नवलपुरको विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा कार्यरत सामुदायिक परिचालकहरूले आफूले हिंसा नगर्ने र अरूले गरेको हिंसा नसहने प्रतिबद्धता व्यक्त गरेका छन् । समुदायमा हिंसा भएको देखे वा भोगेमा त्यसलाई रोक्न र समुदायलाई हिंसा मुक्त गर्न सदैव क्रियाशील रहने सहजकर्ताहरू सवैको प्रतिबद्धता छ । विजय विकास स्रोत केन्द्र नवलपुर गैँडाकोटले आयोजना गरेको प्रशिक्षणमा उपस्थित भएका सहजकर्ताले यस्तो घोषणा तथा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।
विजय विकास स्रोत केन्द्रका परियोजना व्यवस्थापक बद्री लम्सालका अनुसार समुदायका प्रत्येक व्यक्ति हिंसा नगर्न र नसहन प्रतिबद्ध भएपछि समुदाय नै हिंसा मुक्त हुनेछ र त्यसको सुरुवात कार्यक्रममा सहभागीहरूबाटै सुरु गरिएको हो । परिवर्तन घरैबाट अन्तर्गत विजय विकास स्रोत केन्द्रले आगामी समयमा नवलपुरका सम्पूर्ण समुदायहरूलाई नै हिंसामुक्त बनाउने अठोट गरेको छ । नवलपुरका विनयी त्रिवेणी तथा हुप्सेकोट दुवै गाउँपालिकालाई हिंसा मुक्त घोषणा गर्ने अभियान अन्तर्गतको प्रशिक्षणमा सहजकर्ताहरू सहभागी थिए ।
यसैबिच, नवलपुरका पालिकाहरूलाई हिंसा मुक्त घोषणा गर्नका लागि समुदायका प्रत्येक व्यक्तिलाई अन्तरङ्ग सम्बन्ध भित्रको हिंसा रोक्न तथा परिवारमा भइरहेको महिला तथा पुरुष हिंसा रोक्न अभियान नै सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत व्यक्तिको चेतनाको स्तर बढेपछि हिंसा मुक्त घर घोषणा गर्ने र त्यस्तो घरमा हिंसा मुक्त भएको सङ्केतका लागि झन्डा राख्ने कार्यक्रम रहेको विजय विकास स्रोत केन्द्रले जनाएको छ ।
समुदायका प्रत्येक घरहरू हिंसा मुक्त भएपछि सामुदायिक संस्थाहरू र वडा कार्यायलहरु मार्फत पालिकालाई नै हिंसा मुक्त घोषणा गराउने र त्यसको निरन्तरता एव दिगो पनका लागि स्थायी संरचना, सञ्जाल, नीति नियम र अनुगमन मूल्याङ्कन गराउने योजना रहेको छ ।
यसअघि नै विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले आफ्नो वर्तमान कार्यकाल भित्रै पालिकालाई हिंसा मुक्त घोषणा गर्ने र त्यसको निरन्तर अनुगमन, मूल्याङ्कन र पिडकलाई कारबाही तथा पीडितलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।