नयाँ मतदाता भन्छन्– ‘पहिलो भोट हो छानीछानी हाल्छौं’

नयाँ मतदाता भन्छन्– ‘पहिलो भोट हो छानीछानी हाल्छौं’


सरिता श्रेष्ठ
पाँच वर्षपछि आएको स्थानीय निर्वाचनमा पहिलो पटक भोट हाल्ने मतदाता उत्साहित छन् । सानो छँदा अभिभावकहरुले लाइनमा बसेर भोट हालेको हेरेका अहिलेका नयाँ मतदातामा एक पटक भोट दिइसकेकाहरुमा भन्दा निकै उत्साह देखिएको छ ।  
गजुरी गाउँपालिका वडा नं. ३, का १८ वर्षिय एक बहादुर मगर बैशाख ३० को निर्वाचनमा पहिलो पटक भोट हाल्दैछन् । उनमा अन्य मतदातामा भन्दा धेरै उत्साह छ । आफ्नो गाउँठाउँको विकास गर्दिने, खानेपानीको सुविधा घरघर पु¥याइदिनेलाई आफ्नो भोट दिने उनले बताए । गाउँमा भएका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्नका निम्ति पहल गर्नेहरू को छन् भनेर आफूले नियालिरहेको मगरले सुनाए ।
गजुरी गाउँपालिका–३ का २६ वर्षका मधु चेपाङ पनि पहिलो आफुले चाहेको उम्मेदवारलाई भोट हाल्दैछन् । पहिलो पटक मतदान गर्न लागेकाले आफ्ना आफन्तलाई कसलाई र कस्ता उम्मेदवारलाई मत दिने भन्नेबारे सुझाव दिइरहेको उनले बताए । विकासउन्मुख आफ्नो ठाउँको विकासका निम्ति आचरण र उद्देश्य बुझेर मात्रै व्यक्तिलाई भोट हाल्नेबारे आफू स्पष्ट रहेको उनले सुनाए ।
गजुरी–३ कै गोविन्द मगर पनि पहिलो पटक भोट हाल्न आतुर छन् । ‘पहिलो पटक मतदान गर्दैछु, मतदान कसरी गर्ने भन्ने पनि सिकेको छु, ३० गते बिहानै गएर भोट हाल्छु’, गोविन्द भन्छन्– ‘हाम्रा आमाबुवाले त वर्षाैदेखि पार्टीको कुरा सुन्दै र प्रभावित हुँदै आउनुभयो । अब हामीजस्तो युवाले राजनीतिक प्रक्रिया बुझ्ने र आफ्ना अभिभावकलाई सम्झाउनु पर्छ ।’
नीलकण्ठ नगरपालिका– ७ की सुजिता पोखरेल आफ्नो ठाउँको लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले पोखलेल झनै उत्साहित छिन् । ‘मतदान गर्न पाउँछु भन्ने कुराले खुसी छु । आफ्नो ठाउँमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुसीकै कुरा हो । तर कसलाई चुन्ने भन्ने कुरा गाह्रो रहेछ जति उत्साहित छौँ त्यति नै संयमित बन्नु पर्छ’ उनले भनिन् ।
पहिला जितेकाहरुले केही नगरेकाले विकास योजनासहित आएका नयाँ अनुहार रोज्ने उनले बताइन् । ‘युवाले विदेश गएर ५० डिग्रीको घाममा काम गर्नु नपरोस् र महिलाहरू परनिर्भर नरहुन्’ उनी भन्छिन्–‘यस्तै कुराहरू सुनिश्चित गर्नेलाई भोट हाल्छु ।’

इकान्तिपुर अनलाइनबाट