धुलिखेलका सबै वडामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने

धुलिखेलका सबै वडामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने

धुलिखेलका सबै वडामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नागरिकलाई स्वस्थ राख्दै शहरलाई स्वस्थ र आरोग्य बनाउन सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण तथा नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने अभियान निरन्तर रहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए ।

आरोग्य शहर धुलिखेल नगर बनाउने अभियान स्वरुप अहिले घर घरमा पुगेर नागरिकहरुलाई कस्ता कस्ता रोगहरु छन ? नागरिकहरुलाई कस्तो उपचार सेवा आवश्यक छ ? भन्ने सर्वेक्षण भइरहेको छ । त्यसपश्चात रोग लाग्नै नदिन र लागेको रोगलाई उपचार गराउन शुरु गर्ने नगर प्रमु्ख व्याञ्जुले बताए ।

धुलिखेल नगरपालिका वडा नम्वर ६ मा निर्माण सम्पन्न भएको भैरव आधारभुत स्वास्थ्य केन्द्रको समुद्घाटन पछि नगर प्रमुख ब्याञ्जुले हरेक क्षेत्रको विकासमा स्वास्थ्य पहिलो शर्तका रुपमा नगरपालिकाले प्राथमिकता राखेको बताएका छन् । वडा नम्वर ६, ७, ४, २, ११ र १ मा स्वास्थ्यका सुविधा सम्पन्न भवन निर्माण गरी काभ्रे भन्ज्याङ्गमा अस्पताल, धुलिखेलकै वडा नम्वर ६ मा रहेको आयुर्वेदिक भवनलाई पक्कि संरचना निर्माण गरी स्वास्थ्यमा सवल नगरपालिका निर्माण गर्ने अभियान धुलिखेल नगरपालिकाले शुरु गरेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए ।

धुलिखेल अस्पताललाई अझै शशक्त बनाउन थप सहजिकरण गर्दै नेपाल सरकारले तोकेका निशुल्क ६५ थरीका औषधी आधारभुत स्वास्थ्य केन्द्रमा उपलब्ध गराईने उनले बताएका छन् । सुरक्षित मातृत्व, परिवार नियोजनका विभिन्न सेवा, पोषण कार्यक्रम, खोप कार्यक्रम, राष्ट्रिय अभियान अन्र्तगत स्वास्थ्यका विभिन्न कार्यक्रम, सर्ने तथा नसर्ने रोगहरुको पहिचान, रोकथाम र उपचार, टिभी, सुगर तथा अन्य रोगहरुको पहिचान तथा परिक्षण, जेष्ठ नागरिक सेवा आधारभुत स्वास्थ्य केन्द्रमा उपलब्ध हुने धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताएका छन् ।

वडा अध्यक्ष सञ्जय कोँजुले वडाबासीहरुलाई सहज बनाउन आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताएका छन् । कार्यक्रममा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गा सहयोग गर्ने जग्गादाता हरिओमकाजी चोच्छे श्रेष्ठलाई सम्मान गरिएको थियो । यसअघि मसिंर ७ गते मंगलबार धुलिखेल वडा नम्वर ४ को आधारभुत स्वास्थ्य केन्द्रको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गरेका थिए ।

- Nirmala Limbu

Popular Blogs

All