृत्व गरिरहनुभएको छ । 

सीमा नाकामा मानव बेचबिखन विरुद्ध खबरदारी गर्ने वीरेन्द्रलाई यस्तो असल काम गर्न धेरैले प्रोत्साहित गर्छन् । वीरेन्द्र भन्नुहुन्छ, रेडियो कार्यक्रम मायासँग मनका कुराले प्रोत्साहन त गर्छ नै, अझ रेडियो कार्यक्रम युवा राजदूतहरूका लागि सूचनाको मुख्य स्रोत पनि हो ।

युवा क्लबमा सक्रिय हुनुबाहेक, वीरेन्द्रले आफूभन्दा तल्लो तहका विद्यार्थीलाई गणित विषयको ट्युसन पढाउनुहुन्छ । ट्युसन कक्षामा पनि साथीसँग मनका कुरा रेडियो कार्यक्रममा प्रस्तुत गरिएका समस्याहरूको विषयमा छलफल गरिरहेका वीरेन्द्र बताउनुहुन्छ । 

“मलाई करिब तीन महिनाअघिको घटना प्रस्ट याद छ । पढ्न आउने एक विद्यार्थीले भन्यो कि भारत बिहारको ३५ वर्षीय पुरुषले उनको छिमेकीमा आफ्नो लागि दुलही खोजिरहेको थियो । ती पुरुषले १४ वर्षीय बालिकाका आमाबुवालाई पैसा दिने लोभ देखाएछ । त्यसपछि ती बालिकाका बा आमा पनि त्यो पुरुषसँग बालिकाको बिहे गरिदिन तयार भएछन् ।” जानकारी पाए लगत्तै वीरेन्द्र र युवा क्लबका साथीहरूले आफ्नो तर्फबाट सोधिखोजी सुरु गरे, थप अनुसन्धान गर्न प्रहरीलाई पनि जानकारी दिए ।

युवा क्लबले जानकारी दिएपछि प्रहरीले पनि अनुसन्धान थाल्यो । प्रहरीले बालविवाह हुनसक्ने शङ्का गर्‍यो र प्रहरीले बालिकाको विवाह गराएको प्रमाणित भएमा अभिभावकलाई पक्राउ गर्ने चेतावनी दियो । प्रहरीले बालबिबाह गर्न चाहनेलाई खोजी गरेको थाहा पाएपछि ती भारतीय व्यक्ति गाउँबाट भागेका छन् । 

प्रहरीसँग राम्रो समन्वयमा काम भइरहेको र सामाजिक कुरीति रोक्ने युवा समूहको कामलाई प्रहरीले सघाइरहेकोमा वीरेन्द्र खुसी देखिन्छन् । वीरेन्द्र भन्छन् मानव बेचबिखनमा पनि मानिसलाई आकर्षित गर्न प्रयोग गरिने विभिन्न जुक्तिहरू मध्ये पैसाको लोभ देखाएर फसाउन सक्ने विषयमा चेतना जगाउन रेडियो कार्यक्रम मायासँग मनका कुराले राम्रो भूमिका खेलिरहेको छ । 

नेपाली भाषा नबुझ्नेहरूका लागि रेडियोबाट प्राप्त सन्देशहरूलाई मैथिली भाषामा अनुवाद गरी सूचना प्रवाह गरिरहेको वीरेन्द्रको दाबी छ । त्यसैले गाउँमा नयाँ तथा शङ्कास्पद व्यक्ति आएमा समुदायका व्यक्तिले युवा राजदूतको समूहलाई जानकारी दिन थालेका छन् ।

वीरेन्द्र भन्छन् खुला सीमा क्षेत्र भण्टाबारी र भीमनगरमा अन्य क्षेत्रको तुलनामा मानव बेचबिखनको जोखिम बढी छ । बालबालिका, महिला, पुरुष र वृद्ध वृद्धा सबै उमेर समूहका व्यक्तिहरू बेचबिखनमा पर्ने जोखिम धेरै भएको नाका हो भण्टाबारी । 

आफूहरूले मानव बेचबिखनविरुद्धको प्रयासमा सामेल हुन विद्यालयहरूमा गएर विद्यार्थीलाई प्रोत्साहन गरिरहेको वीरेन्द्र बताउँछन् । वीरेन्द्र भन्छन् हामी विद्यालयमा गएर किशोर किशोरीलाई  हाम्रो फोन नम्बर दिएर आउँछौ अनि बेचबिखन हुन लागेको शङ्का हुने बित्तिकै उनीहरूले फोन गर्छन् । अनि, युवा राजदूतहरू बेचबिखन रोक्न सक्रिय हुन्छन् । त्यसपछि समुदाय र प्रहरी प्रशासनले पनि युवाहरूलाई सघाउँछ ।

- प्रोटेक्ट सुनसरी

- Mero Report