अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड कालोपत्रे उप्किनुको साथै सडकका विभिन्न स्थानमा खाल्टो परेर जीर्ण बनेको छ । सडक जीर्ण भएसँगै सवारीसाधन र यात्रुलाई आवागमनमा जोखिमसमेत बढेको छ । राजमार्गको धुलिखेल प्रहरी चेक पोष्टनजिकै अविरल वर्षाका कारण सडकको छेउको भाग पहिरो गएर सडक साँघुरो भएको छ ।
यस्तै धुलिखेल–खावा सडकखण्डमा सडकको बीच भागमा खाल्टो परेर मोटरसाइकललगायतका साना सवारीसाधन चलाउन समस्या भएको छ । करिब तीन वर्षअघि कालोपत्रे भएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा करिब दुई वर्षअघि कालोपत्रे उप्किनुको साथै विभिन्न स्थानमा खाल्टो बनेपछि सडक मर्मत गरिएकोमा पुनः सडक जीर्ण बन्न पुगेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर जयराम अधिकारीले वर्षाका कारण धुलिखेल–खावा सडकखण्डका कतिपय स्थानमा कालोपत्रे उक्किनुको साथै सडकमा खाल्टो बनेको बताए । उनले पहिरो गएको स्थानमा तत्काल ग्याबिन जाली हाल्ने भन्दै सडक खाल्टो परेको धुलिखेल–खावा सडकखण्डमा ग्राबेल हालिए पनि वर्षाका कारण ग्राबेल बगाएको बताएका छन् ।
करिब २१ करोड रुपियाँ खर्च गरी दशैँपछिबाट धुलिखेलदेखि खावासम्म ११ मिटर चौडा कालोपत्रे गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उनले बताए । उक्त सडकखण्डलाई टिकाउ बनाउन बेसमा सिमेन्ट मिसाउनुको साथै दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल कालोपत्रे गर्ने तयारी गरिएको छ ।