धानको ब्याड राख्न रासायनिक मलको अभाव

धानको ब्याड राख्न रासायनिक मलको अभाव

रजनी योगी
बाँके
धानखेतीका लागि व्याड राख्न व्यस्त पश्चिम तराईका किसानलाई रासायनिक मलको अभाव चर्किएको छ । अन्नका भण्डारकारुपमा चिनिने बाँके, बर्दिया, दाङ, कैलाली र कंचनपुरलगायतका जिल्लामा विगतका वर्षजस्तै यो पटक पनि रासायनिक मलको चरम अभाव देखिएको हो ।

अवको करिव दुई सातापछि रोपाइँमा व्यस्त हुने यसक्षेत्रका किसानले ब्याडलाई चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया, डिएपी, पोटासलगायतको मलको जोहो गर्न सकेका छैनन् ।

डुडुवा गाउँपालिका ६ का किसान सावितराम यादवले धान सिजनमा मल अभाव हुँदा लगानीनै खेर जाने गरेको दुखेसो पोख्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका अनुसार धान खेतीका लागि मात्रै बाँकेका किसानलाई ३ हजार मेट्रिकटन युरिया, १ हजार दुई सय मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास आवश्यक पर्छ ।

डिएपी मल आउनेक्रममा रहेपनि युरिया र पोटासको भने अझै टुंगो नभएको कम्पनीका प्रमुख रमेश पौडेलले बताउनुभयो । कम्पनीले बाँकेका १०७ सहकारीमार्फत् मल वितरण गर्ने गरेको छ । आवश्यकताभन्दा ज्यादै न्यून मल पाएपछि किसानलाई कसरी वितरण गर्ने भन्ने तनावमा रहेको कोहलपुर सहकारी संस्थाका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनुभयो ।

सरकारले ०७९र८० को बजेटमा कृषिको आधुनिकीकरण, बजारीकरण र यान्त्रिकीकरणमार्फत पाँच वर्षभित्र नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउने उल्लेख छ । तर किसानहरु भने वर्षेनी मल र वीउकै अभावमा पिल्सिनु परेको छ ।

- Mero Report